कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक बाढीपीडित राहत कोषमा दिने
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित नागरिकको सहयोगका लागि आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपदबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भोटेकोशी बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै पीडितको तत्काल उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनामा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् । बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएका कांग्रेसका नेता तथा सांसदहरूले त्यहाँको अवस्था, राहत र उद्धारमा देखिएका समस्याबारे संसदीय दललाई जानकारी गराएका थिए । बैठकले विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ । कांग्रेसले विपद् प्रभावित नागरिकका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा पुर्याउन संसद्को अधिवेशन तत्काल बोलाउनुपर्ने माग पनि गरेको छ । प्रमुख सचेतक थापाका अनुसार संसद् सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका समस्या, उद्धार तथा राहतको अवस्था र बेपत्ता व्यक्तिको खोजीका विषयमा सरकारलाई प्रत्यक्ष जवाफदेही बनाउन सहज हुनेछ । उनले भनिन्, ‘जनताका समस्या सदनमार्फत सरकारसमक्ष पुर्याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजीका लागि जिल्लाबाट सूचना संकलन गर्न पनि संसद् सञ्चालन आवश्यक छ ।’ संसद् अधिवेशन बोलाउने विषयमा सभामुखसँग समेत छलफल गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले सरकारले केन्द्रबाट राहत पठाउने र वितरण गर्ने नीति अवलम्बन गरेका कारण वास्तविक बाढीपीडितले समयमै राहत पाउन नसकेको आरोप लगाएको छ । प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री र राहत पुर्याउन स्थानीय तह तथा जिल्ला तहका संयन्त्रलाई पर्याप्त अधिकार र स्रोत उपलब्ध गराउनुपर्ने कांग्रेसको धारणा छ । कांग्रेसका अनुसार विपद्पछिको अवस्थामा केन्द्रबाट मात्र राहत व्यवस्थापन गर्ने प्रक्रियाले वितरणमा ढिलाइ हुने र वास्तविक पीडित पहिचान तथा पहुँचमा समेत समस्या देखिने गरेको छ । त्यसैले राहत वितरणलाई स्थानीय आवश्यकता र प्रभावित परिवारको अवस्थाका आधारमा तत्काल र व्यवस्थित बनाउन सरकारसँग कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले उद्धारमा अझै प्राथमिकता दिनुपर्ने, बेपत्ताको खोजी तीव्र बनाउनुपर्ने तथा विस्थापित परिवारका लागि तत्काल राहतसँगै पुनःस्थापनाको स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिएको छ।
रसुवाका बाढीप्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ । बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए । प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ । प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ
राजमार्ग क्षेत्रका रूख काटेर ८१ लाखको हिनामिना, अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका २ हजार ७२४ वटा रूख अवैध रूपमा काटेर सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भालुवाङ–लमही सडक खण्डको सडक क्षेत्रभित्र रहेका सिसौ, सिमललगायत विभिन्न जातका रूख २०७९ मंसिर र पुसमा अवैध रूपमा काटिएका थिए । काटिएको काठ ओसारपसार गरी ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको सरकारी नोक्सानी भएको अनुसन्धानबाट खुलेको छ । यो प्रकरणमा सडक डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीमाथि ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै राप्ती गाउँपालिका–१ का वडाध्यक्ष गेमे खड्का र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यसै प्रकरणमा अभिमान चौधरी, नन्दु गिरी, झविन्द्र प्रसाद भण्डारी र केशरबहादुर चौधरीविरुद्ध भ्रष्टाचारमा मतियार बनेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार सडक क्षेत्रभित्रका जोखिमयुक्त रूख हटाउने कानुनी प्रक्रिया पूरा नगरी रूख कटान गरिएको, सम्बन्धित निकायले रोक्न सक्ने अवस्था हुँदाहुँदै बेवास्ता गरेको र सरकारी सम्पत्तिको हिनामिना भएको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
बाढीपहिरो पीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । नेकपा एमालेले हालैको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनाका लागि कुल १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमालेले विपदबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । पार्टीले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । एमालेले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने र प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सेवाको पहुँच तत्काल पुर्याउनुपर्नेमा जोड दिएको छ । पार्टीले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि समेत दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापना सुनिश्चित गर्न सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।
बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.०३ विन्दुमा झरेको छ । आज कारोबार रकम पनि केही घट्यो । अघिल्लो कारोबार दिन ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँको मात्रै कारोबार भयो । दिनभर बजार रातो देखियो । २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो, जसको सूचक ५.०३ प्रतिशत घट्यो । त्यसपछि अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले घटे । रसुवाको भोटेकोशीमा आएको बाढीपछि एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीबाट सवारीसाधन, घर र जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि बीमा कम्पनीले धेरै दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । त्यसको असर निर्जीवन बीमा र पुनर्बीमा कम्पनीको सेयरमा परेको देखिएको छ । यसका साथै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समूहका सूचक पनि घटेका छन् । उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशतले बढेको छ । आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले बढ्यो । घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र एसवाई प्यानलको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो । सबैभन्दा धेरै घट्ने कम्पनीमा मैलुङखोला जलविद्युत्, रसुवागढी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र माण्डु हाइड्रोपावर रहेका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल सबैभन्दा धेरै कारोबार हुने कम्पनी बने ।
भोटेकोशी बाढी अपडेटः ९०३ को मृत्यु, ४२ सय बेपत्ता
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४ हजार २ सय जना अझै बेपत्ता रहेका छन् । परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पछिल्लो अवस्थाबारे जानकारी गराउनुहुँदै खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । मन्त्रालयका अनुसार प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी व्यक्तिको सफल उद्धार गरिएको छ, जसमा ३ सय २३ जना विदेशी नागरिक रहेका छन् । अझै पनि ३८ देशका करिब ५ सय ९० जना विदेशी नागरिक बेपत्ता रहेको तथ्याङ्क छ । बेपत्ताहरूको खोज र परिवारसँगको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरी समन्वय भइरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ । भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ–त्रिशूली र स्याफ्रुबेँसी क्षेत्रमा सुरुङ उद्धारमा परिचालन गरिएको छ । त्यस्तै, थाइल्याण्डको टोली माथिल्लो त्रिशूली ३ ए र दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ । मृतकहरूको पहिचानका लागि भारतबाट आएका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोलीले डीएनए परीक्षणमा सहयोग गरिरहेको छ । सिंगापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । नेपालले अमेरिका, चीन, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूबाट बेली ब्रिज, फ्रीजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्न जस्ता अत्यावश्यक राहत सामग्री प्राप्त गरिसकेको छ । थप सहयोगका लागि चीनसँग उच्च क्षमताका ड्रोन र सिङ्गापुर तथा दक्षिण कोरियासँग थप प्राविधिक उपकरण माग गरिएको छ । नेपाल र चीनबीच जलविज्ञान र मौसम सम्बन्धी तथ्याङ्क, बाँधका ढोकाहरू र हिमतालको अवस्थाबारे ‘रियल टाइम’ सूचना आदानप्रदान भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका नेपालीहरूलाई केरुङ लगायतका नाकाबाट स्वदेश फिर्ता ल्याउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ । पहिचान हुन नसकेका र सडेका शवहरूलाई डीएनए नमूना संकलन गरी प्रोटोकल अनुसार अस्थायी रूपमा अन्त्येष्टि गरिएको छ, ताकि भविष्यमा परिवारले पहिचान गरी धार्मिक संस्कारअनुसार पुनः संस्कार गर्न सकून् । सरकारले पुर्नस्थापना र पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गर्ने तयारी गरेको छ । जसका लागि ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्ने देखिएको छ । –न्युज एजेन्सी नेपाल
बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती तथा अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । बैंकले उक्त अप्रत्याशित विपद्मा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा जुट्न सम्बन्धित सबै निकाय र नागरिकलाई आग्रह गरेको छ । हिमालयन बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ ।