विकासन्युज

कृषि विकास बैंकमा सुरु भयो साताव्यापी ‘केवाईसी सचेतना सप्ताह’

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै साताव्यापी ‘ग्राहक पहिचान (केवाईसी) सचेतना सप्ताह’ सुरु गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने नाराका साथ बैंकले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म केवाईसी सचेतना सप्ताह सञ्चालन गर्ने भएको हो । अभियानको शुभारम्भ बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति थियो भने उपत्यकाबाहिरका शाखा प्रबन्धकहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ प्रणालीमा ग्राहक पहिचान विवरणको महत्वपूर्ण भूमिका रहने बताए । उनले केवाईसी विवरण समयमै अद्यावधिक गर्दा बैंकिङ प्रणालीलाई थप पारदर्शी बनाउन सहयोग पुग्नुका साथै ग्राहक पनि सम्भावित वित्तीय जोखिम तथा ठगीबाट सुरक्षित हुने बताए । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गरिएको अभियानअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई नजिकको शाखामा पुगेर केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले अभियान अवधिभर ग्राहकलाई सुरक्षित बैंकिङ अभ्यास अपनाउन र आफ्नो व्यक्तिगत विवरण समयमै अद्यावधिक गर्नसमेत अनुरोध गरेको छ ।

कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् । बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, बजार तथा बिक्री विभागका प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका प्रमुख अजय रिमालको पनि उपस्थिति थियो । यसअघि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकेको छ । त्यस्तै, बाढी प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्रीसमेत प्रत्यक्ष रूपमा वितरण गरिसकेको बैंकले जनाएको छ । प्राकृतिक विपद्को कठिन समयमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंक संस्थागत तथा कर्मचारी व्यक्तिगत रूपमा निरन्तर सहयोगमा जुटेको जनाएको छ ।

कुमारी बैंकले सेयरधनीलाई २.१० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गराएर सेयरधनीलाई चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । उक्त नगद लाभांशमा लाभांश करसमेत समावेश हुनेछ । बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशअनुसार बैंकले करिब ५५ करोड २२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बैंकले यसपटक बोनस सेयर प्रस्ताव गरेको छैन । लाभांश वितरणका लागि सेयर दाखिल खारेज बन्द हुने मिति (बुक क्लोज) र वार्षिक साधारणसभाको मिति भने हाल तय गरिएको छैन । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ ।

भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने अमेरिकी तयारी

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स रूसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने तयारीमा पुगेको छ । प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार दिनेछ । ती देशमध्ये छिमेकी मुलुक भारत पनि समावेश छ । ‘लिन्डसे ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको उक्त विधेयक यसअघि नै अमेरिकी सिनेटबाट भारी बहुमतले पारित भइसकेको छ । विधेयकमा गरिएको संशोधनमार्फत रूससँग व्यापार गर्ने देशमाथि थप १०० प्रतिशत शुल्क लगाउन सकिने मुलुकको सूचीमा भारतलाई स्पष्ट रूपमा समावेश गर्न प्रस्ताव गरिएको छ । विधेयकमाथि बिहीबार मतदान हुने अपेक्षा गरिएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि विधेयक पारित हुने सम्भावना रहेको बताइएको छ ।

माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्रलाल श्रेष्ठ पुनर्नियुक्त

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रविन्द्रलाल श्रेष्ठ पुनर्नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको २३०औँ बैठकले श्रेष्ठलाई पुनः अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो । कम्पनीका अनुसार सञ्चालक समितिको निर्णयबमोजिम श्रेष्ठले अध्यक्षको जिम्मेवारी पुनः सम्हाल्नेछन् ।    श्रेष्ठले व्यवस्थापन विषयमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कर्जा असुली तथा ऋण पुनर्संरचना विभागको प्रमुखका रूपमा काम गरेका थिए । उनी वि.सं. २०७४ देखि २०७६ सम्म राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकसमेत रहेका थिए । उनले औद्योगिक कर्जा विभागमा कर्जा अधिकृतका रूपमा पाँच वर्ष काम गरेका थिए । त्यसपछि सन् २०११ जनवरीदेखि २०१३ जुलाईसम्म सामाजिक विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत रहे । वि.सं. २०७१ वैशाखमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बैंक तथा वित्तीय विज्ञका रूपमा नियुक्त भएका थिए र वि.सं. २०७३ असोजसम्म उक्त जिम्मेवारीमा रहे । 

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बुधबार (आज) अपरान्ह ४ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक  आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।  

भोटेकोशी बाढी : हालसम्म १ हजार ४०३ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला परेको हो ।  साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।  साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।  हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ ।

गुडविल फाइनान्सको सञ्चालकमा अमित स्थापित नियुक्त

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको सञ्चालकमा अमित स्थापित नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको ४६४औँ बैठकले स्थापितलाई सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो । काठमाडौं महानगरपालिका–२४, मखनटोल निवासी ४७ वर्षीय अमित स्थापित लाई प्रचलित कानुनबमोजिम तोकिएको अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गुडविल फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो ।