विकासन्युज

तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

काठमाडौं । विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ । प्रभावित पक्षका अनुसार यो घटना यस वर्षकै सबैभन्दा ठूलो ज्ञात क्रिप्टो डकैतीमध्ये एक हो, जसले डिजिटल वित्तीय प्रणालीको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ ।      यो घटनालाई उत्तर कोरियासँग जोडिएको पछिल्लो साइबर आक्रमणका रूपमा हेरिएको छ । संयुक्त राष्ट्रसङ्घको एक प्यानलका अनुसार उत्तर कोरियाले यस्ता परिष्कृत साइबर अपराधमार्फत चोरी गरिएको क्रिप्टोकरेन्सी आफ्नो आणविक हतियार कार्यक्रमलाई सघाउन प्रयोग गर्दै आएको छ ।      डिजिटल मुद्रासम्बन्धी समाचार प्लेटफर्म कोइनडेस्कका अनुसार शनिबार अनलाइन लगानी प्लेटफर्म केल्पडीएओको भल्टमा भएको चोरी सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो शोषण हो । मङ्गलबार सार्वजनिक गरिएको विवरणअनुसार, ह्याकका क्रममा लेयरजिरो नामक प्रविधि प्लेटफर्मले सञ्चालन गरेका दुईवटा ब्लकचेन सर्भरहरूमा अनधिकृत पहुँच स्थापित गरिएको थियो ।      केल्पडीएओका अनुसार यस पहुँचले इथेरियमसँग सम्बन्धित क्रिप्टो टोकनहरू प्रणालीबाट ‘निकाल्न’ सम्भव बनायो । लेयरजिरोले एक विज्ञप्तिमा अप्रिल १८, २०२६ मा करिब २९ करोड डलर बराबरको क्षति भएको पुष्टि गरेको छ ।      उक्त आक्रमणबारे प्रारम्भिक सङ्केतहरूले अत्यन्तै परिष्कृत राज्य–समर्थित समूह संलग्न भएको देखाएको भन्दै सम्भावित रूपमा उत्तर कोरियाको लाजरस समूह जिम्मेवार हुनसक्ने उल्लेख गरिएको छ । यद्यपि, प्रयोगकर्ताका अन्य सम्पत्ति वा प्रणालीमा कुनै असर नपरेको भन्दै कम्पनीले आश्वस्त पार्ने प्रयास गरेको छ ।      ब्लकचेन प्रविधिले सरकार वा बैंकजस्ता बिचौलियाविनै लेनदेन गर्न मिल्ने व्यवस्था दिन्छ, जसलाई विकेन्द्रीकृत वित्त (डेफी) भनिन्छ । तर यही संरचनाको जटिलताले यस्ता साइबर आक्रमणलाई पहिचान र नियन्त्रण गर्न कठिन बनाउने विज्ञहरूको भनाइ छ ।      नाइन ब्लक क्यापिटल म्यानेजमेन्टका सह–संस्थापक हेनरी अर्सलानियनका अनुसार यस्तो घटनाले नयाँ प्रयोगकर्तालाई डेफी क्षेत्रमा प्रवेश गर्न झनै डर पैदा गराउँछ । उनले यो आक्रमण उत्तर कोरियाको लाजरस समूहकै काम भएको दाबी गर्दै विश्वमै यस्तो स्तरको ह्याक गर्न सक्ने क्षमता सीमित समूहसँग मात्र रहेको उल्लेख गरे ।      यसअघि सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको एक अध्ययनले उत्तर कोरियाले सन् २०१७ यता तीन अर्ब डलरभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको अनुमान सार्वजनिक गरेको थियो । त्यस्तै, गत वर्ष अमेरिकाले उत्तर कोरियामाथि एक अर्ब ५० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको थियो, जुन इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो डकैतीमध्ये एक मानिएको छ ।      निरन्तर दोहोरिँदै आएका यस्ता घटनाले साइबर सुरक्षाको अन्तर्राष्ट्रिय बहसलाई तीव्र बनाएको छ भने डिजिटल अर्थतन्त्रको भविष्यप्रति थप चिन्ता उत्पन्न गरेको देखिन्छ । रासस    

सुदनले छाडे प्रलोपा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत करिब पाँच महिनाको राजनीतिक यात्राप्रति आभार व्यक्त गर्दै संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन् । किरातीले पार्टी छाडे पनि देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उल्लेख गरे । उनले जनताको विश्वास र सहिदहरूको बलिदानलाई आधार मानेर आगामी दिनमा पनि निरन्तर अघि बढ्ने जानकारी दिए । जेनजी आन्दोलनपछि उनले नेकपा माओवादी केन्द्र छाडेर डा. बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर प्रलोपा गठन गरेका थिए ।

ईभी ब्याट्रीमा नयाँ रेकर्ड : १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज !

काठमाडौं । चिनियाँ कम्पनी सीएटीएलले एकपटक चार्ज गर्दा १ हजार ५०० किलोमिटर चल्न सक्ने क्षमताको नयाँ ब्याट्री विकास गरेको दाबी गरेको छ । यसले रेञ्ज र चार्जिङ गतिमा प्रभुत्व कायम गर्न बीवाईडीसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीको ‘कन्डेन्स्ड क्विलिन’ ब्याट्रीको नयाँ संस्करणले अघिल्लो संस्करणको १ हजार किलोमिटर सीमालाई पार गर्दै लन्डनदेखि बार्सिलोना सम्मको सडक दूरीभन्दा बढी रेञ्ज दिने बताइएको छ । सीएटीएलले आफ्नो शेन्सिङ ब्याट्रीको नयाँ अपग्रेड पनि सार्वजनिक गरेको छ, जसले १० प्रतिशतबाट ९८ प्रतिशतसम्म चार्ज हुन केवल साढे ६ मिनेट लाग्छ । यो अघिल्लो संस्करणभन्दा सुधार हो, जसले ५ प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन १५ मिनेट लिने गर्थ्यो । यो बीवाईडीको पछिल्लो ब्लेड ब्याट्रीभन्दा पनि निकै छिटो हो, जसले १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन ९ मिनेट लिन्छ । विश्व ईभी ब्याट्री बजारको आधाभन्दा बढी हिस्सा ओगट्ने सीएटीएल र बीवाईडी दुवैले सेल केमिस्ट्री र उत्पादन प्रक्रियामा नयाँ आविष्कार लक्षित गर्दै अर्बौं डलर अनुसन्धानमा खर्च गरिरहेका छन् । सीएटीएलका अर्बपति संस्थापक रोबिन जेङले बेइजिङमा पत्रकार र लगानीकर्तासँग कुरा गर्दै भने, ‘इलेक्ट्रोकेमिस्ट्रीको सीमाना अझै टाढा छ र पदार्थ विज्ञानका सम्भावनाहरू पनि अझै पूर्ण रूपमा प्रयोग भइसकेका छैनन् ।’ कम्पनीहरूले आफ्ना प्रविधिगत सुधारहरूले ईभी ब्याट्री चार्ज हुन धेरै समय लाग्ने, लामो यात्रामा सकिने वा अत्यधिक तातो र चिसोमा काम नगर्ने भन्ने उपभोक्ताको चिन्तालाई हटाउने अपेक्षा गरेका छन् । तर ब्याट्री लागतमा आएको तीव्र गिरावट र सीएटीएल तथा बीवाईडीका द्रुत प्रगतिले ईभी र ऊर्जा भण्डारण प्रणालीका लागि महत्वपूर्ण प्रविधिमा चीनको प्रभुत्व अझ बलियो बनाउँदै लगेको छ । सीएटीएलले चीनभर ब्याट्री स्वापिङ र चार्जिङ पूर्वाधार विस्तार गर्न सरकारको योजनालाई समर्थन गर्न थप लगानी गर्ने जनाएको छ । कम्पनीले २०२८ को अन्त्यसम्म चिनियाँ गाडी उत्पादकहरूसँग सहकार्य गर्दै १ लाख चार्जिङ र स्वापिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ । साथै यी स्टेशनहरूलाई चीनको विद्युत् प्रणालीसँग अझ राम्रोसँग एकीकृत गर्ने प्रतिबद्धता जनाएको छ । सीएटीएलले यसै वर्षको अन्त्यसम्म सोडियम–आयन ब्याट्रीको ठूलो परिमाणमा उत्पादन सुरु गर्ने पनि जनाएको छ, जसले लिथियम, कोबाल्ट र निकेलमा निर्भरता घटाउन सहयोग गर्नेछ । बेइजिङ अटो शोअघि यी घोषणाहरू गरिएको हो, जहाँ १ हजार ४०० नयाँ गाडी मोडलहरू प्रदर्शनमा राखिनेछन् । अमेरिका–चीन तनाव र चिनियाँ अर्थतन्त्रबारे चिन्ताबीच पनि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि स्वच्छ ऊर्जाको दीर्घकालीन माग बढ्ने अपेक्षाले सीएटीएलप्रति लगानीकर्ताको रुचि पुनः बढेको छ । हङकङमा सूचीकृत सीएटीएलका सेयर यस वर्ष ४० प्रतिशतभन्दा बढीले बढेका छन् भने पछिल्लो १२ महिनामा झन्डै १४० प्रतिशतले वृद्धि भएको छ ।

