काठमाडौं । नेपाली वैज्ञानिक प्राध्यापक डा। जनक लाल पाठकले चीनको प्रतिष्ठित अनुसन्धान संस्था चाइना नेशनल नेचुरल साइन्स फाउन्डेसन (एनएसएफसी) को ' अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिक अनुदान २०२६ 'प्राप्त गरेका छन्।
चीनभरको चिकित्सा क्षेत्रमा यस वर्ष पाँच जना विदेशी विशेषज्ञलाई मात्र प्रदान गरिएको उक्त प्रतिस्पर्धात्मक अनुदान डा. पाठकले प्राप्त गरेका हुन्। यसले उनको अनुसन्धान क्षमता, शैक्षिक उपलब्धि र प्रस्तावित अनुसन्धानको वैज्ञानिक महत्वलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।
हाल ग्वाङझाउ मेडिकल युनिभर्सिटीअन्तर्गत स्टोमेटोलोजी स्कूल तथा अस्पतालमा प्राध्यापक र पीएचडी सुपरभाइजरका रूपमा कार्यरत डा. पाठकले मुखगुहा तथा हड्डीको ऊतक पुनर्निर्माणका लागि स्टेम सेलबाट अर्गानोइड तथा अस्सेम्ब्लोइड विकास गर्ने विषयमा अनुसन्धान गर्नेछन्।
परियोजनाका लागि करिब १६ लाख चिनियाँ युआन ( करिब ३ करोड रुपैयाँ) अनुदान उपलब्ध हुनेछ।
दन्त तथा मुखगुहा पुनर्जनन चिकित्सा, हड्डी तथा कंकाल जीवविज्ञान, गिजाको रोग, बायोमटेरियल तथा स्टेम सेलमा आधारित ऊतक पुनर्निर्माण उनको अनुसन्धानका प्रमुख क्षेत्र हुन्। डा. पाठकका १६० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् भने ती लेख करिब ५ हजार ५ सय पटक उद्धृत भएका छन्।
उनी सन् २०२४ र २०२५ मा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा समेत परेका थिए। यसअघि उनले चीनको ‘राष्ट्रिय उत्कृष्ट विदेशी युवा प्रतिभा पुरस्कार’ र ‘नानसान प्रतिष्ठित विद्वान’ उपाधि प्राप्त गरिसकेका छन्।
नेपाली वैज्ञानिकले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अनुदानले विश्व अनुसन्धान क्षेत्रमा नेपाली प्रतिभाको उपस्थितिलाई थप बलियो बनाएको छ।