विकासन्युज

बाढीपीडितका लागि कृषि विकास बैंकको १० लाख बराबरको खाद्य सामग्री सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । बैंकले करिब २०० बाढीपीडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, दालमोठ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्माले राहत सामग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना र कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति थियो । कृषि विकास बैंकले देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको र हजारौं नागरिक प्रभावित भएको अवस्थामा राहत र उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ । बैंकले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको उल्लेख गर्दै विपद्पीडित नागरिकको राहत र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैबीच, बैंकले देश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिलाई पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितलाई सहयोग गर्न अपिल गरेको छ । साथै, राहत कोषमा सहयोग गर्न बैंक खाता र क्यूआर कोडसमेत सार्वजनिक गरिएको जनाएको छ ।

बाढीपीडितका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ दिने

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पु‍र्याउन शिवम् सिमेन्ट लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक तथा निर्माण सामग्री सहयोगको घोषणा गरेका छन् । कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० बाढी पीडित घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा विपद्पछिको पुनर्निर्माणमा उपयोग हुने कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि शिवम् सिमेन्टले व्यक्त गरेको छ । कम्पनीले प्रभावित नागरिकको जीवन पुनःस्थापना र पुनर्निर्माणका लागि आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

बाढीपछि बालबालिकामा रोगको जोखिम बढ्यो, स्वच्छ पानीको अभाव

काठमाडौं । भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि विस्थापित बालबालिकामा पानीजन्य तथा अन्य संक्रामक रोगको जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोतहरू फोहोर तथा भग्नावशेषका कारण दूषित हुनुका साथै सार्वजनिक आश्रयस्थलमा अत्यधिक भीडभाड भएपछि बालबालिकाको स्वास्थ्यमा थप जोखिम देखिएको संस्थाले जनाएको हो । सेभ द चिल्ड्रेनका अनुसार कुहिएका मानव तथा पशुका शव, अव्यवस्थित फोहोर र जमेको पानीका कारण झाडापखाला तथा छालासम्बन्धी संक्रमण फैलिने जोखिम बढेको छ । केही बालबालिकामा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण देखिएको संस्थाले जनाएको छ । बाढी प्रभावित रासुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा परिवारहरू सुरक्षित स्थानमा पुगे पनि स्वच्छ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था हुन सकेको छैन ।  वर्षा जारी रहँदा थप बाढी तथा पहिरोको जोखिमसमेत कायम रहेको छ । जमेको पानीका कारण डेंगु फैलाउने लामखुट्टेको प्रजननस्थल बढ्न सक्ने भन्दै बालबालिकामा लामखुट्टेबाट सर्ने रोगको जोखिमसमेत रहेको विज्ञले बताएका छन । सेभ द चिल्ड्रेन नेपालकी कन्ट्री डाइरेक्टर तारा छेत्रीले बाढीको तत्कालीन खतरा कम हुँदै गए पनि अर्को स्वास्थ्य संकटको जोखिम बढिरहेको बताइन् । ‘भीडभाड भएका स्थान, दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवामा सीमित पहुँचले रोगको प्रकोप फैलिन सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भनिन् ।  उनका अनुसार अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बालबालिकाहरू खोकी र अन्य स्वास्थ्य समस्या लिएर पुगिरहेका छन् ।  कतिपय स्थानमा आवश्यक औषधिसमेत उपलब्ध नहुँदा ग्रामीण तथा सम्पर्कविहीन क्षेत्रमा अवस्था अझ गम्भीर हुन सक्ने उनको भनाइ छ ।

९४ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, ४८ जनाको पोष्टमार्टम

काठमाडौं । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ४८ जनाको पोष्टमार्टम भएको छ ।  काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ९४ जनाको शव ल्याइएकोमा हालसम्म ४८ जनाको पोस्टमार्टम भएको र बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।  उनका अनुसार अस्पतालमा ल्याइएका शवहरूमध्ये हालसम्म नौ जनाको मात्र पहिचान खुलेको छ । पहिचान खुलेका शवहरूको पोस्टमार्टम पश्चात् आफन्त तथा परिवारको जिम्मा लगाइसकिएको डा. चौधरीले बताए । बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले शिक्षण अस्पतालमा थप शवहरू आउन सक्ने अनुमान गरिएको छ ।  हाल पहिचान हुन बाँकी शवहरूको हुलिया, आफन्तबाट प्राप्त विवरण तथा डीएनए परीक्षण लगायतका आवश्यक प्रक्रियामार्फत पहिचानको काम भइरहेको अस्पतालले जनाएको छ ।

