विकासन्युज

लोकसेवा विवादको सुनुवाई आज, कस्तो आउला निर्णय ?

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ । आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो ।

मानुषी लघुवित्तको विशेष साधारण सभा असार २० गते, अधिकृत पूँजी ४० करोड पुर्याइने

काठमाडौँ । काभ्रे जिल्लाको बनेपा १३ भैंसेपाटीमा केन्द्रीय कार्यालय भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २० गते हुने भएको छ । कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा बिहान ११ बजे साधारण सभा हुने भएको हो । साधारण सभामा संस्थाको अधिकृत पूँजी २० करोडबाट बृद्धि गरी ४० करोड पुर्याउने, तत्काल जारी गर्ने शेयर पूँजी १० करोडबाट २० करोड पुर्याउने, संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी ७ करोडबाट बृद्धि गरी १४ करोड पुर्याउने, हकप्रद शेयर जारी गर्ने र दुई वा दुई भन्दा बढी इजाजत प्राप्त संस्थाहरुबीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ती(एक्वीजिशन) जस्ता प्रस्ताव विशेष प्रस्तावका रुपमा पेश गरिने जनाइएको छ ।

असार २१ भित्र पहिलो किस्ता नलिए प्राधिकरणले लाभग्राहीको सूचिबाट हटाउने

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तसम्म पहिलो किस्ता बापतको अनुदान नलिए लाभग्राही सूचिबाट हटाउने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी निजी आवास पुनर्निमार्ण लाभग्राहीमा २०७६ जेठ मसान्तसम्म सूचिकृत भई हालसम्म सम्झौता नगरेकाहरुलाई असार २१ गतेभित्र पहिलो किस्ता लिन अनुरोध गरेको हो ।

आइएमई लाइफले ठूलो संख्यामा माग्यो कर्मचारी, कुन कुन जिल्लामा(सूचिसहित)

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार व्यवस्थापन विभागमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्तीमा दश जोड २ उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा काम गरेकाहरुले असार २० गतेभित्र आवदेन दिन सक्ने कम्पनीले जनाएको छ । झापा, इलामा, मोरङ, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, सप्तरी, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, चितवन, मकवानपुर, बाग्लुङ, मनाङ, तनहुँ, गोखरा, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र कास्की जिल्लाको लागि कर्मचारी माग भएको हो । त्यसैगरी दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, बाँके, सुर्खेत, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, धनुषा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, लमजुङ, प्युठान, बर्दिया, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, बाजुरा, दार्चुला, बैतडी र खोटाङ जिल्लाका लागि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टमा १६ जनालाई जागिर खुल्यो, हेड सेल्स एण्ड मार्केटिङदेखि एकाउन्ट अफिसरसम्मलाई अवसर

काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ । कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १ जना, हेड अफ प्रोजेक्ट सेल्स १ जना, एरिया सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर ६ जना र एकाउण्ट अफिसर २ जनाको लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले असार १३ गतेसम्म आवेदन दिनु पर्ने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

सुर्खेतमा देवः विकास बैंकको नयाँ शाखा

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंक लि.को नयाँ शाखा बिस्तार भएको छ । असार २ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीले शाखा उद्घाटन गरेका हुन् । उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरिने जानकारी गराए ।

‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश किसिमको मेला हो । असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷बाट सुरु हुनेछ । ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्राच कार्ड मार्फत रु. ७,०००/-देखि रु.१,००,०००/-सम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौकापनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् टिभिएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।

सुनसरीमा वाइवाइले थप्यो १ अर्बको प्लान्ट, ५ सयलाई रोजगारी

काठमाडौं । चौधरी ग्रुपले प्रदेश १ को सुनसरीमा १ अर्ब रुपैयाँको लागतमा वाइवाइ चाउचाउ उत्पादन प्लान्ट जडान गरेको छ । मंगलबारदेखि संचालनमा आएको उक्त प्लान्टबाट दैनिक साढे ५ लाख प्याकेट चाउचाउ उत्पादन हुने ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडलले बताए । उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन् । सुनसरीमा नवनिर्मित प्लान्टबाट वाइवाइको व्यावसायिक उत्पादन आजबाट शुरु भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने-‘वाइवाइले दशकौंदेखि तपाईंहरूको माया र साथ पाएको छ,’ उनले भने ‘नयाँ स्थानबाट उत्पादन शुरु गर्न पाउँदा हर्षित छु । वाइवाइको यो प्लान्ट सहित अन्य उत्पादन पनि सातै प्रदेशमा विस्तार गर्ने ग्रुपको योजना रहेको छ । देश संघीय संरचना गइसकेपछि ग्रुपले सातै प्रदेशमा इन्भेष्टपार्क बनाउने योजना बनाएको छ । हालसम्म वाइवाइको नेपालमा आठ वटा र विदेशमा १२ वटा गरी २० वटा प्लान्ट संचालनमा रहेका छन् । ‘वाइवाइ युरोपमा समेत उत्पादन भएर सातै महादेशमा विक्रि वितरण भइरहेको छ,’ जनरल म्यानेजर पौडलले थपे । विश्व नुडल्स बजारमा वाइवाइले ३ प्रतिशत हिस्सा ओगटेको छ भने भारतीय बजारमा दोस्रो स्थान वाइवाइको रहेको छ ।