विकासन्युज

द भ्वाइस अफ नेपाल सिजन-२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स

काठमाडौँ । गायन रियालिटी सोको नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन-२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भ्वाइस अफ नेपाल सिजन-२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको हो । यता, भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका छन् । उनीहरुसँगै दीप श्रेष्ठ र प्रमोद खरेल सहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन् । भ्वाइस अफ नेपाल सिजन २ को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुनेछ ।

धितोपत्र बोर्डलाई सुझावः ब्रोकरको मार्केटिङदेखि पत्रकारमाथि नियन्त्रणसम्म

काठमाडौं । पुँजी बजारको सुधारको लागि भन्दै सरोकारालाहरुले नेपाल धितोपत्र बोर्डमाथि सम्बद्ध पक्षहरुले दुई दर्जनभन्दा बढी सुझावहरु दिएका नेपाल धितोपत्र बोर्डको नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा बोर्डमाथि पुँजीबजारसँग सम्बन्धित विज्ञहरु, लगानीकर्ता प्रतिनिधिहरु, ब्रोकर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी, म्युचुअल फण्ड, तथा संस्थागत लगानीकर्ताका प्रतिनिधिहरुले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए । सुझावका क्रममा नेपालको शेयर बजारलाई थप विस्तारित गराउने सन्दर्भमा संरचनागत सुधार र सूचना प्रवाह एकरुपताको लागि बोर्डले काम गर्नुपर्ने विषयमा जोड लिइएको थियो । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै विज्ञहरुले सरकारी निकायहरुको नीतिनियममा एकरुपता नभएको भन्दै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति लगायतका निकायहरुको समन्वय तथा नीतिगत स्थिरतामा जोड दिएका छन् । त्यस्तै, विज्ञहरुले स्वार्थ बाझिने समूहहरुलाई नीतिगत निर्णयबाट टाढा राख्नुपर्ने, भित्री कारोबार रोक्न सूचना प्रविधि प्रभावकारी र पर्याप्त हुनुपर्ने, विभिन्न क्षेत्रको रिपोर्टिङ सिस्टममा एकरुपता आउनुपर्ने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने लगायतका सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए । शेयर बजारका सूचनाहरुकाे प्रवाह िवश्वसनीय र प्रभावकारी बनाउन प्रेस काउन्सिलसँग मिलेर बाेर्डले काेड अफ कन्डक्ट बनाएर लागु गर्ने सन्दर्भमा समेत उनीहरुले सुझाव दिएका थिए । कार्यक्रममा लगानीकर्ता संघका प्रतिनिधिहरुले बोर्ड तथा धितोपत्र बजारका सम्बन्धित निकायले अर्थ मन्त्रालयले गठन गरेको समितिले बुझाएको ५८ बुँदे सुझावको बाँकी काम पूरा गर्न जोड दिए । त्यस्तै, शेयर बजारमा तालिम दिनेहरुको योग्यता निर्धारण गरी लाइसेन्स दिनसमेत बोर्डले नीति ल्याउनुपर्ने माग गरिएको छ । गत वर्षकाे कार्यक्रममा उल्लेखित महत्वपूर्ण कार्यक्रमहरुकाे कार्यान्वयन नभएकाे भन्दै केही सुझावकर्ताहरुले कार्यान्वयन पक्ष वलियाे बनाउन समेत सुझाव दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सम्बन्धित पक्षहरुको सुझाव समेटेर बोर्डले नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयनमा समेत सुभार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भूमि व्यवस्थामन्त्री अर्यालले भनिन्-‘गुठी विधेयक फिर्ता भो’

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकको चौतर्फी बिरोध भएपछि सरकारले फिर्ता लिएको हो । सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले पत्रकार सम्मेलनमा बताइन् ।

