विकासन्युज

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात व्यवसायीलाई नियमित सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं । बाढी र पहिरोका कारण विगत १८ दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको देशकै प्रमुख राजमार्ग सडक विभागको लगातारको प्रयासपछि सञ्चालनमा आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक सूचना जारी गर्दै असोज १ गते बिहान ६ः०० बजेदेखि दुवैतर्फ सबै प्रकारका सवारी साधनहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।  गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीले त्रिशुली नदी किनारका सडक कटान गरेको थियो । त्यसलगत्तै भदौ १४ गते कृष्णभिर, परेवा भिर लगायतका धेरै स्थानमा बाढी र पहिरोले बाटो बन्द हुँदा पूर्व मेचीदेखि पश्चिम महाकाली तथा छिमेकी राष्ट्र भारतसम्म जाने सवारी साधनहरूको आवतजावत ठप्प भएको थियो ।  लामो समयसम्म मुख्य राजमार्ग बन्द रहँदा यातायात व्यवसायीहरूले करोडौंको घाटा व्यहोर्नुका साथै आम यात्रु वर्गले ठुलो सास्ती खेप्नुपरेको थियो ।  महासंघले कृष्णभिरको पहिरो पन्छाई सडक नियमित गराउन र वैकल्पिक बाटोको व्यवस्था मिलाउन सम्बद्ध निकायमा पटक-पटक पहल गरे पनि लामा सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।  सडक विभागले रातदिन खटिएर १८ दिनको कठिन प्रयासपछि दुवैतर्फको बाटो खुलाउन सफलता प्राप्त गरेको छ । राजमार्ग पुनः सञ्चालनमा आएसँगै महासंघले जारी सूचनामा सडक खुलाउन अहोरात्र खटिने सडक विभाग, सामाजिक संघ-संस्था तथा स्थानीय निकायहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, महासंघले सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई भोलि बिहानैदेखि नियमित सेवा सञ्चालन गर्न समेत आग्रह गरेको छ । 

नबिल एसएसई फेलोसिपको सातौं समूहका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो । इच्छुकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा छनोट हुने सहभागीले कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ । बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई विशेष रूपमा आवेदन दिन प्रोत्साहन गरिएको छ । कार्यक्रममार्फत दिगो उद्यम, रोजगारी सिर्जना तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने उद्यमीको क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यमीलाई आवश्यक ज्ञान, सीप, सञ्जाल र उद्यमशीलता प्रणालीसँग जोड्ने काम भइरहेको बताए । उनका अनुसार कार्यक्रमको उद्देश्य प्रतिबद्ध उद्यमीको पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै दिगो उद्यम निर्माण र समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउनु हो । बैंकका अनुसार नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिइसकेका छन् । तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ । फेलोसिप कार्यक्रमका ६ समूहबाट हालसम्म ११३ जना प्रशिक्षित भएका छन् । तीमध्ये ९३ वटा फेलोको नेतृत्वमा उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएका छन् । सन् २०२१ मा सुरु भएको नबिल एसएसई फेलोसिपले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचको अवसर प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप कार्यक्रम ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई आफ्नो उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता विकासमा सहयोग गर्ने बैंकले जनाएको छ । त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । यसमा विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमी सहभागी हुन सक्नेछन् । यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुनेछ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुलबाट कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ । कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक, नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट लिन सकिनेछ ।

नेपाललाई राहत र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री शाहले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन् । उनले जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव कम गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताए । भेटका क्रममा नेपालको पर्यटन क्षेत्रको सम्भावना र विकासबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताउँदै नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन् । कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् । उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन् ।

चांगान निभो क्यू०५ लगातार पाँचौँ महिना चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी

काठमाडौं । चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोडलको स्थान कायम गरेको छ । योसँगै निभो क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्ष स्थानमा रहन सफल भएको छ । केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निभो क्यू०५ ले नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ पाएको थियो । नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएसँगै यसको डेलिभरी पनि केही दिनभित्रै सुरु हुने कम्पनीले जनाएको छ । चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा निभो क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन् । अप्रिलदेखि अगस्ट २०२६ सम्म लगातार कम्प्याक्ट एसयूभी सेग्मेन्टको शीर्ष स्थानमा रहँदै आएको क्यू०५ को पाँच महिनाको कुल बिक्री ८६ हजार ८९६ युनिट पुगेको छ । क्यू०५ ले अप्रिलमा १५ हजार ८१४ युनिट बिक्री गर्दै पहिलोपटक सेग्मेन्टको शीर्ष स्थान हासिल गरेको थियो । मेमा १५ हजार ९५४, जुनमा १८ हजार ९०८ र जुलाईमा १८ हजार ८७१ युनिट बिक्री गरेको थियो । अगस्टमा बिक्री केही घटेर १७ हजार ३४९ युनिट पुगे पनि क्यू०५ ले आफ्नो अग्रता कायम राखेको छ । अगस्टको बिक्रीमा टोयोटा कोरोला क्रस १४ हजार ६७५ युनिटसहित दोस्रो स्थानमा रह्यो । जिली बोयुए एलले १४ हजार ३०२, टोयोटा आरएभी४ ले १४ हजार ६२, बीवाईडी सङ प्रो न्यू इनर्जीले १३ हजार ९५४ र जिली सिङयुए एलले १३ हजार २८७ युनिट बिक्री गरेका छन् । यसअनुसार अगस्टमा क्यू०५ ले दोस्रो स्थानमा रहेको टोयोटा कोरोला क्रसलाई २ हजार ६७४ युनिटले पछि पारेको छ । क्यू०५ को निरन्तर बिक्रीको मुख्य आधारमा यसको स्पेस, आराम, प्रविधि र मूल्यको संयोजनलाई लिइएको छ । २ हजार ७३५ मिलिमिटर ह्विलबेस रहेको यसमा फराकिलो क्याबिन, ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता तथा विभिन्न भण्डारण सुविधा उपलब्ध छन् । त्यस्तै, सीएटीएल ब्याट्री सेल र ३सी फास्ट चार्जिङ प्रविधिले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने जनाइएको छ । आधुनिक डिजाइन, स्मार्ट सुविधा र प्रिमियम इन्टेरियरका कारण निभो क्यू०५ युवा तथा प्रविधिप्रेमी ग्राहकका लागि लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ । चीनमा लगातार पाँच महिनासम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शीर्ष स्थानमा रहनुले यसको बजार प्रदर्शनलाई थप बलियो बनाएको कम्पनीको दाबी छ ।

चिनियाँ प्रतिष्ठित अनुसन्धान अनुदान वैज्ञानिक डा. पाठकलाई

काठमाडौं । नेपाली वैज्ञानिक प्राध्यापक डा. जनकलाल पाठकले चीनको प्रतिष्ठित अनुसन्धान संस्था चाइना नेशनल नेचुरल साइन्स फाउन्डेसन (एनएसएफसी) को ‘अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिक अनुदान २०२६’ प्राप्त गरेका छन् । चीनभरको चिकित्सा क्षेत्रमा यस वर्ष पाँच जना विदेशी विशेषज्ञलाई मात्र प्रदान गरिएको उक्त प्रतिस्पर्धात्मक अनुदान डा. पाठकले प्राप्त गरेका हुन् ।  यसले उनको अनुसन्धान क्षमता, शैक्षिक उपलब्धि र प्रस्तावित अनुसन्धानको वैज्ञानिक महत्त्वलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।  हाल ग्वाङझाउ मेडिकल युनिभर्सिटीअन्तर्गत स्टोमेटोलोजी स्कूल तथा अस्पतालमा प्राध्यापक र पीएचडी सुपरभाइजरका रूपमा कार्यरत डा. पाठकले मुखगुहा तथा हड्डीको ऊतक पुनःनिर्माणका लागि स्टेम सेलबाट अर्गानोइड तथा अस्सेम्ब्लोइड विकास गर्ने विषयमा अनुसन्धान गर्नेछन् । परियोजनाका लागि करिब १६ लाख चिनियाँ युआन (करिब ३ करोड रुपैयाँ) अनुदान उपलब्ध हुनेछ । दन्त तथा मुखगुहा पुनर्जनन चिकित्सा, हड्डी तथा कंकाल जीवविज्ञान, गिजाको रोग, बायोमटेरियल तथा स्टेम सेलमा आधारित ऊतक पुनःनिर्माण उनको अनुसन्धानका प्रमुख क्षेत्र हुन् ।  डा. पाठकका १६० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् भने ती लेख करिब ५ हजार ५ सय पटक उद्धृत भएका छन् । उनी सन् २०२४ र २०२५ मा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा समेत परेका थिए ।  यसअघि उनले चीनको ‘राष्ट्रिय उत्कृष्ट विदेशी युवा प्रतिभा पुरस्कार’ र ‘नानसान प्रतिष्ठित विद्वान’ उपाधि प्राप्त गरिसकेका छन् ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसदमा पेश गर्न नेकपाको माग

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पर्शुराम तामाङले नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसदमा पेस हुने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बुधवार (आज) बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद तामाङले समितिमा उठेका तर निर्णयमा समेटिन नसकेका आफ्ना फरक धारणालाई औपचारिक रूपमा अभिलेख गर्ने बाटो खुलाउनुपर्ने बताएका हुन् ।  उनले विशेषगरी राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसदमा पेश हुनुपर्ने विषयमा आफ्नो असहमति रहेको बताए । राष्ट्र बैंकजस्तो नियामक निकाय जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसदप्रति पनि जवाफदेही हुनुपर्ने उनको तर्क छ ।  तामाङले एकातिर राष्ट्र बैंकको स्वायत्तताको पक्षमा जोड दिइएको तर अर्कोतिर नेपाल सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था पुनःस्थापित गरिएको विषयमा समेत प्रश्न उठाए ।  उनले समितिमा छलफलका क्रममा आफूले उठाएका दुई विषयलाई विशेष रूपमा अभिलेख गर्नुपर्ने बताए ।  पहिलो, राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस हुनुपर्ने र दोस्रो, गभर्नर, डेपुटी गभर्नर तथा तीन जना विज्ञ सम्मिलित मौद्रिक नीति समिति गठन गर्नुपर्ने विषय रहेको उनले उल्लेख गरे । उनले भने, ‘संसद भनेको सार्वभौम जनताको प्रतिनिधि संस्था हो । त्यसैको अंगका रूपमा अर्थ समिति भएको हुनाले राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा लैजानुपर्छ भन्ने मेरो राय हो । यो समितिमा यो कुरा उठेको थियो भन्ने कुरा फुल हाउसले पनि थाहा पाउनुपर्‍यो र देशका जनताले पनि थाहा पाउनुपर्‍यो ।’ तामाङका अनुसार यी विषय समितिमा छलफलमा आएको भए पनि समितिको निर्णयमा समावेश हुन सकेनन् । त्यसैले ती विषयमा आफूहरूको फरक धारणा रहेको कुरा समितिको प्रतिवेदनमार्फत संसद् र आम जनतासम्म जानकारी हुनुपर्ने उनको भनाइ छ ।  समितिको निर्णयप्रति आफूले अवरोध सिर्जना गर्न नखोजेको स्पष्ट पार्दै तामाङले समितिले गरेको निर्णयलाई सम्मान गर्ने तर छलफलमा उठेका फरक मतहरू पनि अभिलेखमा रहने व्यवस्था गर्नुपर्ने बताए ।   

राष्ट्र बैंक विधेयकमा मौद्रिक नीति निर्माण समिति थप्न कांग्रेस सांसद केरुङको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदनमा मौद्रिक नीति निर्माण गर्ने समितिको व्यवस्था थप्न सुझाव दिएका छन् । बुधवार (आज) बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलका क्रममा सांसद केरुङले मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति गठन गर्नु उपयुक्त हुने बताएका हुन् । उनले विधेयकका विभिन्न दफामा दफावार छलफलका क्रममा आफूहरू गहन रूपमा सहभागी भएको र छलफलका क्रममा सदस्यहरूले आफ्ना धारणा राख्दै समितिलाई सर्वसम्मत निर्णयमा पुग्न सहज बनाएको बताए । गभर्नरलगायत पदाधिकारीको पदावधिका विषयमा आफूहरूको फरक धारणा भएपनि समितिको निर्णय प्रक्रियामा त्यसले बाधा नपार्ने धारणा यसअघि नै राखिएको र त्यो अहिले पनि कायम रहेको उनले स्पष्ट पारे । सांसद पुष्पराज कँडेल र परशुराम तामाङले पदावधिका विषयमा आफ्नो फरक मतलाई कसरी अभिलेख गर्ने भन्ने विषय उठाएको उल्लेख गर्दै केरुङले आफू पनि सोही विषयमा सहमत रहेको बताए ।  तर समितिले सर्वसम्मत रूपमा गरेका निर्णयमा भने आफ्नो फरक धारणाले बाधा नपरोस् भन्ने स्पष्ट पारे । केरुङले मौद्रिक नीति निर्माण गर्ने समितिको विषयमा यसअघि पर्याप्त अध्ययन गर्न नसकेको भए पनि छलफलका क्रममा यसको आवश्यकता महसुस भएको बताए । समितिको प्रतिवेदन सर्वसम्मत रूपमा तयार भइसकेपछि त्यसमा नयाँ विषय थप्न मिल्ने वा नमिल्ने विषयमा पनि केरुङले प्रश्न उठाए ।  दफावार छलफल र प्रतिवेदनमाथिको छलफल दुवैमा समितिका सदस्यहरू नै सहभागी हुने भएकाले सान्दर्भिक देखिएमा मौद्रिक नीति निर्माण समितिको व्यवस्था थप गर्न सकिने उनले बताए । उनले विधेयकको प्रतिवेदन तयार पार्ने क्रममा समितिले लोकतान्त्रिक प्रक्रियाबाट दफा तथा उपदफामा गहन छलफल गरेको भन्दै अर्थ समितिका सभापति र सदस्यहरूप्रति आभार व्यक्त गरे ।  राष्ट्र बैंक ऐन संशोधन विधेयकको अन्तिम प्रतिवेदन सदनमा पठाउने चरणमा पुगेको उल्लेख गर्दै उनले समितिको काम पूरा हुन लागेको अनुभूति भएको बताए ।