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते आएको बाढी र पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले विपत्तिपछि प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोगका अन्य राहत सामग्री पनि उपलब्ध गराइसकेको जनाएको छ । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको सहयोगले बाढीपीडित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् र सामाजिक संकटका समयमा राहत तथा मानवीय सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपको १ करोड १ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै औद्योगिक समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणका क्रममा दुवै समूहले प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका बेला निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारसँग सहकार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले विगतका प्राकृतिक विपत्तिमा पनि आफ्नो समूहले प्रभावित नागरिक र सरकारलाई सहयोग गर्दै आएको बताए । विपद्बाट उत्पन्न मानवीय संकट समाधानमा निजी क्षेत्र र सामाजिक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने उनले उल्लेख गरे । एके राठी ग्रुपका निर्देशक अनुपम राठीले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । संकटको समयमा सरकारको प्रयासलाई साथ दिनु निजी क्षेत्रको सामाजिक दायित्वसमेत भएको उनले बताए । सारडा ग्रुपले बाढीपीडितको सहयोगका लागि अन्य मानवीय कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ । समूहको वार्षिकोत्सवका अवसरमा आइतबार विराटनगर र काठमाडौंमा बाढीपीडित तथा घाइतेको उपचारका लागि १५० पिन्ट रगत संकलन गरिएको थियो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका काम जारी रहेका बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत व्यवस्थापनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

१८ थान मोबाइल र ल्यापटपसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट भन्सार छलेर ल्याएको मोबाइल तथा ल्यापटपसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पञ्जाब प्रदेश, जलन्धरका  ४१ वर्षीय सन्दीप अहुजालाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार आइतबार साँझ काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका अवस्थामा ड्युटीमा खटिएका प्रहरीले टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अहुजाको साथबाट बिल–बिजक नभएका १८ थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार बरामद सामग्रीसहित नियन्त्रणमा लिइएका अहुजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जनाएको छ।

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक बाढीपीडित राहत कोषमा दिने

काठमाडौं । प्रमुख प्रतिपक्षि  दल नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित नागरिकको सहयोगका लागि आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपदबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भोटेकोशी बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै पीडितको तत्काल उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनामा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् ।  बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएका कांग्रेसका नेता तथा सांसदहरूले त्यहाँको अवस्था, राहत र उद्धारमा देखिएका समस्याबारे संसदीय दललाई जानकारी गराएका थिए । बैठकले विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ । कांग्रेसले विपद् प्रभावित नागरिकका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन संसद्को अधिवेशन तत्काल बोलाउनुपर्ने माग पनि गरेको छ । प्रमुख सचेतक थापाका अनुसार संसद् सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका समस्या, उद्धार तथा राहतको अवस्था र बेपत्ता व्यक्तिको खोजीका विषयमा सरकारलाई प्रत्यक्ष जवाफदेही बनाउन सहज हुनेछ । उनले भनिन्, ‘जनताका समस्या सदनमार्फत सरकारसमक्ष पुर्‍याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजीका लागि जिल्लाबाट सूचना संकलन गर्न पनि संसद् सञ्चालन आवश्यक छ ।’ संसद् अधिवेशन बोलाउने विषयमा सभामुखसँग समेत छलफल गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले सरकारले केन्द्रबाट राहत पठाउने र वितरण गर्ने नीति अवलम्बन गरेका कारण वास्तविक बाढीपीडितले समयमै राहत पाउन नसकेको आरोप लगाएको छ । प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री र राहत पुर्‍याउन स्थानीय तह तथा जिल्ला तहका संयन्त्रलाई पर्याप्त अधिकार र स्रोत उपलब्ध गराउनुपर्ने कांग्रेसको धारणा छ । कांग्रेसका अनुसार विपद्पछिको अवस्थामा केन्द्रबाट मात्र राहत व्यवस्थापन गर्ने प्रक्रियाले वितरणमा ढिलाइ हुने र वास्तविक पीडित पहिचान तथा पहुँचमा समेत समस्या देखिने गरेको छ ।  त्यसैले राहत वितरणलाई स्थानीय आवश्यकता र प्रभावित परिवारको अवस्थाका आधारमा तत्काल र व्यवस्थित बनाउन सरकारसँग कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले उद्धारमा अझै प्राथमिकता दिनुपर्ने, बेपत्ताको खोजी तीव्र बनाउनुपर्ने तथा विस्थापित परिवारका लागि तत्काल राहतसँगै पुनःस्थापनाको स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिएको छ।