पकेटमारकाे भाषा, पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, भागलाई ‘टप्की’
काठमाडौं । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । “पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेकाे महानगरिय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले बताए । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ । सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई/दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए । चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटपाट गर्ने गरेको उनको भनाइ छ । परिसरले पकेटमारीसँग हालसम्म रु पाँच लाख ९६ हजार नगद, मोबाइल ३९ थान, आइप्याड चार थान र ल्यापटप पाँच थान बरामद गरेको छ । गत मङ्सिर २५ गते कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि काठमाडौँ आएका थिए । उनी काठमाडौँको पानीपोखरीमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल जान गोङ्गबुस्थित नयाँ बसपार्कबाट कान्तिपुर यातायात चढे । चक्रपथ पुग्दा सात/आठ जनाको समूहले उनको साथको एउटा झोला लियो । उनलाई सिटमा बस्न आग्रह गरेर थाहा नपाउने तरिकाले ज्याकेटको अगाडि खल्तीको ७५ हजार पाकेट मारे । यस्तो चोरीको क्रम बढेपछि प्रहरी र यातायात व्यवसायी मिलेर चोरी नियन्त्रण अभियानलाई तिव्रता दिइएको बताइएको छ ।
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने, मितेरी पुल निर्माण शुरू
मेलम्ची । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए । काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पुनर्बीमा गर्ने, प्रिमियमकाे २० प्रतिशत नेपाल रिलाई
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा (नेपाल रि)ले लिने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ ।
सेयर र व्याजदर अध्ययन समितिले ५८ बुँदे प्रतिवेदन बुझायाे, ३६ बुँदा तत्काल कार्यान्वयनमा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठित मुद्रा बजार र पुँजी बजारको विद्यमान समस्या समाधानका लागि गठित समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । समितिले काम सुरु गरेको १२ औं दिनमा प्रतिवेदन बुझाएको हो । समितिले ५८ बुँदामा प्रतिवेदन तयार पारेको छ जसमा पुँजी बजार र वित्तीय क्षेत्रका समस्याका लागि के के गर्नुपर्छ भन्ने विषय समेटिएका छन् । त्यसमध्ये ३६ बुँदामार्फत् सरकारलाई तत्काल केही कदम चाल्न सुझाइएको छ भने अन्य समस्याहरु आगामी बजेट र कानूनी व्यवस्थामार्फत् गर्न सुझाइएको छ । प्रतिवेदनमा काेर क्यापिटलकाे ४० प्रतिशत बराबर रकम सेयर कर्जामा जारी गर्न पाउने नीतिगत व्यवस्था गर्न सुझाव दिइएकाे छ । यसअघि राष्ट्र बैंकले काेर क्यापिटलकाे २५ प्रतिशत रकम मात्र सेयर कर्जा दिन सक्ने व्यवस्था गरेकाे थियाे । त्यस्तै, समितिले सेयरधितो कर्जाको सेयर मूल्यकाे ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सुझाव दिएकाे छ । समितिले कमजोर रेटिङ भएका कम्पनीहरुलाई आईपीओ, एफपीओ, हकप्रद लगायतका प्राथमिक निष्काशनहरुमा रोक लगाउने जस्ता महत्वपूर्ण सुझाव प्रतिवेदनमा समेटिएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिए। ‘वित्तीय क्षेत्रकाे स्थायित्वकाे लागि ब्याजदरको स्थिरता र शेयर बजारकाे स्थिरता र ऋणपत्र बजारकाे विकासकाे लागि हामी हामीले ५८ बुँदे तत्कालै गर्नुपर्ने देखि एक वर्षभित्र गर्नुपर्ने सुझावहरु बुझाएका छाैं’ श्रेष्ठले भने- ‘हामीले प्राथमिक क्षेत्रकाे कर्जाकाे ब्याजदर आधारदरकाे २ प्रतिशत भन्दा बढी हुन नहुने, शेयरधिताेकाे कर्जा र मार्जिन लेन्डिङलाई फरक फरक बनाउने, काेर क्यापिटलकाे ४० प्रतिशत कर्जा सीमा, त्यसमा जाेखिमकाे भार १०० प्रतिशत कायम गर्ने सुझाव दिएका छाै । त्यस्तै हकप्रद वा बाेनश शेयर जारी गर्दा समायाेजित मूल्यसँगै हकप्रद वा बाेनस शेयरलाई पनि समावेश गर्ने सुझाव हामीले दियाैं, यसले गर्दा अब हकप्रद र बाेनस शेयर जारी गर्दा बैंकबाट मार्जिन कल आउँदैन ।’ श्रेष्ठले सुझावमा समेटिएका बुँदाहरुमध्ये राष्ट्र बैंकले गर्नुपर्ने कामहरु भाेलिदेखि नै लागु गर्न सुरु गर्ने बताए ।
काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने, पुस १३ गतेदेखि बुक क्लोज
