बाढीपीडितका लागि कांग्रेस काभ्रेले दियो १७ लाख ६२ हजार

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि पार्टीको केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कांग्रेस काभ्रेले उक्त रकम हस्तान्तरण गरेको हो ।

पार्टीका सदस्य तथा शुभेच्छुकबाट संकलन गरिएको रकम केन्द्रीय कोषमा जम्मा गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए ।

कांग्रेस काभ्रेको टोलीले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको हो ।

कांग्रेसका अनुसार उक्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ । नेपाली कांग्रेसले यसअघि सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।

सहमहामन्त्री राणाले विपद्को घडीमा पीडित नागरिकलाई सहयोग गर्न कांग्रेस काभ्रेपलाञ्चोकले गरेको योगदानप्रति आभार व्यक्त गरे ।

प्रवक्ता चालिसेले कांग्रेस काभ्रेका नेता तथा कार्यकर्ताले विपद्को समयमा ठूलो सहयोगको भावना देखाएको बताए । उनले प्राप्त सहयोगले बाढीपीडितको घाउमा मल्हम लगाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए ।

राहत तथा उद्धारमा हातेमालो गर्दै मानवीय सहयोग जुटाउन पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई समेत आह्वान गर्दै उनले कांग्रेस काभ्रेले गरेको सहयोगले पीडितको पीडामा केही भए पनि मल्हम लगाउने विश्वास व्यक्त गरे ।

Share News