विकासन्युज

दलगत राजनीतिभन्दा माथि उठेर अर्थतन्त्रको ‘कुलदेवता’ जोगाऊँ : लिमा अधिकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले दलगत राजनीतिभन्दा माथि उठेर राष्ट्रिय अर्थतन्त्रलाई जोगाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै अधिकारीले ठूला राजनीतिक परिवर्तन, नयाँ संविधान र सरकार परिवर्तन भए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित आर्थिक सुधार आउन नसकेको बताइन् । उनका अनुसार राजनीतिक विचार र दर्शन आवश्यक भए पनि त्यसको वास्तविक परिणाम नागरिकले पाउने रोजगारी, आर्थिक समृद्धि र सुरक्षित भविष्यबाट देखिनुपर्छ । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अर्थतन्त्र कुनै एउटा दलको मात्र विषय नभएको भन्दै उनले सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् । ‘भोको पेटलाई कुनै वादले लामो समयसम्म अड्याउन नसक्ने र बेरोजगार हातलाई सिद्धान्तले मात्रै आश्वस्त पार्न नसक्ने’ उनको भनाइ थियो । अधिकारीले पछिल्ला वर्षमा सुस्त बनेको अर्थतन्त्रलाई भोटेकोशीको बाढीले थप प्रभावित बनाएको बताइन् । उत्तरी नाका र रणनीतिक सडक अवरुद्ध हुँदा आपूर्ति प्रणालीमा असर परेको उल्लेख गर्दै उनले बाढीबाट सिर्जित संकटलाई आर्थिक रूपान्तरणको अवसर बनाउनुपर्ने बताइन् । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका क्रममा लगातार तीन वर्ष औसत ७.७ प्रतिशत आर्थिक वृद्धि भएको उदाहरण दिँदै उनले संकटलाई आर्थिक शक्तिमा बदल्न सकिने बताइन् । स्वदेशी उद्यमी तथा व्यवसायीलाई अर्थतन्त्रका ‘कुलदेवता’ को संज्ञा दिँदै अधिकारीले स्वदेशी लगानीकर्ताको मनोबल नबढेसम्म आन्तरिक अर्थतन्त्र चलायमान हुन र विदेशी लगानी आकर्षित गर्न कठिन हुने बताइन् । उनले तत्काल ‘आर्थिक पुनर्जागरण र पुनर्निर्माणको संकल्प प्रस्ताव’ ल्याउन सरकारसँग माग गरिन् । साथै निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । आपूर्ति प्रणाली सुचारु गर्न सडक पूर्वाधारका अवरोध हटाउने काम तीन सिफ्टमा सञ्चालन गर्नुपर्ने, नीतिगत झन्झट हटाउन अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउनुपर्ने र बाढी प्रभावित क्षेत्रका लागि बीमा दाबीको छिटो फर्छ्योट तथा कर्जा पुनर्संरचनासहितको विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको प्रस्ताव छ । ऊर्जा क्षेत्रमा विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई सरल बनाउनुपर्ने तथा नयाँ पूर्वाधारलाई जलवायुजन्य विपद् सामना गर्न सक्ने गरी निर्माण गर्नुपर्नेमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । पुनर्निर्माणमा स्वदेशी स्रोत र साधनको अधिकतम प्रयोग गरी देशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

इप्पानको आयोजनामा हिमालयन ग्रीन इनर्जी एक्स्पो हुँदै, १०० भन्दा बढी प्रदर्शनी स्टल रहने

