काठमाडौं । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ४८ जनाको पोष्टमार्टम भएको छ ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ९४ जनाको शव ल्याइएकोमा हालसम्म ४८ जनाको पोस्टमार्टम भएको र बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा ल्याइएका शवहरूमध्ये हालसम्म नौ जनाको मात्र पहिचान खुलेको छ । पहिचान खुलेका शवहरूको पोस्टमार्टम पश्चात् आफन्त तथा परिवारको जिम्मा लगाइसकिएको डा. चौधरीले बताए ।
बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले शिक्षण अस्पतालमा थप शवहरू आउन सक्ने अनुमान गरिएको छ ।
हाल पहिचान हुन बाँकी शवहरूको हुलिया, आफन्तबाट प्राप्त विवरण तथा डीएनए परीक्षण लगायतका आवश्यक प्रक्रियामार्फत पहिचानको काम भइरहेको अस्पतालले जनाएको छ ।