काठमाडौं । काबेली विकास बैंकले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५ लाख रुपैयाँ रहेको छ । ३५ प्रतिशत(अर्थात ७ करोड ३७ लाख रुपैयाँ) बोनस पछि बैंकको चुक्ता पुँजी २८ करोड रुपैयाँ नाघ्ने छ ।
कृषि अनुसन्धान र प्रविधि विस्तार गर्न सम्झौता, चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग
काठमाडौं । नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयका तर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा योगेन्द्रकुमार कार्की र चीनको स्वशासित क्षेत्र तिबेत इन्टरनेशनल इकोनोमिक एक्सचेञ्ज सर्भिस सेन्टरका प्रबन्धक बेन जेनबीच मन्त्रालयमा सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने परियोजनाले मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार परियोजना सञ्चालन गरिने मन्त्रालयका उपसचिव शङ्कर सापकोटाले बताएका छन् । परियोजना तीन वर्षसम्म सञ्चालन हुने भएको छ । परियोजना सञ्चालनका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने बताइएको छ । परियोजनाले ती जिल्लाका कृषक र प्राविधिक कर्मचारीलाई तालीम दिने जनाइएको छ । रासस
मेलम्चीमा संयमित भएर निर्णय लिन्छौ, समयमै पानी दिन्छौंः मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा संयमित भएर निर्णय लिने बताएकी छिन् । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री मगरले मेलम्चीमा संयमित भएर निर्णय लिने बताएकी हुन् । सरकारले भन्यो-जे सुकै भएपनि तोकिएको समयमै मेलम्चीको पानी आउँछ उनले तोकिएकै समयमा मेलम्चीको पानी काठमाडौं बासीका धारामा आउने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् । उनले भनिने, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । संमिति भएर निर्णय लिन्छौं र तोकिएकै समयमा पानी दिन्छौं ।” उनले मेलम्ची आयोजनामा देखिएको समस्यले अन्य खानेपानी आयोजनाहरुमा कुनै असर नपर्ने स्पष्ट समेत पारेकी थिइन् । ३ वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने उनको प्रतिवद्धता थियो । खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पारिन् ।
निजगढ विमानस्थलमा संसदिय समितिको निर्देशनः यसैपाली डीपीआर बनाएर निर्माण थाल्नु
काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएकाेे छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउन सक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नु पर्नेमा जोड दिएका छन् । बैठकमा समितिका सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयारी भएको जानकारी दिएका छन् । समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहने टाँगिया बस्तीको स्थानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन, उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन समितिको निष्कर्ष सुझाव तथा निर्देशन रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारा देशको पर्यटन पवद्र्धन र आर्थिक विकासका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान एवं गौरव बढाउन समेत महत्वपूर्ण योगदान गर्ने आयोजना हो । समितिले आयोजना स्थलभित्रका बस्ती स्थानान्तरण गरेपश्चात् विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुख मात्र कटान गरी विमानस्थल निर्माण कार्य अविलम्ब अगाडि बढ्न र रुख काटिएवापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकी सभापति थापाले विमानस्थल निर्माण भए पश्चात् सिर्जना हुने रोजगारीका अवसरमा आयोजनाबाट विस्थापित हुने व्यक्ति र स्थानीय बासिन्दालाई विशेष प्राथमिकता दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । विमानस्थल निर्माणमा स्थानीय सरोकारवाला सबै एकमत भएको र आयोजना एथाशीघ्र सम्पन्न होस् भन्ने चाहेको समितिको प्रतिवेदनमा जनाइएको छ । विमानस्थल निर्माण पश्चात तल्लोतटीय क्षेत्रमा सिँचाइ तथा जरुवा व्यवस्थापनमा उत्पन्न हुनसक्ने समस्याको आंकलन गरी सिँचाइको वैकल्पिक स्रोतको व्यवस्था गर्न र आयोजनाको निर्माणको क्रममा चुरे क्षेत्रको संरक्षणमा समेत सजग रहन समितिले निर्देशन दिएको छ । समितिले स्थलगत अनुगमनका क्रममा आयोजनाको क्षेत्रको जङ्गलमा पोथ्रा, बुट्यान र साना तथा कम उमेरका रुखको सङ्ख्या अत्याधिक देखिएको र अन्य रुखलाई विमानस्थल नजिकै खालिरहेका सार्वजनिक जग्गामा वृक्षरोपण गरेमा चार÷पाँच वर्षभित्रमा पुनः हरियाली बढाउन सकिने जानकारी दिएका छन् । रासस