काठमाडौं । आगामी माघ ३, ४ र ५ गते  काठमाडौंमा हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा हिमालयन ग्रीन इनर्जी एक्स्पोको आयोजना हुन लागेको हो । उत्थानशील ऊर्जा, समृद्ध नेपाल भन्ने नाराका साथ आयोजना हुन लागेको यो एक्स्पो पाँचौं संस्करण हो ।  नेपाल सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा यो एक्स्पोलाई इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष माघ ३, ४ र ५ गते वार्षिक ऊर्जा इभेन्टका रूपमा नियमित गर्ने लक्ष्य लिएको छ । नेपालको ऊर्जा क्षेत्र अहिले करिब ४०० मेगावाट विद्युत उत्पादन क्षमताबाट सन् २०३५ सम्म ३० हजार मेगावाट पु‍र्याउने रूपान्तरणको चरणमा छ ।  यो लक्ष्य आन्तरिक खपतका साथै औद्योगिक विकास, विद्युतीय सवारी र भारत तथा बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत व्यापारसँग जोडिएको छ ।  अर्कोतर्फ हालैका वर्षहरूमा आएको बाढी-पहिरोले जलविद्युत पूर्वाधारमा क्षति पुर्‍याएकाले जलवायु परिवर्तनजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ ।  यसैलाई ध्यानमा राखी नेपालको ऊर्जा क्षेत्र अब जलविद्युतमा मात्र सीमित नरही सौर्य, वायु, बायोग्यास, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, डिजिटल ऊर्जा र एआई प्रविधिसहितको एकीकृत स्वच्छ ऊर्जा प्रणालीतर्फ अघि बढिरहेको छ ।  विक्रम संवत् २०५७ माघ ४ मा स्थापित इप्पानले निजी क्षेत्रको ऊर्जा उत्पादन, लगानी र नीतिगत सुधारका लागि निरन्तर पहल गर्दै आएको छ । तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोका प्रमुख आकर्षणहरूमा बीटुबी बिजनेश मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी कलेज हब, प्रत्यक्ष प्रविधि प्रदर्शन, हाइड्रो–कन शो, इभी र्‍याली तथा गाला नेटवर्किङ डिनर रहेका छन् ।  प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलर पीभी, इन्भर्टर, ब्याट्री, ट्रान्सफर्मर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि र स्मार्ट ऊर्जा समाधानहरू प्रदर्शन गरिनेछ भने विद्यार्थी तथा नवप्रवर्तकहरूका नयाँ अवधारणा र वस्तुहरूको प्रतिस्पर्धासमेत समावेश गरिनेछ । यस एक्स्पोमा भारत, चीन, क्यानाडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, इटाली, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, नीति निर्माता, प्रविधि उत्पादक र विज्ञ(विशेषज्ञहरूको सहभागिता रहनेछ ।  १०० भन्दा बढी प्रदर्शनी स्टल रहने यस एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । हाल यस एक्स्पोका लागि सहभागिता तथा स्टल बुकिङ खुला भइसकेको र थप जानकारीका लागि इप्पान सचिवालय वा इभेन्ट सोलुसन प्रालिमा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।

हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा प्रधानमन्त्री राहत कोषमा १३ लाख सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स्का कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख २० हजार ६६६ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीका कर्मचारीहरूले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका थिए । त्यसमध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोग गरिएको छ भने बाँकी रकम राहत कोषमा जम्मा गरिएको हो । हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले उक्त रकमको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल (गणेश) लाई हस्तान्तरण गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका बस्तीमा जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका छन् । बाढीले घर, सडक, पुललगायत भौतिक संरचनामा समेत क्षति पुर्‍याएको थियो । यसैगरी, हिमालय एअरलाइन्स्का कर्मचारीहरूले लत्ताकपडा संकलन गरी काठमाडौं स्कुल अफ ललाई पनि हस्तान्तरण गरेका छन् । उक्त सामग्री बाढी प्रभावित समुदायलाई उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको कम्पनीले जनाएको छ । हिमालय एअरलाइन्स्ले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सहायता प्रदान गर्दै आएको जनाएको छ ।

चितवनमा अवैध भीओआईपी सञ्चालन, २६ मोबाइल र ९५ सिमकार्ड बरामद

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनको भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२ आँपटारीस्थित एक घरमा छापा मारेर २५ वर्षीय भारतीय नागरिक कथराम नितिनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद भएका उपकरण अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भइरहेको खुलेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ । छापाका क्रममा प्रहरीले २६ वटा मोबाइल फोन, २ वटा ल्यापटप, एनसेलका ७७ वटा सिमकार्ड, नेपाल टेलिकमका १८ वटा सिमकार्ड, ४ वटा सीपीयू, एउटा इन्भर्टर, २ वटा ब्याट्री, ६ वटा २० पोर्टका यूएसबी हब, ३३ वटा यूएसबी सेलुलर मोडेम, ३० वटा यूएसबी ओटीजी टु अडियो केबल, एउटा नेटवर्क स्विच, २ वटा इन्टरनेट राउटर तथा विभिन्न डेटा केबल बरामद गरेको छ । प्रहरीले दुरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ ।

सेयर बजारमा साढे ५ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेर २६२४ बिन्दुमा पुगेको छ ।   नेप्सेका अनुसार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३३९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै शिवम् सिमेन्टको २७ करोड, सोलु हाइड्रोको २३ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   आज धौवलागिरी लघुवित्तको सेयर मूल्य १२.४३ प्रतिशतले बढेको छ ।  नेप्सेमा बिहीबार १३ मध्ये ११ उपसूचक बढ्दा लगानी र अन्य समूह भने सामान्य घटेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ । यो समूह १२५.९२ अंकले उक्लिएर ११ हजार ७६८.६३ विन्दुमा पुगेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत, जलविद्युत समूह ०.६३ प्रतिशत र बैंकिङ समूह ०.५८ प्रतिशतले बढेका छन् । यस्तै, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत, विकास बैंक समूह ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशत, वित्त समूह ०.२३ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले वृद्धि भएका छन् । म्युचुअल फन्ड ०.६५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेका छन् । यता लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले सामान्य गिरावट आएको छ ।