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

काठमाडौं । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि केवल पुरातात्विक वस्तु मात्र नभई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा हेरिएको छ ।      डेसिया सभ्यतासँग सम्बन्धित अलङ्कृत कोटोफेनेस्टी हेलमेट र तीन सुनौलो ब्रेसलेटहरू जनवरी २०२५ मा नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयमा भएको योजनाबद्ध छापामार चोरीमा हराएका थिए । उक्त घटनाले अन्तर्राष्ट्रिय कला क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो भने रोमानियाली अधिकारीहरू गम्भीर चिन्तामा परेका थिए । करिब १४ महिनाको अनुसन्धानपछि, तीन जना संदिग्धसँग सम्बन्धित मुद्दा अघि बढिरहँदा अधिकांश हराएका वस्तुहरू मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका छन् । त्यहाँबाट कडा सुरक्षा व्यवस्थासहित ती वस्तुहरू राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पुर्‍याइएको थियो । अहिले ती वस्तुहरू मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको निगरानीमा काँचको विशेष क्याबिनेटमा राखेर सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ ।      सङ्ग्रहालयका अन्तरिम निर्देशक कर्नेल कन्स्टान्टिन इलीले यी वस्तुहरूलाई सामान्य पुरातात्विक सामग्री नभई ‘ऐतिहासिक स्मृतिका जीवित अवशेष’ का रूपमा फर्काइएको बताए । उनका अनुसार, यो क्षण रोमानियाका लागि खुशीसँगै आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो । लामो समयसम्म यी सम्पदा सधैँका लागि हराउन सक्ने चिन्ताबीच बिताएको स्मरण गर्दै उनले अब यसको महत्त्वपूर्ण अंश फिर्ता आएकोमा राहत महसुस गरिएको उल्लेख गरे ।      ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङले पनि यस घटनालाई सबैका लागि भावनात्मक क्षण भएको बताए । उनका अनुसार, नेदरल्यान्ड्समा यसको प्रभाव उल्लेखनीय भए पनि रोमानियामा यसको भावनात्मक असर अझ गहिरो थियो । दुवै देशका प्रहरी र न्यायिक निकायले समन्वयमा उत्कृष्ट काम गरेको उनले स्वीकार गरे ।      यसै महिनाको सुरुआतमा डच अभियोजकहरूले पूर्वी नेदरल्यान्ड्सको एसेन सहरमा पत्रकार सम्मेलनमार्फत बरामद गरिएका वस्तु सार्वजनिक गरेका थिए । यद्यपि, चोरी भएका तीनमध्ये एक सुनौलो ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी जारी रहेको जनाइएको छ । आगामी हप्ताहरूमा यससम्बन्धी न्यायिक निर्णय आउने अपेक्षा गरिएको छ ।      चोरीपछि हराएको हेलमेट फिर्ता हुँदा केही भागमा क्षति देखिएको छ भने अन्य बरामद ब्रेसलेटहरू भने सुरक्षित अवस्थामा रहेका छन् । हेलमेट पगालिएको हुन सक्ने आशङ्का पनि गरिएको थियो, किनभने यसको विशिष्टता र पहिचानका कारण यसलाई अवैध बजारमा बेच्न कठिन हुने अनुमान गरिएको थियो ।      रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सम्पदा र राष्ट्रिय चेतनाबीचको गहिरो सम्बन्ध उजागर गरेको बताए । उनका अनुसार, यसले सांस्कृतिक सम्पदाहरू कति संवेदनशील र जोखिममा पर्न सक्ने देखाएको छ, जहाँ हिंसा, तस्करी र लापरबाहीले ठूला क्षति पुर्‍याउन सक्छ ।      चोरीको घटनापछि सार्वजनिक भएको सुरक्षा फुटेजमा तीन व्यक्तिले क्रोबार प्रयोग गरी सङ्ग्रहालयको ढोका फुटाएको र त्यसपछि विस्फोट गराएको दृश्य देखिएको थियो । यसले घटना योजनाबद्ध र सङ्गठित रहेको सङ्केत गरेको थियो ।      सङ्ग्रहालय प्रशासनका अनुसार, केही मर्मतसम्भार अघि यी सम्पदाहरूलाई सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसलाई केवल कलात्मक वस्तुका रूपमा मात्र नभई कठिन परीक्षा, लगभग अपूरणीय क्षति र त्यसपछिको सफल पुनःप्राप्तिको प्रतीकका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । अन्ततः, यी बहुमूल्य सम्पदाहरू स्वदेश फर्किनु रोमानियाका लागि ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ । रासस   

