काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा विकास बैंकहरूको खुद नाफा १६८.४६ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १६ विकास बैंकले चालु आवको असोजसम्ममा १ अर्ब ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी बैंकहरूको कुल नाफा ६१ करोड ३७ लाख ६३ हजार रुपैयाँ थियो ।
नाफामा उल्लेख्य सुधार देखिए पनि विकास बैंकहरूको वित्तीय अवस्था सबै पक्षबाट सहज भएको छैन । ब्याज आम्दानी सामान्य बढेको, इम्पेरिमेन्ट चार्ज घटेको र औसत खराब कर्जा केही सुधारिएको देखिए पनि केही बैंकको एनपीएल अझै उच्च छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी खुद नाफा लुम्बिनी विकास बैंकले गरेको छ । बैंकले ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार, कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार र ज्योति विकास बैंकले २० करोड १ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
नाफा वृद्धिदरका आधारमा ज्योति विकास बैंक अगाडि देखिएको छ । बैंकको खुद नाफा १८४.५८ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ११०.७७ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४३.४४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३५.८६ प्रतिशत, महालक्ष्मी विकास बैंकको २१.४८ प्रतिशत र कामना सेवा विकास बैंकको १६.९९ प्रतिशतले बढेको छ ।

गत वर्ष घाटामा रहेका पाँच बैंक यस वर्ष नाफामा फर्किएका छन् । लुम्बिनी विकास बैंकले ३२ करोड ७१ लाख ५४ हजार, सप्तकोशी डेभलपमेन्ट बैंकले ४३ लाख ६० हजार, एक्सेल डेभलपमेन्ट बैंकले ४० लाख ७ हजार, नारायणी डेभलपमेन्ट बैंकले २९ लाख ९६ हजार र ग्रीन डेभलपमेन्ट बैंकले ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यता, केही बैंकको नाफा भने घटेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६२.०६ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २.६६ प्रतिशत र गरिमा विकास बैंकको ४.१७ प्रतिशतले घटेको छ ।
सिन्धु विकास बैंकको घाटा गत वर्षको ४ करोड ४५ लाख ९७ हजार रुपैयाँबाट बढेर ६ करोड २१ लाख ३६ हजार रुपैयाँ पुगेको छ । सालपा विकास बैंकको घाटा पनि ९९ लाख ८४ हजार रुपैयाँबाट बढेर १ करोड ७४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
ब्याज आम्दानी २.२६ प्रतिशत बढ्यो
पहिलो त्रैमासमा विकास बैंकहरूको कुल ब्याज आम्दानी २.२६ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ८६ करोड २७ लाख ५३ हजार रुपैयाँ थियो । खुद नाफा १६८.४६ प्रतिशतले बढ्दा ब्याज आम्दानी भने २.२६ प्रतिशत मात्रै बढ्नुले नाफा वृद्धिमा ब्याज आम्दानीबाहेकका पक्षको भूमिका महत्वपूर्ण रहेको संकेत गर्छ ।
समीक्षा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको ब्याज आम्दानी सबैभन्दा धेरै ३३.५४ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको असोजसम्ममा ४ करोड ६१ लाख १ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बढेर ६ करोड १५ लाख ६५ हजार रुपैयाँ पु¥याएको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ब्याज आम्दानी २६.७६ प्रतिशतले बढेर ९ करोड २४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । ज्योति विकास बैंकको २०.१२ प्रतिशतले बढेर ६३ करोड १८ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको ब्याज आम्दानी १४.६३ प्रतिशतले बढेर १५ करोड २८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकको ८.९४ प्रतिशत, सिन्धु विकास बैंकको ७.६१ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २.७० प्रतिशतले बढेको छ ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ब्याज आम्दानी २.६९ प्रतिशत, महालक्ष्मी विकास बैंकको १.६९ प्रतिशत, कामना सेवा विकास बैंकको १.४३ प्रतिशत र सालपा विकास बैंकको १.२९ प्रतिशतले बढेको छ ।
चार विकास बैंकको ब्याज आम्दानी घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ब्याज आम्दानी सबैभन्दा धेरै ४०.३८ प्रतिशतले घटेर १ करोड ३९ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशतले घटेर ५ करोड ३५ लाख १८ हजार रुपैयाँमा झरेको छ । गरिमा विकास बैंकको ७.७८ प्रतिशतले घटेर ९२ करोड ८ लाख १४ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ७.१४ प्रतिशतले घटेर ५० करोड ९८ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको ब्याज आम्दानी भने गत वर्षको असोजमा १२ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवको असोजमा ६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक छ ।
कुल रकमका आधारमा मुक्तिनाथले सबैभन्दा बढी ब्याज आम्दानी गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब २१ करोड ७६ लाख ७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गरिमा विकास बैंकले ९२ करोड ८ लाख १४ हजार रुपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६६ करोड २५ लाख ६१ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
त्यस्तै, कामना सेवा विकास बैंकले ६२ करोड ६४ लाख ८७ हजार, ज्योति विकास बैंकले ६३ करोड १८ लाख ७ हजार र सांग्रिला डेभलपमेन्ट बैंकले ५० करोड ९८ लाख ६६ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा राहत
विकास बैंकहरूको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइने इम्पेरिमेन्ट चार्जमा आएको कमीले पनि सहयोग गरेको देखिन्छ । १६ बैंकमध्ये ११ वटाको इम्पेरिमेन्ट चार्ज घटेको छ भने सिन्धु र मितेरीको बढेको छ ।
मुक्तिनाथ विकास बैंकको इम्पेरिमेन्ट चार्ज सबैभन्दा धेरै ७४.९७ प्रतिशतले घटेर १३ करोड ५४ लाख ५४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५४ करोड ११ लाख ६७ हजार रुपैयाँ थियो । ग्रीनको ५८.१३ प्रतिशत, कामना सेवाको ५५.३५ प्रतिशत, एक्सेलको ४९.२३ प्रतिशत र ज्योतिको ४४.४२ प्रतिशतले घटेको छ ।
महालक्ष्मीको इम्पेरिमेन्ट चार्ज ३२.३६ प्रतिशतले घटेर १० करोड ६७ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गरिमाको २३.६८ प्रतिशत, शाइन रेसुङ्गाको २१.४७ प्रतिशत, सालपाको १५.२० प्रतिशत र सांग्रिलाको ६.१० प्रतिशतले घटेको छ ।
यता, सिन्धु विकास बैंकको इम्पेरिमेन्ट चार्ज ५१.९५ प्रतिशतले बढेर ५ करोड ४५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । मितेरीको पनि ४०.२४ प्रतिशतले बढेर २ करोड २५ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा औसत ८.६२ प्रतिशत
विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको असोजमा ९.८६ प्रतिशत रहेकामा चालु आवको असोजसम्ममा घटेर ८.६२ प्रतिशतमा झरेको छ । औसतमा १.२४ प्रतिशत बिन्दुको सुधार देखिए पनि बैंकहरूबीच खराब कर्जाको अवस्था निकै असमान छ । १६ बैंकमध्ये १० वटाको खराब कर्जा घटेको छ भने ६ वटाको बढेको छ ।
सबैभन्दा उच्च खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको छ । बैंकको एनपीएल ५७.०४ प्रतिशतबाट घटेर ४९.०१ प्रतिशतमा आएको छ । अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार भए पनि कुल कर्जाको झन्डै आधा हिस्सा खराब कर्जामा रहनु गम्भीर जोखिम हो ।
सिन्धु विकास बैंकको खराब कर्जा ८.८४ प्रतिशतबाट बढेर १२.१२ प्रतिशत पुगेको छ । सांग्रिलाको ६.८६ प्रतिशतबाट बढेर ७.६४ प्रतिशत र महालक्ष्मीको ५.५० प्रतिशतबाट बढेर ६.४९ प्रतिशत पुगेको छ । गरिमा, मुक्तिनाथ र शाइन रेसुङ्गाको खराब कर्जा पनि क्रमशः ४.८१, ४.७३ र ४.७१ प्रतिशतमा पुगेको छ ।
अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ११.७७ प्रतिशतबाट घटेर ६.५९ प्रतिशतमा झरेको छ । एक्सेलको ९.६८ प्रतिशतबाट घटेर ४.८५ प्रतिशत र सप्तकोशीको ११.५० प्रतिशतबाट घटेर ८.६० प्रतिशतमा आएको छ । सालपा, ज्योति, लुम्बिनी, ग्रीन र कामना सेवा बैंकको खराब कर्जामा पनि सुधार देखिएको छ ।
सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकको ०.५१ प्रतिशत छ । यसले बैंकहरूबीच कर्जा गुणस्तरको अवस्था फरक रहेको देखाउँछ ।