विकासन्युज

चिनी उद्योगीलाई मातृका यादवको आव्हानः भिड्ने भए आउनुस्

काठमाडौं । उद्योग मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योगीलाई युद्धको ऐलान गर्न चेतावनी दिएका छन् । बुधबार संसदको उद्योग बाणिज्य र श्रम तथा रोजगार समितिको बैठकमा मन्त्री यादवले चिनी उद्योगीहरुलाई युद्ध घोषणा गर्न चेतावनी दिएका हुन् । ‘मन्त्रालयसँग कुरा नगर्ने, समितिमा उजुरी गर्ने, म धेरै कार्यक्रम स्थगित गरेर यहाँ आएको हुँ, चिनी उद्योगीले के गर्न खोजेको ? भिड्ने भए आउनुस्’, मन्त्री यादवले भने । चिनी उद्योगीहरुले सरकारसँग निहुँ खोजेको आरोप पनि मन्त्री यादवले लगाएका थिए । चिनी आयातमा कोटा निर्धारण, भन्सार दर वृद्धि लगायतका सहुलियत दिँदा समेत उद्योगीले निहुँ खोजेको मन्त्री यादवको भनाई थियो । ‘आयातमा कोटा लगाएका छौं, भन्सार दर पनि पुनरावलोकन गरिदिए कै छौं, फेरी पनि निहुँ खोज्दै समितिमा किन उजुरी गरेको हो ?’, मन्त्री यादवले प्रश्न गरे । उनले यथेष्ठ सहुलियत दिँदा पनि चिनी उद्योगीले किसानलाई उखुको भुक्तानी नदिएको पनि आपक्ति जनाए । ‘तपाईहरुले सुबिधै सुबिधा चाहिने अनि किसानलाई उखुको भुक्तानी पनि नदिने ? यस्तो पनि कहिँ हुन्छ, अब मन्त्रालय चुप लागेर बस्दैन’, मन्त्री यादवले भने । उनले किसानको भुक्तानी तत्काल नदिए थप कारवाही गर्ने चेतावनी पनि दिए । बैठकमा चिनी उद्योगहरुले आफुहरु बार्षिक ३ अर्ब नोक्सानीमा रहेको बताएका थिए ।

भायनेटको नयाँ शाखा पोखरामा, नोकियासँगको सहकार्यमा १०० एमबीपीएसको नेटवर्क शुरु गर्ने

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्यूनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरामा कम्पनीको यो पहिलो शाखा हो । भायनेटले नोकियासँगको सहकार्यमा आफ्नो “अल्ट्रा ब्रोडब्यान्ड” क्षमतायुक्त नेटवर्कको शुरुवात गर्दैछ । “अल्ट्रा ब्रोडब्यान्ड” भनेको यस्तो इन्टरनेट सेवा हो जसले १०० एमबीपीएस(मेगाबिट्स पर सेकेन्ड) भन्दा बढीको स्पीड प्रदान गर्न सक्छ । भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई २.५ जीबीपीएस(जीगाबीट्स पर सेकेन्ड)सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ । जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन(फोरके) भिडियो सामाग्री, आईपीटिभी, अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ । भायनेटले फ्युचर प्रुफ नेटवर्क निर्माणमा विश्वास राख्छ र प्रयोगकर्ताहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । भायनेटको प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले भने- “भायनेटको प्यान नेपाल एफटीटीएच नेटवर्क विस्तारको योजना अनुरुप हामीले पोखरामा सफलतापूर्वक सेवा विस्तार गर्न पाएकोमा गौरवान्वित छौँ । पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौं । जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सँधै नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौं ।” अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमई र कतारको दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् । कतारभर २७ शाखा कार्यालय लगायत विभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेको रेमिट्यान्स कारोबारको लागि उक्त दोहा बैंकसँग सम्झौता थियो । उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइ का ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । ग्लोबल आईएमईले बैंकिङ्ग सेवाको पहुँच पुर्याउन विभिन्न स्थान शाखा, एक्सटेन्सन काउण्टर एवंम राजश्व संकलन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि सस्थान कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान आएको छ । रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंकको रुपमा रहेको छ । यस बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

स्वावलम्बन लघुवित्तका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ । वित्तीय सस्थामा हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नविल बैंक, रहेका छन । संस्थाले गत कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउदै आएको छ ।

२५ करोडको लगानीमा नेपालमै पहिलो जैविक रिसोर्ट अब नुवाकोटमा

काठमाडौं । कृषि तथा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो । स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका पुर्खौली वस्तु र पर्यटन प्रवद्र्धमा धार्मिक महत्वको जर्गेना र विकास गर्ने उद्देश्यका साथ यस रिसोर्ट सञ्चानमा ल्याउन लागिएको रिसोर्टका अध्यक्ष विष्णुप्रसाद नेपालले बताएका छन् । त्यसका लागि पाँच करोडको जग्गा खरीद गर्नुका साथै रु १५ करोडको पूर्वाधार निर्माणमा लगानी गरिने बताएका छन् । पर्यटनलाई लक्षित गरि नेपालमै पहिलो जैविक रिसोर्ट सञ्चालन गर्न लागेका, पर्यटन र मानव स्वास्थ्य तथा मानिसको जीवनशैलीमा यसको महत्व रहेको छ । समयको विकासक्रम सँगसँगै हरेक भान्सा र खाद्य परिकारमा जैविक मिश्रणले मानव स्वास्थ्यमा निम्त्याइरहेको हानिलाई पनि न्यूनीकरण गर्न यो रिसोर्ट एक अध्ययन केन्द्र बन्न सक्ने बताएका छन् । केरुङ नाका जोड्ने सडक मार्गसँगै अवस्थित छ भने धार्मिक महत्वको हिसाबले प्रसिद्ध देवीघाटको जालपा क्षेत्र, मानसरोवर र गोसाइँकुण्ड जाने धार्मिक पर्यटकको रुटमा समेत यो देवीघाटमा बन्ने रिसोर्ट भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने उपेक्षा गरिएको छ । हाल निर्माणाधीन मध्यपहाडी लोकमार्ग समेतले यसलाई समेटेको छ । यस प्रकृतिको रिसोर्टका लागि पहिलो ठूलो लगानीमा आउन लागेको यस रिसोर्टमा सबै प्रकारको सेवा–सुविधा सम्पन्न रहने र रिसोर्टमा आउने पाहुनाको लागि खाने परिकारदेखि लिएर हरेक सामान जैविक हुने नेपालले बताएका छन् । यहाँ आएका हरेक पर्यटक तथा पाहुनाले यहाँ पालिएका गाईभैँसीको दूध, कुखुरालगायत रिसोर्टमै उत्पादित तरकारी र फलफूल आफ्नो चाहना र रुचिअनुसार खान पाउने ती सबै विषदीरहित जैविक बताएको जानकारी दिएका छन् । सबै जैविक सामानले राख्दा विदेशी पाहुनाले नेपाली पुर्खाको सामान यस्ता राम्रा हुँदा रहेछन् भनेर थाहा पाउनेछन् । नुवाकोटको पहिचान जोगाउने र अर्कोतर्फ लोकल र जैविक खाने कुराले स्वास्थ्यका लागि फाइदा पनि हुने, व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुने भएकाले योजनासहित रिसोर्टको काम अघि बढाएको सञ्चालकले बताएका छन् । ड्रिम ल्याण्ड रिर्सोड एण्ड जैविक फार्म हाउसमा गाउँघरमा हुने पुराना संस्कृति झल्किने सामान जस्तैः ढिकी, जाँतो, ओखल, खल, हँसिया, करौँती, हलोजुवा, कोदाली, कुट्टोलगायतका मौलिक कृषि औजार तथा सामान हेर्नका लागि राखिने रिसोर्टका सचिव नुरप्रसाद दाहाल बताएका छन् । दाहालका अनुसार ४२ रोपनीमा सञ्चालन हुन लागिएको रिसोर्टमा आफ्नै फार्म हाउसभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई दूधको लागि गाईहरु पाल्नुका साथै स्थानीय स्तरमा उत्पादन हुने दूध, मोही, दही रिर्सोटमा आउने ग्राहकलाई खुवाइने छ । त्रिशूलीको लोकल माछा त्यहीँ रिसोर्टमै पाल्ने, बाख्रा पाल्ने, स्थानीय प्रजातिका कुखुरा पाल्ने योजनासमेत रहेको रिसोर्टले जनाएको छ । रासस

१० कम्पनीको सेयर मूल्य ९९ भन्दा तल हुँदा इक्वीटी फण्ड ८ रूपैयाँमा, मेगा बैंकको सेयर १०८ मा किनबेच

काठमाडौं । सेयर बजारमा गिरावट जारी रहँदा १० वटा कम्पनीको सेयर मूल्य १०० भन्दा कममा झरेको छ । दुई दर्जन कम्पनीहरुको सेयर मूल्य १०० नजिक रहेको छ । १० रुपैयाँ अंकित मूल्य रहेका इक्वीटी फण्डहरुको हालत झन् खराब छ । १०० रुपैयाँ अंकित सेयर अंकित मूल्यभन्दा कम हुनेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १०० रुपैयाँ नजिक मूल्य हुने कम्पनीमा जिल्ला स्तरीय विकास बैंक र फाइनान्स कम्पनी बढी रहेका छन् । नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा कम भएको छ । यसको सेयर प्रतिकित्ता ७० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, छ्याङदी हाइड्रोको ९८ रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ९८ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको ९७ रुपैयाँ, गोर्खा फाइनान्सको ९८ रुपैयाँ, जेविल्स् फाइनान्सको ९७ रुपैयाँ, खानीखोला हाइड्रोपावरको ९६ रुपैयाँ, रिडी हाइड्रोपावरको ९८ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९७ रुपैयाँमा झरेको छ । दुई दर्जन कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ भन्दा कम भएको छ । त्यसमा जलविद्युत कम्पनी, विकास बैंक र फाइनान्स कम्पनी रहेका छन् । यूटाइटेड मोदी हाइड्रोपावर पनि १२४ रुपैयाँमा झरेको छ । पञ्चकन्या माई हाइड्रोपावरको ११६ रुपैयाँमा, बरुण हाइड्रोपावरको मूल्य ११२ रुपैयाँमा, सप्तकोशी हाइड्रोपावरको मूल्य ११३ रुपैयाँमा, अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य १०७ रुपैयाँमा, रैराङ हाइड्रो पावरको मूल्य १०६ रुपैयाँमा, कालिका पावर १०१ रुपैयाँमा कारोबार भएको छ । देवः विकास बैंकको मूल्य १२५ रुपैयाँमा झरेको छ । भार्गव विकास बैंकको १२४ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । सिन्धु विकास बैंकको सेयर १२० रुपैयाँमा, कन्काई विकास बैंकको ११८ रुपैयाँमा, ग्रीन डेभलपमेन्ट बैंकको ११० रुपैयाँमा  सेयर कारोबार भइरहेको छ । गुडविल फाइनान्स १२३ रुपैयाँमा झरेको छ । रिलाईन्स फाइनान्सको ११६ रुपैयाँमा, हाथवे फाइनान्सको ११८ रुपैयाँमा, सेन्ट्रल फाइनान्सको ११० रुपैयाँमा, सिटी एक्स्प्रेस फाइनान्सको सेयर १०७ रुपैयाँमा सेयर किनबेच भईरहेको छ । इक्वीटी फण्डको हालत झन् खराव १० रुपैयाँ अंकित मूल्यका इक्वीटी फण्डहरुको मूल्य पनि सीमाभन्दा तल झरेका छन् । एनआईबीएल समृद्धि फण्ड ९ रुपैयाँमा, एनआईसी एशिया ग्रोथ फण्ड ८ रुपैयाँ ८५ पैसामा, एनएमबी हाईब्रिड फण्ड ८ रुपैयाँ ८० पैसामा, सिटिजन्स म्यूचल फण्ड ८ रुपैयाँ ७४ पैसामा, सिद्धार्थ इक्वीटी फण्ड ८ रुपैयाँ ६९ पैसामा, सानिमा इक्वीटी फण्ड ८ रुपैयाँ ६८ पैसामा, नबिल इक्वीटी फण्ड ७ रुपैयाँ ९२ पैसामा, लक्ष्मी इक्वीटीको मूल्य ७ रुपैयाँ ७० पैसा कारोबार भएका छन् । धेरै वाणिज्य बैंकहरुको सेयर मूल्य २०० भन्दा तल आएका छन् । प्रमोटर सेयर १०८ रुपैयाँसम्ममा कारोबार भएको छ । गत साता मेघा बैंकको प्रमोटर सेयर १०८ रुपैयाँमा किनबेच भएको थियो ।

निजी क्षेत्रका सबै सुझावलाई नयाँ ऐनमा समेट्ने- अर्थमन्त्री खतिवडा

काठमाडौं । औद्योगिक व्यवसाय ऐन २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (फिटा)मा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको सुझाव पेश भएको छ । महासंघले बुधबार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव समक्ष कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि विभिन्न सुझावहरु पेश गरेको हो । कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समिति सदस्यहरू र उद्यमी व्यवसायीहरू सम्मिलित महासंघको प्रतिनिधि मण्डलले निजी क्षेत्रको सुझाव राखेका हुन् । अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्रले दिएका सुझावहरूलाई नयाँ आउने ऐनमा समावेश गर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र कार्यान्वयन गर्न सकिने व्यवस्था मात्र कानुनमा समावेश गरिने उनले स्पष्ट पारे । सरकार र निजी क्षेत्रको साझा लक्ष्य नै मुलुकको समृद्धि भएकाले मुलुकभित्र औद्योगिक विकास, स्वदेशी उद्योगको संरक्षण सहित प्रवद्र्धन गरी बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारेका छन् । साथै, उनले तथ्यांकसहित मुलुकको अर्थतन्त्र सही दिशातर्फ गैरहेको स्पष्ट पारेका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री यादवले स्वदेशी उद्योगलाई बलियो बनाउँदै बाह्य लगानी आकर्षण गर्ने र औद्योगिक विकास गर्ने नीति सरकारको रहेकाले यसमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । कसरी र कुन उपायबाट मुलुकभित्र औद्योगिक विकास गर्न सकिन्छ त्यसमा निजी क्षेत्रसँग आफू बारम्बार छलफल र सहयोग गर्न तयार रहेको पनि उनले बताए । महासंघका अध्यक्ष राणाले महासंघले तयार पारेको सुझावलाई आगामी ऐनमा समावेश गर्न आग्रह गरेका छन् । औद्योगिक विकासका लागि औद्योगिक व्यवसाय ऐन निकै महत्वपूर्ण ऐन भएकाले यसमा व्यवस्था गरिएका व्यवस्थालाई सरकारका अन्य ऐन कानुनले कटौती गर्न नहुने तर्फ सरकारको विशेष ध्यान जानुपर्ने उनको सुझाव छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक लागत निकै धेरै भएकाले नेपालमा वाह्य लगानी र स्वदेशी लगानी समेत आकर्षित हुन नसकेको भन्दै व्यवसायिक लागत घटाउनेतर्फ सरकारको विशेष ध्यान जानुपर्ने उनले बताए । उपाध्यक्ष किशोरकुमार प्रधानले २०७५–२०८५ लाई लगानी दशकको रूपमा घोषणा गरी यस अवधिमा मुलुकका लागि आवश्यक उद्योगको पहिचान गरी सोही अनुसार औद्योगिक विकासको रणनीति राज्यले अवलम्वन गर्नुपर्ने सुझाव दिए । उपाध्यक्ष उमेशलाल श्रेष्ठले डुईङ विजनेश इन्डेक्समा नेपालको अवस्थालाई सुधार गर्न सरकार सचेत हुनुपर्ने भन्दै निजी क्षेत्रले लगानीको उपयुक्त वातावरण खोजी रहेको बताए । साथै उनले सरकारी अधिकृतको तजवीजि अधिकारलाई कटौती गर्नुपर्ने सुझाव राखेका छन् । उद्यमी सुमित केडीयाले नेपाली उद्योग व्यवसाय संसारका कुनै पनि उद्योग व्यवसायभन्दा कम नरहेको बताएका छन् । सरकारले स्वदेशी उद्योगको विकास र प्रवद्र्धनका लागि नविनतम सोच र क्षेत्रगत उद्योग विकासमा विशेष रणनीति लिनु पर्ने उनले बताएका छन् ।

नारायणगढमा सेञ्चुरी बैंकको एटिएम सेवा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ शाखा, बेलचोकमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमकाे उद्घाटन गरेका छन् । बैंकले काठमाडौं उपत्यकाको १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन भईरहेको जानकारी दिएका छन् । बैंकले हालसम्म ५८ वटा एटिएमबाट सेवा प्रदान गर्ने भएको छ ।