गगन थापालाई सभापति स्वीकार गर्दै पूर्णबहादुर खड्काले जारी गरे प्रेस विज्ञप्ती

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले विशेष महाधिवेशनवाट निर्वाचित सभापति गगनकुमार थापालाई पहिलोपटक पार्टी सभापति स्वीकार गरेका छन् । मंगबार प्रेस विज्ञप्ति जारी गर्दै खड्काले आफूलाई पूर्वकार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेका छन् । उनले सरकारले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन स्ववियु खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले उक्त कदमलाई लोकतन्त्रविरोधी र अधिनायकवादी भएको टिप्पणी गरेका छन् । वक्तव्यमा खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिका स्मरण गर्दै त्यस्ता संस्थामाथि प्रहार गर्नु संविधानले प्रत्याभूत गरेको मौलिक हकविपरीत भएको बताएका छन् ।  उनले पञ्चायती व्यवस्थादेखि २०६२/६३ को जनआन्दोलनसम्म विद्यार्थीहरूले लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् । गत वर्षको भदौ २२ र २३ को आन्दोलनपछि कांग्रेसमा विवाद चर्कँदै जाँदा पार्टीभित्र एक समूहले अर्को समूहलाई कारवाहीसमेत गरेका थिए । तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेपछि तत्कालीन कार्यवाहक सभापति खड्काले महामन्त्रीहरुलाई कारवाही समेत गरेका थिए । कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले गत वर्ष पुष ३० गते थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । त्यसपछि खड्काले कार्यवाहक सभापतिको रूपमा चैत्र ३० गते प्रेस विज्ञप्ति जारी गरेपछि कांग्रेसको अनुशासन समितिले वैशाख २ गते स्पष्टिकरण सोधेको थियो । तर वैशाख ४ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी आदेश सर्वोच्च अदालतले जारी गरेपछि कांग्रेसभित्र नयाँ अवस्था सिर्जना भएको थियो । यही मेसोमा खड्काले थापालाई सभापति स्वीकार गरेको राजनीतिक विश्लेषक परशुराम घिमिरेले बताए । उनले भने, ‘यसले कांग्रेसभित्र नयाँ सञ्चार सुरु गरेको छ ।’  अर्का विश्लेषक तथा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले पनि अदालतले न्याय निरूपण गरेर अगाडि बढ्न बाटो खोलिदिएको अवस्थामा आएको खड्काको वक्तव्य पार्टीका लागि कोशढुंगा भएको बताए । जारी गरिएको खड्काको विज्ञप्तिको मास्टहेडमै खड्काले आफुलाई निवर्तमान कार्यवाहाक सभापति लेखेका छन् ।

विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने, डिजेल गाडीको हकमा मात्र भाडा वृद्धि लागू

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा लिएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले (हिजो) मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि केवल डिजेल इन्जिनबाट चल्ने सवारी साधनका लागि मात्र भएको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणाली अनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि यो नियम विद्युतीय सवारीको हकमा लागू नहुने विभागको जिकिर छ । पछिल्लो समय विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल्ने गरेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो । विभागका अनुसार विद्युतीय सवारी साधनका लागि साविककै भाडादर कायम रहनेछ । यातायात सेवा प्रदायकले यात्रुबाट भाडा लिएपछि अनिवार्य रूपमा टिकट दिनुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्न समेत निर्देशन दिइएको छ । विभागले सूचनामार्फत सचेत गराउँदै भनेको छ, ‘यदि कुनै विद्युतीय सवारीले तोकिएको भन्दा बढी भाडा लिएको वा नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कडा कानुनी कारबाही गरिनेछ ।’ यससँगै विभागले यात्रुहरूलाई पनि सचेत रहन र नियम विपरीत भाडा असुलिएमा उजुरी गर्न आग्रह गरेको छ ।    