क्यानडा ईयूको एसोसिएट सदस्य बने अमेरिकाले भारी शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) ले क्यानडालाई आफ्नो पहिलो एसोसिएट सदस्य बनाउन अघि बढे अमेरिकाले ईयूविरुद्ध कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूको कदम आफूलाई कुनै पनि हिसाबले शत्रुतापूर्ण लागे युरोपमाथि निकै भारी शुल्क लगाउने वा विभिन्न क्षेत्रमा युरोपसँगको व्यापार रोक्न सक्ने बताएका छन् । ‘यदि उनीहरूले त्यसो गर्छन् र मलाई यो कुनै पनि हिसाबले शत्रुतापूर्ण कदम हो भन्ने लाग्यो भने म युरोपमाथि निकै भारी शुल्क लगाउनेछु वा धेरै विषयमा युरोपसँगको व्यापार रोक्नेछु,’ उनले भने । उनले ईयूको कदमको उद्देश्य राम्रो भए आफूलाई कुनै समस्या नहुने पनि बताए । ‘यदि उद्देश्य राम्रो छ भने ठीक छ । तर उद्देश्य खराब छ भने हामी युरोपमाथि निकै भारी शुल्क लगाउनेछौं,’ ट्रम्पले भने । अमेरिकी राष्ट्रपतिले क्यानडा ईयूको सहयोगी सदस्य बन्न सक्ने सम्भावनालाई ‘हास्यास्पद’ भन्दै क्यानडासँगको समग्र सम्बन्धबारे पनि टिप्पणी गरेका छन् ।  ‘क्यानडासँगको पूरै विषय नै त्यस्तै छ । क्यानडा खराब व्यापारिक साझेदार रहँदै आएको छ,’ उनले भने । पछिल्ला महिनामा क्यानडा र अमेरिकाबीचको सम्बन्ध निकै बिग्रिएको छ । यहीबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँगको सम्बन्ध थप सुदृढ बनाउने दिशामा पहल अघि बढाइरहेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा क्यानडाका लागि ‘ढोका खोल्ने’ दिशामा काम गर्न चाहेको बताएकी थिइन् ।  यसअन्तर्गत विभिन्न महत्त्वपूर्ण क्षेत्रमा क्यानडा र ईयूबीच थप निकट सम्बन्ध स्थापना गर्न सकिने उनको भनाइ थियो । उनले बुधबार अमेरिकाको प्रत्यक्ष नाम नलिई भनेकी थिइन्, ‘यो कसैको विरुद्धको साझेदारी होइन, बरु हाम्रो साझा शक्तिका लागि हो ।’

एसियन पेन्ट्स नेपालको पहिलो नेपाली प्रमुख बने बराल

काठमाडौं । एसियन पेन्ट्स नेपालले दीपक बराललाई नेपाल प्रमुखको जिम्मेवारी दिएको छ । उनी कम्पनीको नेपाल बजारको नेतृत्व गर्ने पहिलो नेपाली बनेका छन् । बरालले सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा काम सुरु गरेका थिए। त्यसयता उनले बिक्री, मार्केटिङ र सेल्स एक्टिभेसनलगायत विभिन्न विभागमा काम गर्दै नेतृत्व तहसम्मको यात्रा तय गरेका हुन् । यसअघि उनी सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारीमा थिए । अगस्ट २०२६ सम्म उक्त पदमा काम गरेका बराललाई अहिले कम्पनीको नेपाल बजारको समग्र नेतृत्वको जिम्मेवारी दिइएको हो । कम्पनीका अनुसार नेपाल बजारको नेतृत्वमा यसअघि विदेशी नागरिकलाई जिम्मेवारी दिइँदै आएको थियो। बराल भने यो जिम्मेवारी पाउने पहिलो नेपाली बनेका छन् । दुई दशकभन्दा लामो समय एउटै संस्थामा काम गर्दै विभिन्न जिम्मेवारी सम्हालेका बरालले बीचमा केही समय अन्य कम्पनीमा पनि उच्च व्यवस्थापन तहमा काम गरेका थिए । सन् २०२४ मा उनी पुनः एसियन पेन्ट्स नेपालमा सेल्स एन्ड मार्केटिङ प्रमुखका रूपमा फर्किएका थिए । फ्रन्टलाइन कर्मचारीबाट कम्पनीको शीर्ष नेतृत्वसम्म पुगेको बरालको यात्रा नेपाली कर्पोरेट क्षेत्रमा मेहनत र निरन्तरताको उदाहरणका रूपमा हेरिएको छ ।

सिटिजन्स बैंकले सुदूरपश्चिममा गर्‍यो बजेट तथा व्यवसाय वृद्धि समीक्षा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बजेट उपलब्धि, रणनीतिक योजना तथा व्यवसाय विस्तारबारे समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ विषयक सेमिनार आयोजना गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतसहित वरिष्ठ कार्यकारीहरूको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो। सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० शाखा सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी र मधेश प्रदेशमा पनि व्यवसाय विस्तार तथा रणनीतिक योजनासम्बन्धी यस्तै कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको हो। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक केन्द्रित विभिन्न सेवा पनि विस्तार गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ। त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने क्रस–बैंक टेलर सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ। सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।