बचतका थोपाबाट समृद्धिको महासागर
क्यापिटल मार्केट कुनै पनि देशको दीर्घकालीन लगानी, उत्पादन विस्तार र रोजगारी सृजनाको मेरुदण्ड मानिन्छ । बैंकिङ प्रणाली मुख्यतः छोटो अवधिको ऋण र चल्ती पुँजीमा केन्द्रित हुने भए पनि, क्यापिटल मार्केटले सेयर, ऋणपत्र, डेभेन्चरजस्ता उपकरणमार्फत दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउँछ, जसले उद्योग, पूर्वाधार र प्रविधि जस्ता क्षेत्रका परियोजनालाई सम्भव बनाउँछ । म्युचुअल फन्डले हजारौं लगानीकर्ताका स–साना बचतलाई एकत्रित गरी विविध कम्पनी र वित्तीय साधनमा लगानी गर्छ, जसको व्यवस्थापन पेशेवर फन्ड म्यानेजरहरूले गर्छन् । यसले एकातिर जोखिम विविधिकरण र दक्ष लगानी निर्णयमार्फत प्रतिफलको सम्भावना बढाउँछ, अर्कोतिर थोरै रकम भएका लगानीकर्तालाई पनि क्यापिटल मार्केटमा प्रवेश दिने “ढोका” को रूपमा काम गर्ने भएकाले क्यापिटल बजारको अवस्थासँग म्युचुअल फण्डको सम्बन्ध स्वभाविक रुपमा अन्योन्यास्रित हुन्छ । त्यसैले पुँजी बजार र म्युचुअल फण्ड आम मानिससँग जोडिएका महत्वपूर्ण आयाम र उपकरण हुन्, तथापि नेपालमा यी विषयहरूको व्यवस्थित र औपचारिक बहसहरू खासै भएको पाइँदैन । तर, विश्व बैंक जस्ता संस्थाले प्रकाशन गरेका प्रतिवेदनहरुले पछिल्लो समयमा नेपाल जस्ता विकासशील देशहरूमा पछिल्लो तीन दशकमा पूँजी बजारको विकास तीव्र गतिमा भएको देखाएका छन् । विश्व बैंकले सन् २०२४ मा प्रकाशित गरेको “Financing Firm Growth: The Role of Capital Markets in Low- and Middle-Income Countries” प्रतिवेदनले कम र मध्यम आय भएका मुलुकहरूमा पुँजी बजार अहिले आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा उदाएको देखाएको छ । विश्वव्यापी सन्दर्भ विश्वव्यापी सन्दर्भमा पुँजी बजारको विकास प्रारम्भमा विकसित देशहरूमा सीमित रहे पनि पछिल्ला दशकहरूमा यसको विस्तार तीव्र रूपमा विकासशील र मध्यम आय भएका देशहरूतर्फ सरेको छ । विश्व बैंकको सन् २०२४ को अध्ययनले देखाए अनुसार सन् १९९० देखि २०२२ सम्म विकासोन्मुख अर्थतन्त्रहरूले करिब ४ ट्रिलियन अमेरिकी डलर पुँजी बजारमार्फत संकलन गरेका छन्, जसमा सन् २००० पछिको वृद्धि तीव्र छ । यस अवधिमा मध्यम आय भएका देशहरूमा पुँजी संकलन चार गुणासम्म र कम आय भएका मुलुकहरूमा आठ गुणासम्म वृद्धि भएको छ । यसले क्यापिटल मार्केट अब “विकसित देशको विशेषाधिकार” नभई विकासोन्मुख अर्थतन्त्रको पनि प्रमुख वित्तीय स्तम्भ बन्दै गएको संकेत हो । विगत दुई दशकयताको पूँजी बजारको उल्लेखनीय बृद्धिमा शेयर, ऋणपत्र, डिबेन्चर जस्ता उपकरणमार्फत पूँजी परिचालन गर्ने यो प्रणालीले उत्पादनशील क्षेत्रमा लगानीलाई तीव्र बनाउँदै आर्थिक रूपान्तरणको गतिलाई तीव्र बनाउन योगादन गरेको तथ्यले देखाएको छ । सुरुमा पुँजी बजार र म्युचुअल फन्डको विकास मुख्यतः यूरोप र उत्तर अमेरिकामा देखियो। २०औँ शताब्दीको उत्तरार्धदेखि म्युचुअल फन्डले ती देशहरूमा विशाल आकार लियो, र आज विकसित अर्थतन्त्रहरूमा घरधुरी स्तरमै म्युचुअल फन्डमा नियमित बचत गर्ने अभ्यास सामान्य भइसकेको छ। वैश्विकरण, वित्तीय