दीपक भट्टमाथिको अनुसन्धान प्रतिवेदन बाहिरियो, भीआईपी व्यवसायी समेत संलग्न

काठमाडौं । व्यापारी दीपक भट्टमाथि गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणमा भट्ट र उनीसँग सम्बन्धित नेटवर्कले बजार प्रभावित पार्ने, मूल्यमा कृत्रिम उतारचढाव ल्याउने तथा जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालिएको छ । उक्त नेटवर्कमा केही भीआईपी उद्योगी-व्यवसायीहरू समेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ अनुसार भट्टले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङमार्फत वास्तविक रकम भुक्तानी नगरी ठूलो परिमाणमा सेयर कारोबार गरेका थिए । प्रचलित कानुनअनुसार बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने र कम्तीमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लङ्घन भएको देखिएको छ । भट्टले सेयर खरिद गर्दा नगद भुक्तानी नगरी आफू निकट कम्पनीहरूबीच रकम मिलान (राफसाफ) गर्ने अभ्यास अपनाएको पाइएको छ । यस्तो ‘उधारो कारोबार’ले बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्य वृद्धि गराउन सहयोग गरेको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले भट्टसँग सम्बन्धित कम्पनीहरूबीच ‘इन्साइडर ट्रेडिङ’ भएको पनि पुष्टि गरेको छ । इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्सबाट खरिद गरिएका ऋणपत्रहरू आफ्नै अन्य कम्पनीहरूलाई उच्च मूल्यमा बिक्री गरिएको पाइएको छ । यस्तो कारोबारले वास्तविक स्वामित्वमा खासै परिवर्तन नगरी मूल्य मात्र बढाउने उद्देश्य राखेको देखिन्छ, जसलाई कानुनले झुट्टा कारोबारको रूपमा परिभाषित गर्छ । प्रतिवेदनले भट्टसहित भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचान लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । उनीहरूले बजारलाई प्रभावित पार्ने, कृत्रिम कारोबार गर्ने र लगानीकर्तालाई भ्रममा पार्ने कार्य गरेको ठहर गरिएको छ । अन्य आरोपितहरूमा शुभी अग्रवाल, ऋषि राज मोर र राजबहादुर शाह रहेका छन् भने हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित व्यक्तिहरू तथा केही उद्योगी-व्यवसायीहरूले समेत प्रक्रियामा सहयोग पुर्‍याएको उल्लेख छ । प्रतिवेदनले दोषीहरूलाई धितोपत्र सम्बन्धी ऐनअनुसार कडा कारबाही गर्न सिफारिस गरेको छ।

‘हर्मुज त ट्रेलर मात्रै हो, प्रशान्त क्षेत्रमा युद्ध भड्किए विश्वले महासंकट झेल्नेछ’

काठमाडौं । सिंगापुरका विदेशमन्त्री विवियन बालाकृष्णनले यदि प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीच युद्ध भड्कियो भने ‘तपाईंले स्ट्रेट अफ हर्मुजमा अहिले जे देखिरहनु भएको छ, त्यो केवल एक ‘ड्राइ रन’ (पूर्व अभ्यास) हुने,’ बताएका छन् । बालाकृष्णनले सिंगापुरमा आयोजित सीएनबीसीको कन्भर्ज लाइभ कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् । उनले वासिङ्टन र बेइजिङबाट सिंगापुरलाई कुनै एक पक्ष रोज्न दबाब परेको छ कि भन्ने प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनका अनुसार सिंगापुरको दुवै देशसँग सम्बन्ध रहेको छ । अमेरिका तथा चीनमा भइरहेका विकासक्रमबाट लाभ लिनसक्ने विशेष अवस्था सिंगापुरसँग रहेको उनले सीएनबीसीलाई जानकारी दिए । अमेरिका सिंगापुरको सबैभन्दा ठूलो विदेशी लगानीकर्ता हो, जहाँ करिब ६ हजार अमेरिकी कम्पनीहरू सञ्चालनमा छन् । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार सिंगापुरले अमेरिकासँग करिब ३।६ अर्ब डलर बराबरको वस्तु व्यापार घाटा पनि बेहोर्दै आएको छ । त्यसैगरी, चीन सिंगापुरको सबैभन्दा ठूलो व्यापार साझेदार हो र सिंगापुर चीनमा सबैभन्दा ठूलो विदेशी लगानीकर्ता बनेको छ । ‘हामी एकलाई रोजेर अर्को छोड्ने छैनौं,’ बालाकृष्णनले भने, ‘हामी आफ्नो दीर्घकालीन राष्ट्रिय हित के हो भनेर मूल्यांकन गर्छौं र यदि वासिङ्टन, बेइजिङ वा अरू कसैलाई ‘होइन’ भन्नुपरे पनि हामी पछि हट्दैनौं ।’ ‘हामी आफ्नै दीर्घकालीन राष्ट्रिय हितमा काम गरिरहेका छौं । हामी उपयोगी हुनेछौं, तर कसैको उपयोगको साधन बन्ने छैनौं,’ उनले थपे । ‘चोकपोइन्टहरू महत्त्वपूर्ण हुन्छन्’ बालाकृष्णनले मध्यपूर्वको द्वन्द्वले ‘चोकपोइन्टहरू कति महत्त्वपूर्ण हुन्छन् भन्ने देखाएको’ उल्लेख गरे । उनले सिंगापुर पनि विश्वका महत्त्वपूर्ण व्यापारिक मार्गमध्ये एक स्ट्रेट अफ मलाक्कामा अवस्थित रहेको बताए । यसको सबैभन्दा साँघुरो भाग दुई समुद्री माइल मात्र छ, जुन स्ट्रेट अफ हर्मुजको २१ समुद्री माइलको तुलनामा निकै कम हो । मन्त्रीसँग इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाजहरूबाट शुल्क उठाउने प्रयास गरेजस्तै अन्य देशहरूले पनि स्ट्रेट अफ मलाक्काजस्ता चोकपोइन्टहरूमा शुल्क लिन थाल्ने सम्भावना बारे प्रश्न गरिएको थियो । मार्चमा इरानको सरकारी सञ्चारमाध्यमले तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाजहरूबाट शुल्क लगाउने कानुन तयार पारिरहेको जनाएको थियो । बालाकृष्णनले यस्तो अवस्था आए जोखिम हुन सक्ने बताए, तर सिंगापुर, मलेसिया र इन्डोनेसियाजस्ता स्ट्रेट अफ मलाक्का आसपासका देशहरूको यो मार्ग खुला राख्ने र शुल्क नलगाउने रणनीतिक हित रहेको बताए । ‘अमेरिका र चीन दुवैसँगको सम्बन्धमा हामीले दुवैलाई संयुक्त राष्ट्रसंघीय समुद्री कानुन महासन्धिको आधारमा काम गर्ने बताइसकेका छौं,’ उनले भने । यूएनसीएलओएसको धारा ४४ अनुसार ‘जलडमरूमध्यसँग सिमाना जोडिएका राष्ट्रहरूले पारगमन मार्गमा अवरोध गर्न पाउने छैनन्... पारगमन अधिकार निलम्बन गरिने छैन ।’ ‘पारगमनको अधिकार सबैका लागि सुनिश्चित गरिएको छ । हाम्रो क्षेत्रमा मार्ग बन्द गर्ने, अवरोध गर्ने वा शुल्क लगाउने कुनै पनि प्रयासमा हामी सहभागी हुने छैनौं,’ बालाकृष्णनले भने । विश्वास निर्माण मध्यपूर्व संकट, युक्रेन युद्ध र अमेरिकी भन्सार (ट्यारिफ) नीतिले राष्ट्रहरूबीच अविश्वास बढिरहेको बेला सिंगापुरका विदेशमन्त्री बालाकृष्णनले विश्वास निर्माणको महत्त्वमा जोड दिए । ‘विश्वास भनेको मूलतः लेनदेन लागत घटाउने माध्यम हो । पूर्वानुमानयोग्य, स्थिर, भरपर्दो र विश्वासयोग्य हुनुको वास्तविक मूल्य हुन्छ,’ उनले भने । उनका यी भनाइहरू सिंगापुरका उपप्रधानमन्त्री गान किम योङको मुख्य सम्बोधनपछि आएका हुन् । गानले ‘विश्वास अब स्वतः प्राप्त हुँदैन, यसलाई निर्माण र सुदृढ गर्नुपर्छ भनेका थिए । सिंगापुर पहिले नै एक प्रमुख वित्तीय केन्द्र भइसकेको उल्लेख गर्दै गानले अबको चरणमा जोखिम व्यवस्थापन, साइबर सुरक्षा र एआई शासनजस्ता विश्वासमा आधारित सेवाहरूको विस्तृत संरचना निर्माण गर्ने लक्ष्य रहेको बताए । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) ट्रम्पको दाबी र इरानको चेतावनी : होर्मुज स्ट्रेटमा बढ्दो तनावबीच वार्ताको भविष्य संकटमा हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै