नेपाललाई दक्षिण एसियाको लगानी मैत्री बजार बनाउँछौंः अर्थमन्त्री खतिवडा
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाललाई दक्षिण एसियाको लगानी मैत्री बजारका रुपमा विकास गर्ने बताएका छन् । आगामी चैत १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । लगानी सम्मेलन अघि बैदेशिक लगानी, सार्वजनिक सम्पत्ति सुरक्षा, औद्योगिक व्यवसाय प्रवद्र्धन, सार्वजनिक खरिद लगायतका ऐन नियमहरु परिमार्जन गरी लगानीमैत्री बनाइने अर्थमन्त्री खतिवडाले बताए । यसअघिको लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएको २ सय ७५ अर्बको लगानीको विभिन्न परियोजना संझौता एमओयू गरिएको अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा बताए । सो रकम कृषि, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा खर्च गरिने उनले बताए । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएको हो । लगानी सम्मेलनमा विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैह्र आवासीय नेपाली संघ, निजी क्षेत्र, विषय विज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च अधिकारीको सहभागिता रहने छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको आयोजना तथा निजी क्षेत्रको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो । लगानी सम्मेलनका लागि अर्थमन्त्री खतिवडाको संयोजकत्वमा नेपाल सरकारका सचिवहरु, निजी क्षेत्रका प्रतिनिधिहरु रहेको निर्देशक समिति गठन भएको छ ।
परराष्ट्रका पाँच सहसचिवलाई राजदुतको जिम्मेवारी, ३ जनालाई फिर्ता हुन तीनहप्ते म्याद
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका ५ जना सहसचिवहरुलाई थाइल्यान्ड, स्वीजरल्यान्ड, क्यानडा, फ्रान्स र कुवेत गरि पाँच देशका लागि राजदुत सिफारिस गरेको छ । मन्त्रीपरिषद्को गत बिहीबार र सोमबारको बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको लागि आवासीय र क्याम्बोडिया, लाओस्, भियतनाम र सिंगापुरको लागि गैरहावासीय, सहसचिव मणिप्रसाद भट्टराइलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगको स्वीजरल्यान्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय, भृगु ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा र जमैकाका लागि, दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैर आवासीय तथा दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय राजदुतका लागि सिफारिस गरिएको छ । उक्त मुलुकहरुमा हाल रहेका राजदुतहरुलाई नयाँ राजदुतहरुको नियुक्ति प्रक्रिया नसकिएसम्म काम गर्न पाउने व्यवस्था समेत गरेको छ । त्यस्तै हाल दक्षिण कोरिया स्पेन र बंगलादेशमा हाल राजदुत रहेका अर्जुनबहादुर सिंह, भरतबहादुर रायामाझी र चोपलाल भुषाललाई ३ हप्ताभित्र नेपाल फर्किन भनेको छ ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा राजनप्रसाद खनाल
काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल नियुक्त भएका छन् । संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा नियुक्त गरेको हो । डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठकले खनाललाई एक वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, नवनियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।
ओखलढुङ्गाको सुनकोशीमा माछापुच्छ्रे बैंकको नयाँ शाखा, गाँउपालिकामै पहिलो बैंक बन्न सफल
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपले गरेका छन् । यस अघि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा बैंकले पुस १२ गतेदेखि आफ्नो सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको कम्पनीले जनाएको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा ४० प्रतिशत छुट
काठमाडौं । सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने छन् । साथै, यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।
भृकुटीमण्डपमा अब सवारी रोक्न नपाइने, यी हुन् नयाँ बस स्टपहरु (सूचिसहित)
काठमाडौं । उपत्यकाको ट्राफिक जाम कम गर्न पिक एण्ड ड्रपको तालिका फेरिएको छ । ट्राफिक प्रहरी महाशाखाले पुस १ गते लागू गरेको तालिका पुनः परिमार्जन गरेको हो । महाशाखाले रत्नपार्क, सभागृह अगाडि, बिसौनी एनएसी काठमाडौं मल अगाडिको स्थानलाई ५ वटा बिसौनीमा विभाजन गरेको छ । बालाजु क्षेत्रबाट टुँडिखेल घुम्ने सवारीलाई भृकुटीमण्डपमा यात्रु चढाउने र ओराल्न रोक लगाएको छ । अब सो क्षेत्रको सवारी काठमाडौं मल एनएसी अगाडि रोकेर यात्रु चढाउन र ओराल्न पाउनेछ । टुँडिखेल वरिपरि अव्यवस्थित तरिकाले एउटै सवारी साधनले थुप्रै ठाँउमा यात्रु चढाउने र ओराल्ने गरेका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको थियो । त्यसकारण यात्रुहरु चढाउने र ओराल्ने स्थान परिवर्तन गर्नु परेको महाशाखाले जनाएको छ । एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको व्यस्था गरिएको छ। यस्ता छन् नयाँ बस स्टपहरु
बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने
काठमाडौं । सरकारले शक्तिशाली यातायात प्राधिकरण बनाउने भएको छ । मन्त्रिपरिषदको बैठकले यातायात प्राधिकरण निर्माण गर्ने निर्णय गरेको हो । सरकारले प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा मात्र विभागले ३२ लाख सवारी नियन्त्रण गर्न नसक्ने भन्दै प्राधिकरणको अवधारणा ल्याइएको हो । प्राधिकरणले देशैभरी यातायात व्यवस्थापन गर्ने गरी सो अवधारणपत्र स्वीकृत गरको हो । अब यातायात व्यवस्था विभागलाई खारेज गरी सम्पूर्ण अधिकार प्राधिकरणमा ल्याउन बाटो खुलेको छ ।
साना किसानको २३ लाख ऋण मिनाहा, सयौँ कृषकले राहत पाए
पर्वत । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो । आव २०७४\७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज १८ लाख ९३ हजार १२८ र साँवा चार लाख ४५ हजार ५९२ गरी रु २३ लाख ३८ हजार ७२० असुल गर्न बाँकी रहेको कृषि विकास बैंक कुश्मा शाखाका प्रमुख महेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लाका चार सहकारी संस्थामार्फत कृषकले ऋण लिएका थिए । बैंकबाट ऋण लिएर कृषकलाई वितरण गरेका तर अहिले अस्तित्वमै नरहेका सहकारी संस्थाहरूको ऋण मिनाहा भएको हो । यसबाट कतिपय जग्गा धितो राखेर ऋण लिएकाहरू समस्यामा परेका थिए । पर्वतका गुप्तेश्वर सहकारी संस्था लिमिटेडले ब्याजसहित ११ लाख ७४ हजार ३५६, हडरे देउराली सहकारी फलेवासले दुई लाख ३८ हजार ३८६, धौलागिरि सहकारी मोदी–२ देउपुरले दुई लाख ९७ हजार, आदर्श बहुमुखी सहकारीले तीन लाख २५ हजार १५ र सोही सहकारीले अर्को शीर्षकमा लगेको रु तीन लाख तीन हजार ९६२ ब्याजसहित असुल गर्नुपर्ने बक्यौता रहेको थियो । हालै बसेको मन्त्रिपरिषद्को बैठकले ऋण मिनाहा गर्ने घोषणा गरेपछि ती सहकारीमार्फत ऋण लिएका सबै कृषक ऋणमुक्त बनेको शाखा प्रबन्धक पौडेलले बताए । उनका अनुसार कतिपय जग्गा धितो राखेकाले बैंकमा सम्पर्क राखी फकुवा गर्न सकिने समेत जानकारी दिए ।