
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाललाई दक्षिण एसियाको लगानी मैत्री बजारका रुपमा विकास गर्ने बताएका छन् ।
आगामी चैत १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।
लगानी सम्मेलन अघि बैदेशिक लगानी, सार्वजनिक सम्पत्ति सुरक्षा, औद्योगिक व्यवसाय प्रवद्र्धन, सार्वजनिक खरिद लगायतका ऐन नियमहरु परिमार्जन गरी लगानीमैत्री बनाइने अर्थमन्त्री खतिवडाले बताए । यसअघिको लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएको २ सय ७५ अर्बको लगानीको विभिन्न परियोजना संझौता एमओयू गरिएको अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा बताए ।
सो रकम कृषि, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा खर्च गरिने उनले बताए । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएको हो ।
लगानी सम्मेलनमा विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैह्र आवासीय नेपाली संघ, निजी क्षेत्र, विषय विज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च अधिकारीको सहभागिता रहने छ ।
लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको आयोजना तथा निजी क्षेत्रको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।
लगानी सम्मेलनका लागि अर्थमन्त्री खतिवडाको संयोजकत्वमा नेपाल सरकारका सचिवहरु, निजी क्षेत्रका प्रतिनिधिहरु रहेको निर्देशक समिति गठन भएको छ ।

