विकासन्युज

दुई संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

लामो समय पछि कारोबार रकममा उत्साह, एकैदिन अर्बौँ बढीको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा लामोसमय पछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । बिहीबारको बजारमा कुल एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ४७ करोड रुपैयाँ बढी हो । बुधबारको सेयर बजारमा ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । केही समययता नेप्से परिसूचकमा उच्च वृद्धि भएता पनि कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । बजारमा करोडभन्दा माथिको कारोबार नभएको महिनौँ भएको थियो । तर बिहीबारको बजारमा भने कुल २८ लाख ७२ हजार ५५१ कित्ता सेयर अर्बौ रुपैयाँमा किनबेच भएको छ । सो दिन कुल १७४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ११५५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक १.०८ अंकले घटेर १२१५ अंकमा झरेको छ ।  

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एचआइभी !

मादुरी, तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताए । पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्णले जानकारी दिए । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनले दुर्भाग्यबस ती व्यक्तिमा एआइभी पोजेटिभ भएको जानकारी अस्पताललाई नभएको बताए । उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । रासस÷एएनआई

अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने भएको छ । उक्त सेवाको लागि मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । साथै, साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक पाउने छन् । कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवालले अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताएका छन् । त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । साथै, साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्ने बताएका छन् । छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

प्लस टु र स्नातक तहमा छात्रवृत्ति दिदै भारतीय राजदुतावास, तपाईं पनि पर्नुहुन्छ कि ?

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ । आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्नेछ। आवेदक नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा पढिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्ने छ। स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ। आवेदकले पढिरहेको संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ। अनलाईन आवेदन  www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद पौष २९ सम्म रहेको छ।  

हाथवे फाइनान्सको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।

पाइपलाइनमा रहेका ‘कमजोर कम्पनी’ले आइपीओ अनुमति पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ र एफपीओ निष्काशन प्रक्रिया नरोक्ने भएको छ । मुद्राबजार तथा पूँजीबजारको विद्यमान समस्या समाधानका लागि अर्थ मन्त्रालयद्वारा गठित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समिति गत पुस ४ गते अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनअनुरुप कानून नबनुञ्जेल पनि आईपीओ तथा एफपीओ निष्कासन प्रक्रिया नरोकिने भएको हो । समितिले तत्काल लागु गर्नुपर्ने भनेर सुझाव दिएकोले सोही सुझाव अनुसार बाझिने गरी बोर्डले प्रक्रिया अघि बढाउँछ कि बढाउँदैन भन्ने द्विविधा उत्पन्न भएको थियो । बोर्डका प्रवक्ता निरज गिरीले बोर्डले कानून संशोधनका लागि प्रक्रिया अघि बढाइसकेको, तर यो प्रक्रिया पूरा नहुञ्जेल विद्यमान कानून अनुसार नै आईपीओ निष्कासन प्रक्रिया लगायत बोर्डका अन्य कामहरु अघि बढ्ने दाबी गरे । समितिको प्रतिवेदनले ४ भन्दा कमजोर रेटिङ भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिने व्यवस्था गर्न सुझाएको थियो । त्यस्तै प्रिमियम मूल्यमा आइपीओ र एफपीओ जारी गर्दा क्रमशः नेटवर्थको २ गुणा र नेटवर्थ बराबर भन्दा बढी मूल्यमा जारी गर्न नदिन सुझाव दिइएको थियो । हाल बोर्डमा प्रिमियम मूल्यमा आईपीओ र एफपीओका लागि कुनै आवेदन परेको अवस्था नभए पनि कमजोर रेटिङ भएका कम्पनीहरुले समेत आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । कार्यान्वयनको तयारी शुरु भइसक्योः प्रवक्ता नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले समितिले दिएको सुझावअनुसार बोर्डले गर्नुपर्ने कामहरु अघि बढाइसकेको बताए । हामीले गर्नुपर्ने भनेका अधिकांश कामहरु कानून संशोधन गरेपछि मात्र अघि बढ्छ, सुझाव समितिको प्रतिवेदनले दिएका सुझावका आधारमा त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं, प्रवक्ता गिरीले भने । उनले कानून संशोधन नभएसम्म धितोपत्र बोर्डको कुनैपनि काम प्रभावित नहुने प्रष्ट पारे । बोर्डलाई दवाव दिन लगानीकर्ताको भेला नेपाल स्टक एक्सचेञ्जअगाडि बजार सुधारको काग गर्दै रिले र आमरण अनसन बसेका लगानीकर्ताको समूहले शुक्रबार बिहानका लागि काठमाडौंको भृकुटीमण्डपमा भेला बोलाएका छन् । शेयर बजार दबाब समूहका संयोजक हरि ढकालले लगानीकर्ताहरुलाई ११ः३० बजे भृकुटीमण्डपको खुल्ला स्थानमा भेला हुन आह्वान गरेका छन् । उनले राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि गरेको व्यवस्थालाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै धितोपत्र बोर्ड लगायत सम्वद्ध पक्षलाई पनि सुझाव कार्यान्वयनका लागि दवाब दिन रणनीति बनाउन भेला डाकिएको बताए ।

इनर्जी बैकिङ गर्न भारत सहमत, नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने

काठमाडौँ । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । आगामी वर्षदेखि माथिल्लो तामाकोशीलगायत केही आयोजना निर्माण सम्पन्न हुने र बर्खायामको विद्युत् नेपाललाई बढी हुने भएकाले त्यसको विकल्पका रुपमा भारत पठाएर इनर्जी बैंकिङ गर्न सकिने विषयमा छलफल हुँदै आएको थियो । नेपालबाट बैठकको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत् खरीद–बिक्रीकर्तामार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए । पिइसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रुप दिइएको हो । इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकका सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो । “इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौताअन्तर्गतका सहसचिव र सचिवस्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ”, कार्यकारी निर्देशक घिसिङले भने, “इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको कोशेढुङ्गा हो ।” पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले शुरुका पाँच÷सात वर्ष ‘इनर्जी बुक’ गर्न प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए । “लाइन निर्माण गर्न करीब चार वर्ष लाग्ने भएकाले शुरुका पाँच÷सात वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत् निर्यातका लागि प्रयोग गर्ने भएकाले सोही अनुसार लगानीको प्रारुप तयार हुनेछ”, उनले भने, “हामीले इनर्जी बुक गरेको पाँच÷सात वर्षमा पनि भारततर्फ विद्युत् लैजाँदा सम्बन्धित विद्युत् निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ ।” दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानीयोग्य बनाउन नेपालले २५ वर्षसम्म इनर्जी बुक गरेको छ । तर नेपालले दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पाँच÷सात वर्षमात्रै बुकिङ गर्ने भएको हो । “आयोजना निर्माण तथा सञ्चालन गर्न भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म शेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ”, प्रवक्ता अधिकारीले भने । पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारततर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको दश प्रतिशत मात्रै शेयर छ । बैठकमा प्राधिकरणले उत्तर विहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरीद दरका विषयमा पनि छलफल भएको थियो । प्राधिकरणले पिइसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले विहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको बेला मात्रै ‘लिने र तिर्ने’ आधारमा विद्युत् आयात गरिरहेको छ । भारतले केही दिनअघि मात्रै छिमेकी मुलुकसँगको विद्युत् आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरीद दरका बारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले जानकारी दिए । नयाँ निर्देशिका आएको सन्दर्भमा पिइसीको सान्दर्भिकता हुने÷नहुने लगायतका विषयमा सम्बन्धित निकायहरुसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ । बैठकको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र पाँच रुपैयाँ ५५ पैसा भारुमा विद्युत् खरीद गरी आयात गरिरहेको छ । बढी विद्युत् माग हुने समय अप्ठ्यारो परेको बेला मात्रै विहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ । विहारबाट सिराहा, जलेश्वर, वीरगञ्ज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात भइरहेको छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगञ्जमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत् आयात गरी दार्चुला र बैतडीमा उपलब्ध गराइएको छ । प्राधिकरणले ५ जुलाई २०१८ मा सम्पन्न पिइसीको १२औँ बैठकमा आयात भइरहेको दरमा कति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन महीनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो । रासस