प्रस्तावित गण्डकी विश्वविद्यालय स्थापनाका लागि रु १० करोड विनियोजन
काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गरेकाे हो । उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै आएका छन् । मुख्यमन्त्री गुरुङले विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने जानकारी दिँदै भने, “विश्वविद्यालय स्थापनाका लागि रु आठ अर्ब बजेट अनुमान गरिएको छ । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारीमा छाैं ।” विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा. डा. गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ । शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुने खबरले स्थानीयवासी खुशी भएका छन् । उक्त नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुशीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार एकाइका उपाध्यक्ष एवं स्थानीयवासी सुजित हिराचनले बेलचौतारामा स्थापना हुने विश्वविद्यालयका बजेट विनियोजन हुनु खुशीको कुरा रहेको बताउँदै भने, “सरकारको निर्णय सकारात्मक छ, यसले समग्र शुक्लागण्डकी क्षेत्रकै विकासमा टेवा पुर्याउने विश्वास लिएका छाैं।” शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका तीर्थराज खनालले शुक्लागण्डकीमा विश्वविद्यालय बन्नु समग्र तनहुँबासीकै हितमा हुने बताएका हुन् । दु्रत विषादी परीक्षण केन्द्रको स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेषण परीक्षण केन्द्रलाई स्तरोन्नति गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ काे बजेटमा प्रदेशको प्रवेश नाका आँबुखैरेनी र स्याङ्जामा स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालालाई स्तरोन्नति गरिने उल्लेख छ । दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई प्रयोगशालाको रुपमा स्तरोन्नति गरी एकीकृत खाद्य, कृषि तथा पशुपक्षीजन्य उपजको गुणस्तर चेकपोष्टको रुपमा विकास गर्न बजेट विनियोजन भएको उल्लेख गरिएको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रयोगाशाला स्थापना गरेको थियो । हाल सञ्चालन भइरहेको केन्द्रबाट प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गरिएको छ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइनेछ । प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिएको छ । प्रयोगशालामा शाखा अधिकृत, प्राविधिक सहायक, नायब प्राविधिक सहायकलगायत गरी सात जना कर्मचारीको दरबन्दी छ । यसैगरी, तनहुँ जिल्लाको दक्षिणी भेगमा विद्युत् विस्तार कार्यका लागि तनहुँ हाइड्रोसँग समन्वय गरिने, तनहुँको शुक्लागण्डकी र भिमादलाई स्याटलाइट सिटीको रुपमा विकास गरिने र मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि तनहुँमा चिस्यान केन्द्र निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । रासस
विश्वकप छनोटको एशिया फाइनलका लागि खेलाडी छनाेट, काे काे भए ?
काठमाडाैं । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि मंगलबार प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् । त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । रासस
गुठी विधेयकबारे संसदमा बोल्न पाएनन् प्रधानमन्त्री, पत्रकार सम्मेलनमार्फत भनाई सार्वजनिक गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भनेका छन्, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।” प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बुझिएको छ ।
साइबर अपराधको घटनामा वृद्धि, २० देखि ३० वर्ष उमेरका युवा धेरै
काठमाडाैं । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा चिट्ठा पर्यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको जानकारी दिएका छन् । “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ”, उनले भने । महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० देखि २० वर्ष उमेर समूहका २२ दशमलव शून्य पाँच प्रतिशत, २० देखि ३० वर्ष उमेर समूहका ३९ दशमलव ९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९ दशमलव ९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका सात दशमलव ९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् । अपराध महाशाखाअन्तर्गत साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लीलाराज डाँगीले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताएका छन् । “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ”, उनले भने । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको मुद्दामा ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ । महाशाखाले साइबर अपराधमा एक हजार ५७० उजुरी दर्ता भए पनि ६७ जनाविरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत ४२, ह्याकिङ गर्ने आठ, जथाभावी एसएमएस गर्ने नौ, युट्युब जे पायो त्यही पोष्ट गर्ने तीन, नक्कली कम्पनी बनाएर अरूको आर्थिक खातामा जालसाजी गर्ने पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै आव २०७३/०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकामा २६ जनाविरुद्ध मुद्दा चलेको छ भने आव २०७४/०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकामा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको उनले बताए । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने व्यवस्था छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । नेपाल प्रहरीले पछिंल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताएका छन् । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ । स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसके पनि केही घटनाको भने अनुसन्धान गर्दै आएको ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले जानकारी दिए । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास प्रहरी प्रधान कार्यालयको छ । रासस
निरजले अस्विकार गरेपछि आशा राणालाई फेरि निमित्तको जिम्मेवारी, अब को आउला सनराइजमा ?
काठमाडौँ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले पद भार ग्रहण गर्न अस्विकार गरेपछि सनराइज बैंकले आशा राणालाई फेरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकबाट निरजकुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिृकत(सिइओ) पदमा नियुक्त गरेको थियो । असार २ गतेदेखि लागु हुने गरी नियुक्त भएका उनले सोमबार नै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, श्रेष्ठले विषेश परिस्थितिका कारण कार्यभार सम्हाल्ने मिति पछि सार्न अनुरोध गरेका थिए । उनले सञ्चालक समितिबाट सर्वसम्मत निर्णय गराउँदा आफुलाई काम गर्न सहज हुने सन्देश पठाएको श्रोतले बतायो । श्रोष्ठले जिम्मेवारी सम्हाल्न आनाकानी गरेपछि बैंकले पुनः राणालाई नै निमित्त सिइओका रुपमा निरन्तरता दिइएको कम्पनी सचिव इश्वरकुमार पाठकले जनाएका छन् । कम्पनी सचिव पाठकले मंगलबार नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेख्दै राणालाई निमित्तको जिम्मेवारी दिएको जानकारी गराएको हो । बैंकले यस अघि बैशाख ३१ गतेको पत्र मार्फत राणालाई दिइएको अख्तियारी तथा जिम्मेवारी सिइओले बैंकमा हाजिर भई कार्यभार नसम्हाल्दासम्मका लागि निरन्तरता दिइएको जनाएको हो ।
घरमै चप्पल उद्योग सञ्चालन,मासिक रु ४५ हजारभन्दा बढी कमाइ
काठमाडाैं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थालेका छन् । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ । “उद्योगबाट घरमै राम्रो आम्दानी गर्न शुरु गरेको छु”, उनले भने, “आफन्तबाट टाढिएर विदेशमा पुगेर कमाउनुभन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द हुँदोरहेछ ।”“अहिले वास्तविक कमाइको अनुभूति भएको छ”, विश्वकर्माले भने, “उद्योगबाट उत्पादित चप्पल दिक्तेल बजार लगायत अन्य बजारमा बिक्रीका लागि पठाउने गरेको छु ।” छ महिना ‘ग्यारेण्टी’ भएको समृद्धि बहुआयामिक उद्योग नामको चप्पलरु ९० देखि रु १५० सम्म थोक मूल्यमा बिक्री गर्ने गरिएको उनले बताए । जिल्लाकै पर्यटकीयस्थल ‘रुपाकोट’, ऐतिहासिकस्थल ‘दिक्तेल’ र ‘साथी’ नामको ‘ब्राण्ड’ दिइएको चप्पल बजारमा पाइने अन्य चप्पलभन्दा सस्तो छ । आफूले उत्पादन गरेको चप्पल अन्य पालिकाहरुमा समेत पठाउने तयारी गरिएको विश्वकर्माले जानकारी दिएका छन् । करिब तीन महिनाअघि शुरु गरिएको उद्योगबाट अहिले दैनिक १५० जोरभन्दा बढी चप्पल उत्पादन हुने गरेको जनाइएको छ । विश्वकर्माका भाइ गङ्गाबहादुर विश्वकर्मासँगको सहकार्यमा रु पाँच लाख लगानी गरेर सञ्चालन गरिएको चप्पल उद्योग गतआइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए । नगरप्रमुख रिजालले विश्वकर्माको मिहेनतले अरूलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विश्वकर्मा दाजुभाइले आफ्नै क्षेत्रमा उद्योग सञ्चालन गरेर नगरपालिकामा उदाहरणीय व्यक्ति बनेका छन्, उनले भने,“औद्योगिक क्षेत्रको विस्तार नै नगर समृद्धिको पूर्वाधार भएकाले नगरपालिकाका तर्फबाट सकेको सहयोग हुनेछ ।” विश्वकर्माको चप्पल उद्योगलाई नमूना उद्योगका रुपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष उपिनकुमार राईले बताए । यसका लागि नगरपालिका लगायतले सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् । रासस
वल्र्ड मर्चेन्टको साधारण सभा असार २१ मा, सञ्चालक समितिलाई मर्जरको अख्तियारी
काठमाडौँ । हेटौँडामा प्रधान कार्यालय रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १६ औं र १७ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ । हेटौंडाको मोटेल एभोकाडो होटलमा बिहान ११ बजे साधारण सभा हुने निमित्त पू्रमुख कार्यकारी अधिृकत तथा कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् । साधारण सभामा संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने(मर्जर) तथा विलय(एक्वीजिसन) को लागि डीडीए गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव गरिने कम्पनी सचिव थापाले जनाएका छन् । साथै साधारण सभामा कम्पनीको नाम परिवर्तन र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश गरिने छ । साधारण सभा प्रयोजनको लागि असार १४ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने र असार १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न पाउने जनाइएको छ ।
बागलुङमा कृषकले पाए यान्त्रिक हलो
काठमाडाैं । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो । वडाले साविकको अमलाचौर गाविसका नौ वडामा कृषक समूह बनाएर हलो वितरण गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताएका छन् । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ । गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वडाध्यक्ष पाठकले बताउँछन् । एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिन यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिन्छ । हलोसँगै वडा कार्यालयले त्यसको प्रयोगको विषयमा प्राविधिक बोलाएर जानकारी समेत गराएक छन् । रासस