विकासन्युज

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाको ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ब्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आइतवार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।  फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आइतबार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो ।  प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न सुरु गरेको थियो ।

हिमालयन बैंकको अध्यक्षमा वैकुण्ठ अर्याल

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार भदौ १४ गते बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा अर्याललाई अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार प्रचण्डबहादुर श्रेष्ठको राजीनामा भदौ १४ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको छ । त्यसपछि संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सोही मितिदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरिएको हो । हिमालयन बैंकले नयाँ अध्यक्षको नियुक्तिसम्बन्धी निर्णय नेप्सेमार्फत सार्वजनिक गरेको जनाएको छ ।

भोटेकोसी बाढी र अविरल वर्षाले विभिन्न राजमार्ग ठप्प

काठमाडौं । भोटेकोसी बाढी तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ ।  सडकको ठूलो भाग क्षतिग्रस्त भएपछि मानिससमेत आवतजावत गर्न नसक्ने गरी उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण मुगुबाट गमगढीतर्फ आउने सडकसमेत अवरुद्ध भएको छ । वर्षाकै कारण ओखलढुंगास्थित सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडकखण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन । यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४ हजार बढी अझै सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानसम्म विभिन्न जिल्लाबाट ९०३ जनाको शव फेला परेको हो ।  बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा २७२ (विभिन्न मानव अंगसहित) भेटिएका छन् ।  यसैगरी नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । गत भदौ १० गते बिहान आएको उक्त विनाशकारी बाढीपछि अझै चार हजार २४७ जना सम्पर्कविहीन रहेका छन् ।  बेपत्ता हुनेहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, भन्सार कार्यालयका कर्मचारी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् ।  साथै ५९२ जना विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ जना नेपाली पर्यटक तथा पथप्रदर्शकहरू पनि अझै सम्पर्कमा आएका छैनन् ।  बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा हाल उद्धार र राहत कार्यका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  हालसम्म प्रभावित क्षेत्रहरूबाट १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ भने २६७ जना घाइते भएका छन् ।  घाइतेमध्ये १६५ जना उपचारपछि घर फर्किसकेको र बाँकीको उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा पूर्वसचिवहरूको दौड, पाँच जना सर्टलिस्टमा

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजको कार्यकारी निर्देशकको दौडमा चार पूर्वसचिवसहित पाँच जना सर्टलिस्टमा परेका छन् । कार्यकारी निर्देशकका लागि पूर्वअर्थसचिव डा. रामप्रसाद घिमिरे, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वसचिव डिल्लीराम शर्मा, बाबुराम अधिकारी र अञ्जु मिश्र प्रतिस्पर्धामा रहेका छन् ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि तय गरेको मापदण्डअनुसार प्राप्त आवेदनको मूल्यांकन गरी पाँच जनालाई सर्ट लिष्टेड गरेको हो । कार्यकारी निर्देशकका लागि मन्त्रालयले यसअघिनै आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनमध्ये योग्यता, अनुभव र तोकिएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिएको मन्त्रालयले जनाएको छ । अब सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरी कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्नेछ ।  अर्थ प्रशासनबाट प्रतिष्ठानको नेतृत्वको दौडमा घिमिरे  डा. रामप्रसाद घिमिरे अर्थ प्रशासनमा लामो अनुभव भएका पूर्वसचिव हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवका रूपमा काम गरेपछि अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी सम्हालेका थिए । पछि उनी अर्थसचिव बनेका थिए ।  अर्थ मन्त्रालयमा रहँदा घिमिरेले राजस्व परिचालन, आर्थिक नीति, बजेट तथा सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । आर्थिक नीति र सार्वजनिक वित्त प्रशासनमा लामो अनुभव कार्यकारी निर्देशक पदका लागि उनको प्रमुख पृष्ठभूमि हो ।  गृह प्रशासनको अनुभवसहित दुवाडी  गोकर्णमणि दुवाडी प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका पूर्वसचिव हुन् । उनले गृहसचिवको जिम्मेवारी सम्हाल्नुका साथै राष्ट्रिय तथ्यांक कार्यालय र निर्वाचन आयोगमा सचिवका रूपमा समेत काम गरेका थिए । गृह प्रशासन, तथ्यांक व्यवस्थापन, निर्वाचन प्रणाली तथा अन्तरनिकाय समन्वयमा काम गरेको अनुभव दुवाडीको प्रशासनिक पृष्ठभूमिको महत्वपूर्ण पक्ष हो ।  लोकसेवा आयोगदेखि स्वास्थ्य प्रशासनसम्म शर्मा  डिल्लीराम शर्मा पनि प्रशासनका अनुभवी पूर्वसचिव हुन् । उनले लोकसेवा आयोगमा सचिवका रूपमा काम गरेका थिए । शर्माले त्यसपछि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनिक नेतृत्वमा समेत जिम्मेवारी सम्हालेका थिए ।   कर्मचारी व्यवस्थापन, सार्वजनिक प्रशासन, सेवा सञ्चालन र संस्थागत सुधारसँग प्रत्यक्ष जोडिएको अनुभव शर्माको बलियो पक्षका रूपमा हेरिएको छ । विशेषगरी लोकसेवा आयोगमा काम गरेको अनुभव निजामती प्रशासनको जनशक्ति छनोट र व्यवस्थापनसँग सम्बन्धित छ ।  संघीय प्रशासनको अनुभव बोकेका अधिकारी  बाबुराम अधिकारीले संघीय सरकारसँगै प्रदेश प्रशासनमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनले बागमती र लुम्बिनी प्रदेशका प्रमुख सचिवका रूपमा काम गरिसकेका छन् ।  प्रदेश सरकारको प्रशासनिक नेतृत्व गर्दा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित काममा अधिकारीले अनुभव हासिल गरेका छन् । संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयनसँग जोडिएको यही अनुभव उनको प्रमुख प्रशासनिक आधार हो ।  पूर्वसचिवबाहेक अञ्जु मिश्र  पाँच जनाको सर्टलिस्टमा अञ्जु मिश्र पनि परेकी छन् । चार पूर्वसचिवको तुलनामा मिश्रको पृष्ठभूमि फरक रहेको छ । कार्यकारी निर्देशक छनोटमा उनी पूर्वसचिवहरूको अनुभवसँग प्रतिस्पर्धा गर्ने उम्मेदवारका रूपमा रहेकी छन् ।  अब प्रस्तुतीकरण र अन्तर्वार्ता  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निजामती कर्मचारीको क्षमता विकास, नेतृत्व प्रशिक्षण तथा सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण संस्था हो । त्यसैले कार्यकारी निर्देशकको छनोटलाई प्रतिष्ठानको नियमित नेतृत्व परिवर्तनभन्दा बढी प्रशासन सुधारसँग जोडेर हेरिने गरिन्छ ।  अब सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण, अन्तर्वार्ता तथा अन्य मूल्यांकन प्रक्रिया अघि बढाइने छ । त्यसपछि समितिले कार्यकारी निर्देशकका लागि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।  प्रतिष्ठानको आगामी नेतृत्वले कर्मचारीलाई परम्परागत तालिममा सीमित राख्ने कि बदलिँदो शासन प्रणाली, डिजिटल प्रशासन, नेतृत्व विकास, नीति निर्माण र सेवा प्रवाह सुधारसँग जोड्ने भन्ने विषय पनि छनोटसँगै महत्वपूर्ण बन्नेछ ।  चार पूर्वसचिवसहित पाँच अनुभवी उम्मेदवार प्रतिस्पर्धामा रहेकाले अब प्रतिष्ठानको नेतृत्व कसले पाउँछ भन्ने विषय प्रशासनिक वृत्तमा चासोको विषय बनेको छ ।

केरुङ बाढीमा ९८ नेपाली बेपत्ता, चीनले नेपाललाई पठायो नामावली

काठमाडौं । चीनको सीमाक्षेत्र केरुङमा आएको बाढीपछि ९८ जना नेपाली नागरिक बेपत्ता भएको पुष्टि भएको छ । चिनियाँ पक्षले बेपत्ता नेपाली नागरिकको विवरणसहितको सूची नेपाललाई पठाएको हो । चीनले उपलब्ध गराएको सूचीअनुसार बेपत्ता हुनेमा ८१ जना पुरुष र १७ जना महिला रहेका छन् । बाढीपछि केरुङ क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अन्योल भइरहेका बेला चिनियाँ पक्षले नेपाली नागरिकसमेत बेपत्ता भएको पुष्टि गर्दै उनीहरूको सूची नेपाललाई उपलब्ध गराएको हो ।  

सेयरधनीलाई निफ्राले १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ १४ गते बिहान बसेको १९१औँ बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो । निफ्राले उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय पनि गरेको जनाएको छ । बैंकका अनुसार राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रस्तावित लाभांश वार्षिक साधारणसभाबाट पारित गरिनेछ । त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १८२ (२) बमोजिम नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि मात्रै सेयरधनीलाई नगद लाभांश वितरण गरिनेछ । कम्पनी सचिव जीवनाथ सापकोटाले लाभांश प्रस्तावबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका छन् ।

मुुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई २.२० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । त्यसअनुसार भदौ २३ गतेसम्म कायम रहेका इकाइधनीले मात्र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् । मुक्तिनाथ म्युचुअल फन्ड–१ को कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ ।