रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आइएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंकले रवि लामिछानेको नाममा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्ट पारेको छ । बैंकले रवि लामिछानेको नाममा पत्र काट्दै लामिछानेको नाममा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको हो । पत्रमा भनिएको छ, ‘यस बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसी मार्फत् चेक क्लेरिङ मा पठाउँदा रकम अभाव को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’
सञ्चार माध्यमसँग रवि लामिछानेले मागे माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमसँग माफी मागेका छन् । सोमबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसअघि केही सञ्चार माध्यम र त्यसका नेतृत्वको विषयमा केही बढी बोलेकोले त्यस विषयमा माफी दिन आग्रह गरेका हुन् । उनले विभिन्न सञ्चार माध्यममा आफ्नो विषयमा सहकारीको विषयलाई लिएर आएका समाचार आधारहीन भएको पनि बताएका छन् । ‘मैले ग्यालेक्सी टीभी छोडेपछि खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा भएको भनेर आएको छ, यस विषयमा मलाई जानकारी छैन, मैले त्यो पैसा पाएको पनि छैन, त्यो कुनै व्यक्तिबाट किर्ते भएको हुन सक्छ,’ उनले भनेका छन्, ‘मैले विगतमा अपरिपक्वता देखाएर सञ्चार माध्यमको विषयमा केही बढी बोलेँ, त्यतिबेला केही अपरिपक्वता देखाएँ हाेला, अब परिपक्वता देखाउन प्रयास गर्दैछु, बढी बाेलेकाे भए माफी चाहन्छु ।’ यस्तै, उनले यदि आफूले सो रकम पाएको भए जुनसुकै सजाय पनि भोग्न तयार रहेको बताएका छन् । उनले आफूले बैंकबाट पनि पैसा नपाएको पत्र पाइसकेको बताउँदै विश्वसनियतामा ध्यान दिन पनि सञ्चार माध्यमलाई आग्रह गरे ।
सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो । साथै, नव नियुक्त सञ्चालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न बिशेष कार्यक्रममा बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको सञ्चालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न गरिएको छ ।
इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक किन बाहिरियो ?
काठमाडौं । सन् २०२० देखि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक बाहिरिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको सूचना अनुसार उक्त कम्पनीले हालै रेटिङ विथड्र गरेको हो । २०२० नोभेम्बरमा पहिलो पटक रेटिङ गराएको कम्पनीले हालसम्म निरन्तर उक्त एजेन्सीमा रेटिङ गराइरहेको थियो । इक्रा नेपालको तथ्यांकअनुसार यो अवधिमा कम्पनीले दुई पटकसम्म रेटिङ गराएको देखिन्छ । जसमा दुबैपटक इक्रा एनपी इस्युआर रेटिङ ए प्लस पाएको थियो । जुन हाल मात्र फिर्ता भएको छ । विथड्र गर्नको लागि कम्पनीबाट निवेदन आएसँगै उक्त रेटिङ विथड्र गरिएको कम्पनीका विश्लेषक राजिब महर्जन बताउँछन् । क्रेडिट रेटिङ विनियम २०११ अनुसार उक्त रेटिङ फिर्ता गरिएको इक्रा नेपालका विश्लेषक राजिब महर्जन बताउँछन् । ‘उहाँहरुबाट रेटिङ चाहिँदैन विथड्र गरिदिनुस् भन्ने रिक्वेष्ट आयो, सोही बमोजिम विथड्र गरिएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने । रेटिङ एजेन्सीले कुनैपनि कम्पनीसँग रेटिङ सम्झौता गरेपश्चात सुरुको रेटिङ गरेको तीन वर्षसम्म उक्त कम्पनीको अनुगमन गर्नैपर्छ भन्ने व्यवस्था छ । सोही समयावधि सकिएकोले पनि कोषको रेटिङ विथड्र भएको बुझिन्छ । कोषका उपनिर्देशक नारायण प्रसाद घिमिरेले पनि सम्झौता गरिएको अवधि सकिएकोले विथड्र गरिएको बताए । ‘हामीबीचको एग्रिमेन्टको अवधि गत नोभेम्बरबाट सकिएकोले विथड्र भएको हो,’ विकासन्युजसँग बोल्दै घिमिरेले भने- ‘आवश्यक भएमा अर्को पटक फेरि सम्झौता गर्न सक्छौं ।’ तर, तत्काललाई भने कोषलाई रेटिङ गराउन आवश्यक नरहेको उनको भनाई छ । ‘अहिले हामीलाई ऋण लिनु पनि छैन, हकप्रद सेयर जारी गर्नु पनि छैन, त्यसैले तत्काल रेटिङ आवश्यक छैन,’ उनले थपे- ‘आवश्यक परेमा सञ्चालक समितिको निर्णय अनुसार नै रेटिङ एजेन्सीसँग सम्झौता गर्ने छौं ।’ यदि पुनः इक्रा नेपालसँग रिटिङ गराउन चाहेमा कोषले पुनः सम्झौता गर्नुपर्ने हुन्छ । किनभने एकपटक विथड्र भइसकेपछि अर्को पटक रेटिङ गर्नको लागि दुई कम्पनीबीच पुनः सम्झौता हुनैपर्छ । जबसम्म विथड्र भएका कम्पनीले अर्को सम्झौता गर्दैनन् तबसम्म रेटिङ एजेन्सीहरुले अर्थात इक्रा नेपालले कम्पनीका कुनैपनि रिपोर्टको निगरानी नगर्ने कोषका विश्लेषक राजिब महर्जन बताउँछन् । नेपालमा हाल तीन वटा रेटिङ एजेन्सीले इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले विभिन्न कम्पनीहरूको रेटिङ गराउँदै आएका छन् । पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन एजेन्सीबाट करिब ६० वटा कम्पनीको रेटिङ विथड्र भएको देखिन्छ । एजेन्सीका पदाधिकारीहरू रेटिङ विथड्र हुनुमा तीन वटा कारण हुन सक्ने बताउँछन् । त्यसमध्ये एउटा त सेवा मन नपराएर अर्को कम्पनीमा जानु, अर्को कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमान्नु र अर्को भनेका तत्काल रेटिङ गराउन आवश्यक नभएकोले पनि कम्पनीहरूले रेटिङ विथड्र गर्न सक्ने उनीहरूको भनाई छ । सम्बन्धित समाचार रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?
रविको खातामा १ कराेड ८० लाखकाे चेक डिपोजिट भएको छ, पैसा पाएको छैन : पूर्व बैंकर शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पुर्ब बैंकर अनिलकेशरी शाहले रवि लामिछानेको खातामा १ करोड ५० लाखको चेक डिपोजिट भएको देखिए पनि पैसा नपाएको बताएका छन् । सोमबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खातामा १ करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिन्छ । तर, खातामा जम्मा भएको देखिँखैन,उनले भने, ‘क्रेडिट भयो, डेविट भयो, पैसा हातमा आएको छै, यस्ता घटना कहिले काहीँ हुन्छन् ।’ यस्तै, उनले यो किर्ते गर्ने व्यक्तिलाई भने कारवाही हुने बताए । उनले लामिछानेले पैसा नपाएको विषयमा बैंकले चिठ्ठी पठाएको बताए । यस्तै, पत्रकार सम्मेलनमा लामिछानेले आफूले गल्ति नगरेको बताए । उनले विगतमा केही व्यक्ति तथा सञ्चार माध्यमको विषयमा गलत बोलेको भए क्षमा दिन पनि अनुरोध गरेका छन् ।
पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर
पाकिस्तान । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । पीआईईको पाकिस्तान शिक्षा तथ्याङ्क प्रतिवेदन सन् २०२१-२२ ले विद्यालय बाहिरका बालबालिकाहरूको सङ्ख्याको बारेमा आश्चर्यजनक खुलासा गरेको छ । सन् २०२१-२२ सम्म पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । द न्युज इन्टरनेसनलका अनुसार विद्यालय जाने उमेर समूहका ३९ प्रतिशत बालबालिका हाल विद्यालय बाहिर छन् । जसले विश्वव्यापी शिक्षा सुनिश्चित गर्नमा निरन्तर चुनौती रहेको सङ्केत गर्दछ । बलुचिस्तानमा सबैभन्दा बढी ६५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । इस्लामाबाद राजधानी क्षेत्रले भने सबैभन्दा कम प्रतिशत समेटेको छ । प्रमुख प्रान्तहरूको तुलनामा खैबर पख्तुनख्वामा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सन् २०१६-१७ मा ४४ प्रतिशतबाट घटेर सन् २०२१-२२ मा ३९ प्रतिशतमा झरेको भए तापनि सोही अवधिमा यो २ करोड ६० लाख पुगेको छ । यो वृद्धि मुख्यतया जनसङ्ख्या वृद्धिदरले विद्यालय बाहिरका बालबालिकामा आएको कमीलाई पछाडि पारेको कारण हो । प्रतिवेदनले उच्च माध्यमिक तहमा सन् २०२१-२२ मा ६० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पुष्टि गरेको छ । द न्युज इन्टरनेसनलले प्रतिवेदनको थप विश्लेषण गर्दाल उच्च, मध्य र प्राथमिक तहमा क्रमशः ४४ प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत विद्यालय बाहिरको दर देखाएको छ । प्रतिवेदन अनुसार विद्यालय बाहिरका बच्चाहरूको ठूलो हिस्सा, १ करोड ७७ लाख प्राथमिक तहमा छ । रासस
समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच साझेदारी
काठमाडौं । नेपाल राष्ट्र वैङ्कबाट ‘ग’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स र वित्तीय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरी यस क्षेत्रमा सेवा पु-याई रहेको फाइनान्स फ्रेन्डबीच वित्तीय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाइ विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ । उक्त साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक विनोद राज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गरे । यस सहकार्य पछि फाइनान्स फ्रेन्डले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित वित्तिय तालिमका कार्यक्रमहरु उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्नेछ । राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
नेप्से परिसूचकमा ३१ अङ्कको गिरावट, कारोबार घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता सेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा छ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव २४ प्रतिशतले घेटेको छ । अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३३ प्रतिशत रहेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाख ८३ हजार चार सय ९२ रुपैयाँ बराबरको ११ लाख ९७ हजार तीन सय ५५ कित्ता सेयर कारोबार भएको छ ।