होटल मेरियटले पायो ५ तारेको अनुमति, अब ५ तारेको संख्या १४ पुग्यो

काठमाडौं । होटल मेरियट स्तरोन्नति भएपछि नेपालमा ५ तारे होटलको संख्या १४ पुगेको छ । एभरेष्ट हस्पिटालिटी एण्ड होटल ग्रुपले संचालनमा ल्याएको उक्त होटलले सोमबार पर्यटन विभागबाट ५ तारे होटल स्तरोन्नतिको अनुमति पाएको हो । उक्त होटल गत वैशाख १ गतेदेखि संचालमा आएपनि सो अनुमति पाएको थिएन । होटल संचालमा आएपछि स्तरोन्नतिको लागि आएको आवदेनलाई विभागले निरिक्षण पछि सो अनुमति दिएको हो । होटलमा २१५ वटा कोठाहरू रहेका छन् । ५ वर्षअघि निर्माण कार्य शुरु गरेको उक्त होटलमा ३ अर्बभन्दा बढी लगानी रहेको छ । अब होटलले सहजै डलरमा कारोबार गर्न पाउनुका साथै सवारी साधनमा पर्यटन सेवामा प्रयोग हुने हरियो नम्बर प्लेट र होटलमा प्रयोग हुने सामानमा ५ प्रतिशत भन्सार छुट पाउने छन् । अन्तर्राष्ट्रिय पहिचान बोकेको मेरियट ब्राण्डले होटल व्यवस्थापनको जिम्मा लिएको छ । १२ तले होटलमा दुईतला अन्डर ग्राउन्ड, चारवटा रेष्टुरेन्ट, बार, ब्याङ्कवेट, मिटिङ हल, आधुनिक स्वास्थ्य क्लव, साउना, ज्याकुजी, मसाज, रिक्रियसन सेन्टर, स्वीमिङ पुल लगायतका सुविधाहरू रहने बताइएको छ । काठमाडौंको नक्सालमा स्थापना भएको होटल मेरियट अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ । होटल मेरियटले ५ तारेको लोगो पाएपछि काठमाडौंमा यस्ता होटलको संख्या १० वटा पुगेको छ । काठमाडौं बाहिर चार वटा ५ तारे होटल संचालनमा रहेपनि पोखराको फूलबारी रिसोर्ट र काठमाडौंको एभरेष्ट भने हाल बन्द छ ।

साढे नौ लाखले पाएनन् लाइसेन्स, रसिदकाे भरमा हिड्न बाध्य

काठमाडाैं । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताएका छन् । उनका अनुसार एउटा उपकरणको क्षमता दैनिक दुई हजार ५०० देखि तीन हजार वटासम्म छपाइ गर्ने रहेको छ । एक दिनमा बढीमा १८ हजारसम्म छपाइ गर्ने विभागले जनाएको छ । उनले भने, “यही गतिमा छपाइ गर्दा यहाँ छाप्न बाँकी रहेको लाखौँ चालक अनुमतिपत्र छाप्न सकिँदैन ।” उपकरणमा समयसमयमा समस्या आउने गरेको विभागले जनाएको छ । प्रवक्ता खनालका अनुसार उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको छ । जर्मनी कम्पनीका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको उनले बताउँदै भने, “अहिले पनि दुई वटा उपकरण मर्मत हुन नसक्दा थन्किएर बसेका छन् ।” सरकारले सेवाग्राहीलाई समयमा नै चालक अनुमतिपत्र उपलब्ध गराउन ‘मास प्रिन्टर’ खरिदको प्रक्रिया अघि बढाएको छ । खरिदका लागि ठेक्का सम्झौता भइसकेको प्रवक्ता खनालले बताए । मास प्रिन्टरको एक घण्टामा ४३० चालक अनुमतिपत्र छाप्ने क्षमता  रहेको छ । उनले भने, “मास प्रिन्टर खरिद गरेपछि समस्या हल हुनेछ ।” यसरी, स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बने नबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कनु परिरहेको  बताएका छन् ।उनले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका थिए । तीन पटकसम्म पनि त्यहाँ कार्यरत कर्मचारीले विभागबाट बनेर नआएको भनेपछि  एक पटक बुझ्नका लागि नेपाल विभाग पुगे । विभागले चालक अनुमतिपत्र बनेपछि कार्यालयमा नै जान्छ भन्ने र कार्यालयमा तीन पटकसम्म नआएपछि अहिले कतै पनि नगएकाे उनले बताए । सडकमा छड्के जाँच हुँदा उनले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गरेकाे बताउँदै भने, “रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु ।” सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गर्ने लक्ष्य राखे पनि आवश्यकताभन्दा कम छपाइ हुँदा सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएका हुन् । विभागले चाँडो गर्ने भन्दै केही महिना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको थियो । निजीले चालक अनुमतिपत्र छाप्दा रङ्गिन छापेको प्रवक्ता खनालले बताए । रङ्गिन छाप्दा कसैको फोटो त कसैको नाम, ठेगाना, रक्त समूहलगायतका विवरण प्रष्ट थिएन । निजीमा झन बढी समस्या आएपछि अहिले विभाग आफैँले श्यामस्वेत कार्ड छापिरहेको उनले जानकारी दिएका छन् । उनले भने, “अहिले विभाग आफैँले छापेको कार्डमा प्रष्ट नभएको भन्ने गुनासो छैन ।” गत फागुनसम्ममा विभागले देशभरका कार्यालयमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो । आव २०७४/७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो । नयाँ संविधानअनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालय भैातिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा सङ्घीय सरकारले नै यो काम गरिरहेको हो । रासस

