बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपको १ करोड १ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

दुवै औद्योगिक समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरणका क्रममा दुवै समूहले प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका बेला निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारसँग सहकार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ ।

सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले विगतका प्राकृतिक विपत्तिमा पनि आफ्नो समूहले प्रभावित नागरिक र सरकारलाई सहयोग गर्दै आएको बताए । विपद्बाट उत्पन्न मानवीय संकट समाधानमा निजी क्षेत्र र सामाजिक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

एके राठी ग्रुपका निर्देशक अनुपम राठीले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । संकटको समयमा सरकारको प्रयासलाई साथ दिनु निजी क्षेत्रको सामाजिक दायित्वसमेत भएको उनले बताए ।

सारडा ग्रुपले बाढीपीडितको सहयोगका लागि अन्य मानवीय कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ । समूहको वार्षिकोत्सवका अवसरमा आइतबार विराटनगर र काठमाडौंमा बाढीपीडित तथा घाइतेको उपचारका लागि १५० पिन्ट रगत संकलन गरिएको थियो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका काम जारी रहेका बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत व्यवस्थापनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Share News