दुई जना प्रहरीमाथि चक्कु प्रहार, उमेश फरार
दार्चुला । दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएकाे छ । जिल्लाको महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले आइतबार डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। उमेशकी श्रीमती धनिशाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा निवदेन दिएकी थिइन् । सोही उजुरीको विषयमा उनलाई पक्राउ गर्न गएका प्रहरीलाई उनले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।
दोषी ठहरिए इच्छाराज तामाङ, कति वर्ष हुन्छ जेल ?
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएकी छन् । विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि २१ माघमा अर्को इजलास तोकेको छ । उनले ६ दर्जन बढी कम्पनीमा सहकारीको पैसा लगानी गरेको खुलेको हो ।
बैंकको ऋण तिर्नु हुन्न भन्ने ‘दुर्गाहरू’को प्रभाव ब्यालेन्ससिटमा, खराब कर्जा ४ गुणासम्म बढ्यो
काठमाडौं । विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध अराजक गतिविधि भइरहेका छन् । बैंकरमाथि दूर्व्यवहारदेखि कुटपिटसम्मका घटना बढाएर अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवालीले बैंकबाट लिएको ऋण मिनाह गर्नु पर्ने र सावाँ ब्याज नै नतिर्न सर्वसाधारणलाई उक्साए । बैंकबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूकाे भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ ब्याज नै तिरेनन् । त्यसको नकारात्मक प्रभाव अहिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको छ । ऋणीहरूले समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा बैंकहरूमा ठूलो असर परेकाे छ । जसले गर्दा चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा औसत ४८ प्रतिशत बढेको छ । पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औसत १.०५ प्रतिशत बिन्दु बढेर औसत ३.२५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको पुसमा बैंकहरूको खराब कर्जा औसत २.२ प्रतिशत मात्रै थियो । समीक्षा अवधिमा तीन वटा वाणिज्य बैंककाे खराब कर्जा घटेकाे छ भने अन्य सबै बैंकको बढेको छ । कृषि विकास बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाएको छ । यस बैंकले गत वर्षको तुलनामा ३३.१८ प्रतिशत घटाएर ३.०२ प्रतिशत बिन्दुमा कायम गरेकाे छ । कृषि विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) यज्ञप्रकाश न्यौपाने बैंकले रिकभरीमा जोड दिएका कारण खराब कर्जा घटेको बताउँछन् । पहिलो त्रैमासमा बैंकको खराब कर्जा अत्यधिक बढेपछि रिकभरीमा जोड दिँदा नियन्त्रणमा ल्याएको उनको भनाइ छ । ‘पहिलो त्रैमासमा बैंकको एनपीएल ५.३३ प्रतिशत थियो, हामीले २/३ महिना रिकभरीमा जोड दियौं, अहिले ३ प्रतिशतमा झरेको छ, अझै घटाउने योजना छ,’ उनले भने । पुस मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा नेपाल एसबिआई बैंकको बढेको देखिन्छ । यस बैंकको ३८७.२३ प्रतिशत बढेर २.२९ प्रतिशत बिन्दु पुगेको हो । यस्तै, लक्ष्मी सनराइज बैंकको २ सय प्रतिशत बढेर ४.६७ प्रतिशत बिन्दु पुगेकाे छ । लक्ष्मी सनराइज बैंकका चिफ फाइनान्स अफिसर पियुशराज अर्याल मर्जरको प्रभावले खराब कर्जा बढेको बताउँछन् । मर्जरपछि कर्जाको व्यवस्थापन गर्न समय लागेका कारण एनपीएल वृद्धि भएको उनको भनाइ छ । ‘पहिलो त्रैमासदेखि नै बैंकको खराब कर्जा बढ्न थालेको हो, मर्जरपछि दुवै बैंकको कर्जा मिलाउन समय लाग्यो, मर्जरअघि १ प्रतिशतको हाराहारीमा खराब कर्जा हुन्थ्यो, त्यसैले मर्जरको प्रभाव परेको हो,’ उनले भने, ‘लक्ष्मी सनराइज बैंकमा मध्यम किसिमका कर्जाले असर गरेको छ, ५/१० करोडका कर्जाले धेरै असर गरेको हो ।’ उनका अनुसार घरजग्गा बिक्री गरेर कर्जा तिर्न चाहेको भएपनि बिक्री हुन नसकेको उनले बताए । साथै, व्यवसाय नबढेका कारण पनि कर्जा तिर्न ऋणीहरूलाई समस्या परेको बताउँदै उनले भने, ‘सेयरको मूल्य पनि कम छ, सेयर बिक्री गर्ने अवस्था पनि छैन, अहिले अर्थतन्त्रको अवस्था पनि कमजोर नै छ ।’ प्रभु बैंकको १४७.४७ प्रतिशत बढेर ४.९० प्रतिशत बिन्दु, सानिमा बैंकको १२३.३७ प्रतिशत बढेर १.७२ प्रतिशत बिन्दु पुगेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२२.२२ प्रतिशत बढेर १.६ प्रतिशत बिन्दु, एनआइसी एशिया बैंकको ९५ प्रतिशत बढेर १.१९ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ८५.८१ प्रतिशत बढेर २.६२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ६०.२७ प्रतिशत बढेर ४.६८ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, सिद्धार्थ बैंकको ६० प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, कुमारी बैंकको ५७.७७ प्रतिशत बढेर ४.९७ प्रतिशत बिन्दु, प्राइम बैंकको ४४.८३ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल बैंकको ४४.६९ प्रतिशत बढेर ४.५० प्रतिशत बिन्दु पुगेको छ । यस्तै, एभरेष्ट बैंकको ४० प्रतिशत बढेर ०.७७ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३१.२९ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ३६.१२ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८ प्रतिशत बढेर ४.७५ प्रतिशत बिन्दु र एनएमबि बैंकको २७.६७ प्रतिशत बढेर २.८६ प्रतिशत बिन्दु पुगेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, नबिल बैंकले १७.८० प्रतिशत घटाएर १.२ प्रतिशत विन्दु र राष्ट्रिय वाणिज्य बैंकले ८.८२ प्रतिशत घटाएर २.७९ प्रतिशत बिन्दुमा खराब कर्जा झारेको हो ।
अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना
अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना रहेका छन् । दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन । प्रान्तीय सूचना विभागका प्रमुख जबीहुल्लाह अमिरीले एएफपीसँग भने, ‘विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए ।’ ‘हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ तर स्थान भने खुल्न सकेको छैन । हामीले खोजीका लागि टोली पठाएका छौँ । उनीहरूबाट थप जानकारी प्राप्त हुनसकेको छैन ।’ घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकोले उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ । अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर (२४,५८० फिट) को हिमाल नोशाक रहेको हिन्दूकुश पर्वत शृङ्खला वादख्शानमा रहेको छ । रासस
सेबोनका डा. अधिकारीले पाए निमित्त अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले अधिकारीलाई बरिष्ठ कर्मचारीको हैसियतमा निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । त्यस्तै, सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि हमाललाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । साथै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।
डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्र्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । ९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ । साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङको विशेष सहयोग रहेको छ। प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक तथा अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । प्रतियोगिताका उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ ।
६ महिनामा सात खर्ब व्यापार घाटा, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ । नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिना अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रुपैयाँ बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड रुपैयाँ, युक्रेनसँग नौ अर्ब ९६ करोड रुपैयाँ र मलेसियासँग आठ अर्ब ६० करोड रुपैयाँ बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रुपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । रासस
पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक, वार्षिक १३ लाख बचत
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ । बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५:३० देखि ८ बजेसम्म गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्रीवितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ । दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उनले बताए । डाँगी छोटो समयमा व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन् । उनी तुलसीपुर–१० मा रहेको एक निजी विद्यालयका शिक्षक हुन् । उनले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहेका छन् । साथै नौ वर्षदेखि पशुपालनमा लागेका डाँगी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् । उनले स्थानीय पाँचजनालाई रोजगारीसमेत दिएका छन् । डाँगीका अनुसार दुईजनाले पूर्ण र तीनले आंशिक रुपमा रोजगारी गरिरहेका छन् । उनले भने, ‘वार्षिक करिब १२ देखि १३ लाख बचत गर्न सफल भएको छु । विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालनको सुरुवात गरेको थिएँ ।’ डाँगीले सुरुमा चार लाखको लागतमा पाँचवटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन् । तीमध्ये १० गाई तथा सातवटा भैँसी दुहुना छन् । भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताए । केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका छन् । कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताए । दाङमा अहिले दूधप्रतिलिटर ९० र दही एक सय रहेको छ । शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर–६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताइन् । उनले भनिन्, ‘पहिले–पहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।’ डाँगीले फर्ममा अहिलेसम्म ६० लाखसम्म लगानी भइसकेको जानकारी दिए । उनका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २५ देखि २८ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गतवर्ष झण्डै १२ लाख आम्दानी भएको उनले बताए । शिक्षण पेसामा संलग्न भएका तपाईँ पशुपालनमा कसरी लाग्नुभयो भन्ने प्रश्नको जवाफमा डाँगीले भने, ‘धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ । पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु ।’ समयको व्यवस्थापना आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताए । १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उनको भनाइ थियो । परिवारका सदस्यले समेत उनको यस कामलाई सघाइरहेका छन् । डाँगीले दुई बिघामा फर्म सञ्चालन गरेका छन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनले बताए । ‘अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन’, उनले भने, ‘अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ ।’ कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताए । पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ । रासस