७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको होटल एक सातादेखि बन्द

काठमाडौं । ७४ लाख ४९ हजार आठ सय कित्ता सेयर सूचीकृत भएको हायात रिजेन्सी होटल एक सातादेखि बन्द रहेको छ । कार्यरत कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएपछि होटल बिहीबारदेखि बन्द भएको हो । मंगलबार होटलको प्रतिकित्ता सेयर ३२१ रुपैयाँमा कारोबार भएको छ ।होटलमा कार्यरत कर्मचारीहरूले आफ्नो माग पूरानभएसम्म आन्दोलन कायम रहने बताएका छन् । होटल व्यवस्थापन पक्षले उनीहरूको माग सुनाइ नगरेका कारण यस्तो अवस्था सिर्जना भएको हो । आफूहरू लामो समयदेखि चुप रहँदै आउँदा पनि होटल व्यवस्थापन र मजदुरबीच सहमती जुटन नसकेकाले आन्दोलनको विकल्प नरहेको मजदुर पक्षले तर्क राखेको छ । उता होटल पक्षले भने बन्द, हडताल गर्न नहुनेमा जोड दिएको छ ।  साथै, तत्काल मागको सम्बोधन हुने–नहुने कुनै टुङ्गो छैन । होटल हायातको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहाल भन्छन्–‘होटल व्यवस्थापन पक्षले हाम्रो मागको सुनुवाइ नगरेसम्म हाम्रो धर्ना जारी रहन्छ, यो धर्ना अनिश्चित कालका लागि हो ।’ दाहालले होटल कर्मचारी सानादेखि ठूला खालका समस्या खेप्दै आएको बताएका छन् । उनले होटलमा काम गर्दा कानुनी रुपमा पाउनुपर्ने पारिश्रमिक देखि अन्य विभिन्न अत्यावश्यक सुविधाहरु समेत कटौती भएकोमा गुनासो व्यक्त गरे । कर्मचारीले खाना खाँदा देखि शौचालय प्रयोग गर्ने सामान्य कुरामा समेत हैरानी व्यहोर्नु परेको आन्दोलनरत पक्षको दाबी रहेको छ । होटलमा चरम भ्रष्टचार छ । १५ करोड ५ लाख रुपैयाँ श्रमिक आवास कोषको पैसा यस वर्षको एजिएमबाट कटाएको थियो । व्यवस्थापकले सो रकम खाएको आरोप मजदुर पक्षल लगाउँदै आएको छ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो महिना जनवरीमा मजदुरको बेसिक स्यालरीमा ९ प्रतिशतले वृद्धी हुँदै आएकोमा यसवर्षबाट ५ प्रतिशत मात्र वृद्धी हुने व्यवस्था कायम गरिएको छ । सो कुरा होटलको नजरमा सानो कुरो भएपनि मजदुरहरुले आफूहरूमा यसको असर ठूलो पर्ने बताएका छन् । लामो समयसम्म बिरामी पर्दा १ वर्ष सम्म मजदुरले तलवी बिदा पाउँछन् । तर,कर्मचारीले सो सुविधा पाएका छैनन् । साथै, मजदुरले पाउँने ५ लाखसम्मको बीमाको विषय समेत विवादमा परेको जानकारी आन्दोलनरत पक्षले दिएको छ । भाँडा सफा गर्ने शाखाका २ जना कर्मचारीले वर्षको १ पटक तालिम पाउँदै आएका थिए । सो तालिम समेत रोक्का भएको छ । बिदामा समेत कटौती पछिल्लो समय होटल हायातले आफ्ना मजदुरले पाउँदै आएको बिदामा समेत कटौती गरेको छ । घर बिदाका रुपमा ९० दिनसम्म पाइने बिदा ७८ दिनमा झारिएको उनीहरूको आरोप छ । बिरामी संञ्चीत बिदाका रुपमा पहिले ४५ दिन बिदा दिने गरिन्थ्यो । हाल भने सो बिदमा १५ दिन कटौती गरिएको छ । संचित बिदा ३० दिन मात्र पाइने भएको छ । मजदुरहरूले होटल व्यवस्थापकहरू श्रमिक ऐनको विरुद्धमा गएर समेत काम गर्ने गरेको र सो आफूहरुलाई सह्य नभएको बताएका छन् । होटलले चाहेमा समस्या समाधान हुने होटल व्यवस्थापनले चाहेको अवस्थामा सो माग खासै ठूलो नरहेको आन्दोलनरत पक्षले बताएका छन् । हाम्रा माग सबै पुरानै हुन्,’ आन्दोलन पक्षले भन्यो । मागहरू सम्बोधन नहुँदा समस्या परिरहेको मजदुर पक्षको भनाइ छ । भारतीय कर्मचारीसँग मजदुरको गुनासो मजदुरहरुले भारतीय कर्मचारीहरुको काम गर्ने शैलीले समेत असहजता सिर्जना गर्दै आएको आन्दोदनरत पक्षको बताएको छ । उच्च व्यवस्थापकहरुले मजदुरको समस्या नबुझ्ने गरेको बताइएको छ । जेनेरल म्यानेजर, एजुकेटीभ सेफ देखि एजुकेटीभ डाईरेक्टरसम्मलाई दोष दिइएको छ । होटलको नाफामा मजदुरको शंका मजदुरहरुले अन्य बेलामा घाटामा गएको तथ्य सार्वजनिक गर्ने होटलले हाल बन्दा भएको बेलामा ५०/६० लाख रुपैँया नाफा कमाइन्थ्यो भन्नु नसुहाउने कुरा भएको बताएका छन् । साच्चै सोही अनुसार फाईदा हुने हो भने अन्य बेलामा घाटामा गएको प्रचार झुटो हुने सम्भावना धेरै रहेको मजदुर पक्षको दावी छ । साथै, होटलका खर्चका विषयमा सम्बन्धित निकायले छानविन गर्न आवश्यक रहेको बताएको छ । यस्तो भन्छ होटल पक्ष  होटल पक्षले आन्दोलनको उदेश्य व्यवस्थापनलाई गलत प्रभाव र दबाव दिन अघि सारेको बताएको छ । यस्तै, कानुनी हड्ताल र नारा जुलुस गैर कानुनी रहेको हायातका कम्पनी सचिव रमण कुमार कर्णले बताए ।

