विकासन्युज

आत्मनिर्भर बन्दै धरानका नर्सरी, वार्षिक तीन करोडको फूल बिक्री

धरान । केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् । धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दु खोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् । धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी वस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चारबोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् । सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तवाको घर फूल र बोट बिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोप्नुभएकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाएकी छिन् । सौखले फूल र बिरुवा रोप्न थालेकी उनी ती फूलहरुलाई आफ्नै सन्तान झैँ स्याहार्नु गछिन् । शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा उनमा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उनी आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थालिन् । ‘फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले’, उनी भन्छिन्, ‘फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।’ सुरुमा सोखका रुपमा फूल रोपेकी शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उनको मन दुख्यो । उनी भन्छिन्, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्व दिँदा रहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’ फूल बेचेको पैसालाई उनले फूल र बिरुवामै लगानी गर्दै गइन् । यसो गर्दागर्दै उनी फूलको सौखिनबाट व्यवसायी बनिन् । २०७२ सालबाट त उनले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थालिन् । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपैयाँको बिरुवा बेचेको उनी बताउँछिन् । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहेकी छिन् । उनी भन्छिन्, ‘पहिला सौखका रुपमा रोपेका फूलले अहिले राम्रो आम्दानी भएको छ । नर्सरीमा आएर मात्र होइन, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेकी छु । धेरै धरानेलीहरु म जस्तै फूलका सौखिन छन् ।’ धरानका युवा चित्रकार युमेनहाङ राई पनि पहिलादेखि नै फूलका सौखिन थिए । फूल सङ्कलन गर्दा गर्दै अहिले उनले पनि अहिले धरान–२० मा एभरेष्ट नर्सरी खोलेका छन् । कोरोना महामारीले धेरैको व्यापार व्यवसाय चौपट भएकाबेला उनले चाहिँ आफूले सङ्कलन गरेका फूलहरुलाई नर्सरीको रुप दिए । अहिले उनको नर्सरीमा सय रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म मूल्यका फूल तथा बिरुवा किन्न पाइन्छ । उनी भन्छन्, ‘धरानमा घरघरमै फूलको बगैँचा छभन्दा हुन्छ । यो बगैँचाको सहर हो ।’ धरानमा सौखले फूल रोप्ने त धेरै झन्, सौखबाटै व्यवसायी बन्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । धरान–१९ का विश्व लिम्बू अफ्रिकी सजावटका फूल सङ्कलन गर्दागर्दै व्यवसायी बनेका छन् । छ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका उनी विदेशबाट पनि सजावटका बिरुवाहरु मगाउने र आफैँ पनि उत्पादन गरेर बिक्री गरिरहेको बताउँछन् । धरान–८ का गौरव लिम्बुले पनि भर्खरै वनेम नर्सरी खोलेर विक्री वितरण गरिरहेका छन् । धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामिप्यताकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेर समेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको शहर जस्तो देखिन्छ । धरानबासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको शहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो । उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फुलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उनको भनाइ छ । उनी भन्छन्,  ‘फूलबाट औषधीहरु पनि बन्छन्, सबैतिर फाइदैफाइदा छ, त्यसैले धरानलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने योजना ल्याइएको थियो ।’ धरानका नगरप्रमुख हर्कराज राईले पनि धरानलाई फूलैफूलको सहर बनाउने भन्दै वृक्षरोपण अभियानलाई निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘यसपटक हामीले सडकको छेउ र खोलाका किनारमा रोपेका फूल धमाधम फुलिरहेका छन् । यसले पर्यटक पनि आकर्षण गर्छ । फूल र बोटबिरुवा धरानको चिनारी बनाउने अभियान छ हाम्रो ।’ करोडौँको कारोबार  धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाईनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ । बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउँछन् । उनी भन्छन्, ‘धरानका पाँच ६ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुलेपनि दिनमा कम्तिमा पाँचदेखि आठ हजार रुपैयाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।’ धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउँछिन् । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन, धेरैलाई रोजगारीसमेत दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् । व्यवसायीको गुनासो  फूल र बोटबिरुवा रोप्दा एकातिर वातावरणका लागि फाइदा छ भने अर्कातिर व्यावसायिकरुपमा पनि यो व्यवसाय राम्रो बनिरहेको छ । तर, यसमा लागेका व्यवसायीहरु बाहिरबाट फूल ल्याएर बिक्री गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताउँछन् । व्यवसायी युमेनहाङ राई नर्सरीहरुलाई व्यवसायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि समस्या भएको बताउँछन् । यसलाई कृषि उत्पादनका रुपमा सरकारले सहयोग गर्नुपर्ने उनको धारणा छ । फूल र बिरुवा उत्पादकहरुलाई सरकारी सहयोग पाउन पनि अप्ठ्यारो मापदण्डका कारण कठिनाइ भएको उनको भनाइ छ । फूल व्यवसायी शिवमाया बान्तवा पनि फूलको खेती र व्यवसाय गर्ने भन्दा राजनीतिक प्रभाव राख्नसक्नेले अनुदान पाउने गरेको तर वास्तविक फूल व्यवसायी मारमा परेको बताउनुहुन्छ । सरकारी निकायले वास्तविक फूल किसान र व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको धारणा छ । अर्का व्यवसायी प्रेमप्रसाद पराजुली फूलबाट सबैलाई फाइदैफाइदा देख्नछन् । उनी भन्छन्, ‘फूलखेती र व्यवसायले सहर पनि सुन्दर देखिन्छ, व्यापार पनि राम्रो हुन्छ । यसलाई सरकारले प्रोत्साहन गर्ने हो भने पर्यटनको विकासमा पनि ठूलो योगदान पुग्न सक्छ ।’ रासस

निर्धारण भयो अपर तामाकोशीको कटअफ मूल्य, कति ?

काठमाडौं । लिलाममा बिक्री गरिएको अपर तामाकोशी हाइड्रोपावरको कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएकाे छ । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १४६ रुपैयाँ कायम भएको हो । कम्पनीले बिक्रीमा राखेको हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएको एक करोड ७० लाख कित्ता बढी सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमा आवेदकहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम २०० रुपैयाँसम्म हालेका थिए । कटअफ प्राइस प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । जसमा ३० हजारबढी आवेदकले आवेदन दिएका थिए । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल थिए ।

जनतालाई सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य हो : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल-भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच-आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’ खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’ एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’

एलडिसीबाट ग्राजुएसन पछि नेपाल-इयूको व्यापार कस्तो होला ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति पछि नेपाल र इयूको ब्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष इयूले गर्दै आएको सहयोगका लागि धन्यबाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र इयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ । इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छिन् । इयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरेकी छिन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।

पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । ‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा भएको उल्लिखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको देखिएन’, आदेशमा भनिएको छ, ‘रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निज लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी रुपमा नियुक्ति गर्ने गरी कोष परिषद्ले २०८०/९/४ मा गरेको निर्णय र सो निर्णयबमोजिम मिति २०८०/९/५ मा दिएको नियुक्तिपत्र कार्यान्वयन नगर्नु नगराउनु ।’ कोषका कार्यकारी निर्देशकको योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको उल्लेख गर्दै भरत मरासिनीले गत पुस २६ गते कार्यकारी निर्देशक पुनविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए। कार्यकारी निर्देशकको पदमा नियुक्ति हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कोषको सेवामा सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्था वा प्रचलित कानुनबमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको कम्तीमा अधिकृत द्वितीय श्रेणी सरहको पदमा कम्तीमा १५ वर्षको अनुभव गरेको हुनुपर्ने छ । त्यस्तै, मान्यता प्राप्त शिक्षा संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी कोषको सेवा वा सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा २० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।अदालतले कोषका कार्यकारी निर्देशक पुनमा तोकिएको योग्यता र अनुभव नभएको उल्लेख गर्दै कामकाज नगर्न अन्तरिम आदेश गरेको छ । रासस

एनआईसी एशिया लघुवित्तको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाले शनिबार र आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो । शनिबार लुम्बिनी प्रदेश सिद्धार्थ कटेज बुटवल मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक दिपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन विभाग प्रमुख सुजन ढकालको उपस्थिती रहेको थियो भने लुम्बिनी प्रदेशमा संचालक समिती को तर्फ बाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका संचालक विभोर कुमार अग्रवाल, साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थितीमा सिद्धार्थ होटेल नेपालगंजमा शनिबार सम्पन्न गरिएको थियो । कर्णाली प्रदेशमा भने आइतबार उक्त कार्यक्रम सुर्खेत को सिद्धार्थ होटेलमा संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितीमा सम्पन्न भएको थियो ।

ड्राइभिङ स्कुलबाट पास गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक—फरक बनाउन अर्थ मन्त्रालयले नदिएको आरोप लगाएका छन् । आईतबार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग यातायात क्षेत्रका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर अर्थ मन्त्रालय पठाएको भएपनि अर्थ मन्त्रालयले मर्ज गरेर एउटै बनाएर पठाइदिएको बताए । सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको बताए । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको जानकारी दिए । ‘सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर मन्त्रालयबाट पठाइयो । अर्थ मन्त्रालयबाट त्यसलाई मर्ज गरेर एउटै बनाउनुपर्छ भनेर मर्ज गरेर पठाइएको छ । चौतर्फी रुपमा सडक सुरक्षा ऐन अलग हुनुपर्छ भन्ने दबाब छ । विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक फरक छ । सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रश्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ’, उनले भने । मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरुपता ल्याउन आग्रह गरे । उनले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र इरिक्साकाको लाइसेन्स उपलब्ध गराउनेबारेमा बढी ध्यान दिन जरुरी रहेको बताए । ह्याभीवेट सवारीसाधको ट्रायल पास गरिसकेपछि पुनः इन्टरभ्यु दिनेकुराको अन्त्य गर्नुपर्ने बताए । सेटिङ मिलाएर बद्मासी हुनेकुरालाई रोक्न जरुरी रहेको जानकारी दिए । ‘सवारी करको दर भिन्न भिन्न हुँदा समस्या भएको छ । प्रदेश प्रदेशको भिन्न हुँदा धेरै समस्या आएको छ । यसमा एकरुपता ल्याउनुपर्छ । त्यसो भयो भने सेवाग्राहीलाई सजिलो हुन्छ । लुम्बिनीमा एउटा र गण्डकीमा अर्को हुँदा नराम्रो महशुस हुन्छ । अपांगता भएकालाई लाइसेन्स उपलब्ध गराउने कुरा, स्कुटर, टेम्पो र इरिक्साको लाइसेन्स उपलब्ध गराउने कुरामा बढी छलफल गरौँ । ट्रायल पास गर्ने बेलामै एक खालको सेटिङ गर्ने खालको हो । । त्यो बैलै सेटिङ गरे इन्टरभ्युमा पास हुने नत्र फेल हुने खालको समस्या छ’, उनले भने । मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रश्ताव अघि सारे ।

नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने बताएको छ । कम्पनीले यसअघि अर्थात आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।