काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताए । फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भएपनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए ।
प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । उनले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।
‘यो फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुले चासो राख्न सक्नुहुन्छ, तर यो सन्तुलनलाई हाम कसरी अघि बढाउने भन्नेकुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छोडिदिनुहोला । राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ । चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ । उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पनि हामी पुग्न चाहन्छाैँ । गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि । काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन’, उनले भने ।
उनले काँग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । काँग्रेसलक्षित गर्दै उनले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् की भन्ने डरले हिँडिरहनुपरेको बताए ।