वेभसाईटमा समस्या आएपछि लोकसेवाको आवेदन म्याद एक हप्ता थप

काठमाडौं। लोकसेवा आयोगले आफ्नो अनलाईन फारम भने समय १ हप्ता बढाएको छ। समय थप गर्दै लोकसेवाले ०७६/३/१० गते सम्म विद्यार्थीहरुले सिङ्गल दस्तुरमा अनलाईन फर्म भर्न सक्ने र दोव्वर दस्तुरमा ०७६/३/१७ गते सम्मम फर्म भर्ने व्यबस्था मिलाएको छ । लोकसेवा आयोगको वेभसाईटमा गत सोमबारदेखी समस्या देखिएपछी अनलाईन फारम भर्ने मिती बढाएको हो। आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै अनलाइन् आवेदन दिने विद्यार्थीहरुको चाप धेरै भएका कारण दरखास्त अपलोडमा गर्न कठिनाई भई आयोगमा दरखास्त फारम बुझाउन नसकेको बताएको छ।

भोजपुरमा दुई इन्जिनियर घुस रकम सहित रङ्गेहात पक्राउ

काठमाडाैं । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई घुस रकम सहित समातिएका छन् । इन्जिनियर किराँतलाई घुस/रिसवत वापत ५० हजार र निज सव इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई २० हजार लिईरहेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरेको हो । बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले समातेको हुन् ।