उदारीकरण र प्रविधिको विकाससँगै यो मोडेल विस्तार हुँदै एसिया, ल्याटिन अमेरिका र अफ्रिकासम्म फैलियो। समावेशी विकासमा पुँजी बजारको योगदान पुँजी बजारको प्रभाव केवल वित्तीय सूचकमा मात्र सीमित छैन; यसले उत्पादन, रोजगारी र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्छ। अध्ययनहरूले देखाएअनुसार पूँजी बजारबाट स्रोत जुटाएका कम्पनीहरूले भौतिक पुँजीमा उल्लेखनीय वृद्धि गरेका छन्, जसले उत्पादन विस्तार र आर्थिक गतिविधिमा वृद्धि ल्याएको छ । पुँजी बजारको विकास प्रारम्भमा विकसित देशहरूमा सीमित रहे पनि पछिल्ला दशकहरूमा यसको विस्तार तीव्र रूपमा विकासशील र मध्यम आय भएका देशहरूतर्फ सरेको छ । विशेषगरी सन् २००० पछि पुँजी बजारबाट वित्तपोषण गर्ने कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ, जसमा साना तथा युवा उद्यमहरूको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ जुन पहिले बैंक वित्तीय प्रणालीबाट पर्याप्त ऋण पाउन नसक्ने वर्ग थियो । यसले पुँजी बजारले वित्तीय पहुँचलाई व्यापक बनाउँदै उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गरेको स्पष्ट हुन्छ । यस प्रक्रियामा म्युचुअल फण्डले खुद्रा बचतलाई संस्थागत लगानीमा रूपान्तरण गर्दै पुँजी प्रवाहको माध्यम बनेको छ, जसले विकासशील अर्थतन्त्रमा लगानीको संरचना परिवर्तन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। खासगरी सन् २०००–२०२२ बीच करिब १४,००० नयाँ कम्पनी क्यापिटल मार्केटमा प्रवेश गर्नु र तीमध्ये ६० प्रतिशतभन्दा बढी साना तथा युवा उद्यम (SMEs) हुनु, पूँजी बजारको समावेशी चरित्रको सूचक हो । यही प्रक्रियामा म्युचुअल फन्डले खुद्रा बचतलाई संस्थागत लगानीमा रूपान्तरण गर्दै यी कम्पनीहरूमा पूँजी पुर्याउने महत्त्वपूर्ण पुलको काम गरेको छ । पुँजी बजारबाट स्रोत जुटाएका कम्पनीहरूले भौतिक पूँजीमा उल्लेखनीय वृद्धि गरेका छन् , कम आय भएका मुलुकमा औसत १६ प्रतिशत र मध्यम आय भएका मुलुकमा ८ प्रतिशत वृद्धि। यससँगै रोजगारीमा १२–२० प्रतिशतसम्म वृद्धि देखिएको छ, जसले पूँजी बजार केवल शेयर कारोबारको थलो नभई रोजगारी सृजना र उत्पादन विस्तारको महत्त्वपूर्ण माध्यम हो भन्ने पुष्टि गर्छ । सन् २००० यता विकासोन्मुख अर्थतन्त्रहरूमा क्यापिटल मार्केटबाट वित्तपोषण गर्ने कम्पनीहरूको संख्या ३०० प्रतिशतले बढेको, जबकि उच्च–आय भएका अर्थतन्त्रमा यो वृद्धि दर ४० प्रतिशत जति मात्र रहेको तथ्य अध्ययनले देखाउँछ । रोजगारी सृजनाको दृष्टिले पनि म्युचुअल फण्ड र पूँजी बजारले महत्वपूर्ण योगदान पुर्याएका छन् । फण्ड व्यवस्थापन, अनुसन्धान, विश्लेषण, सूचना प्रविधि, कानुनी सेवा र लेखापरीक्षण जस्ता क्षेत्रमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ भने पूँजी बजारमार्फत जुटेको लगानीले उद्योग र सेवा क्षेत्रमा विस्तार ल्याएर अप्रत्यक्ष रोजगारी पनि बढाएको छ । यसले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्दै उत्पादन र आयस्तर वृद्धि गर्न सहयोग गरेको छ । दीर्घकालीन रूपमा हेर्दा पुँजी बजारमार्फत पूँजी उच्च प्रतिफल दिने क्षेत्रमा प्रवाह हुँदा समग्र आर्थिक उत्पादकत्व र स्थायित्व दुवैमा सुधार आउँछ । समावेशी विकासको दृष्टिले पूँजी बजारले साना, नयाँ र नवप्रवर्तनशील उद्यमलाई पनि वित्तीय पहुँच दिलाएको छ। पहिले बैंक ऋण प्राप्त गर्न गाह्रो मानिने SMEs ले ऋणपत्र जारी गर्ने, इक्विटी भित्र्याउने र म्युचुअल फन्ड तथा अन्य संस्थागत लगानीकर्ताबाट पूँजी पाउने मार्ग खोलिएको छ। यसले आर्थिक अवसरको “लोकतन्त्रीकरण” गर्दै लगानीलाई उच्च प्रतिफल (high marginal return) हुने उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने वातावरण बनाएको प्रतिवेदनले औँल्याएको छ । नेपालमा पुँजी बजार र म्युचुअल फन्ड नेपालको सन्दर्भमा पूँजी बजारको विकास क्रमशः विस्तारोन्मुख देखिन्छ । सन् १९९३ मा नेपाल स्टक एक्सचेञ्ज स्थापना भएपछि औपचारिक रूपमा सुरु भएको पूँजी बजार अहिले सूचीकृत कम्पनीहरूको संख्या, बजार पुँजीकरण र लगानीकर्ताको सहभागिताको दृष्टिले उल्लेखनीय रूपमा बढेको छ । बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको करिब ३५–४० प्रतिशतसम्म पुगेको छ । डिम्याट खाताहरू ५० लाख नाघ्नुले पूँजी बजार क्रमशः जनस्तरमा विस्तार हुँदै गएको संकेत गर्छ। बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो र बचत उच्च रहने प्रवृत्तिले वैकल्पिक लगानीको खोजीलाई तीव्र बनाएको छ, जसले पूँजी बजार र विशेषतः म्युचुअल फण्डतर्फ लगानी आकर्षित भएको देखिन्छ। धितोपत्र बोर्डको नियमन अन्तर्गत सञ्चालन हुने यी योजनाहरूले साना लगानीकर्तालाई पूँजी बजारमा प्रवेशको सहज माध्यम प्रदान गरेका छन् । कुल व्यवस्थापन अन्तर्गतको सम्पत्ति (AUM) निरन्तर वृद्धि हुँदै गएको छ, जसले लगानीकर्ताको विश्वास र बजारको विस्तारलाई प्रतिबिम्बित गर्छ। म्युचुअल फण्डले इक्विटी र स्थिर आय साधनहरूमा सन्तुलित लगानी गर्दै बजारमा तरलता र स्थायित्व दुवै बढाएको छ । यसले पूँजी बजारलाई अधिक व्यवस्थित, संस्थागत र विश्वसनीय बनाउन योगदान पुर्याएको छ । अधिकांश लगानीकर्ता साना र सीमित स्रोतमा खुम्चिएको र लगानीको जोखिम लिने बानी कम भएको नेपाल जस्तो विकासशील अर्थतन्त्रमा म्युचुअल फण्डको भूमिका अत्यन्त महत्वपूर्ण छ । यसले साना बचतलाई संकलन गरी विभिन्न क्षेत्रमा लगानी गर्दै जोखिम विविधिकरण गर्छ र प्रतिफलको सम्भावना सन्तुलित बनाउँछ । अनुभवी फण्ड म्यानेजरहरूले बजार विश्लेषण र रणनीतिक निर्णयमार्फत पूँजीको प्रभावकारी उपयोग सुनिश्चित गर्छन् । साथै म्युचुअल फण्डले मध्यम वर्ग, युवा र ग्रामीण समुदायलाई पूँजी बजारसँग जोड्दै लगानी संस्कृतिको विकास गरेको छ र “धनी वर्गमा मात्र सीमित लगानी” भन्ने परम्परागत सोचलाई परिवर्तन गर्दै लोकतान्त्रिक आर्थिक प्रणाली निर्माणमा समेत टेवा पुर्याएको छ । “Financing Firm Growth: The Role of Capital Markets in Low- and Middle-Income Countries” प्रतिवेदनले नेपालको बारेमा छुट्टै विस्तृत केस–स्टडी प्रस्तुत नगरे पनि नेपाल जस्ता कम आय तथा विकासोन्मुख अर्थतन्त्रहरूका लागि लागू हुने महत्त्वपूर्ण निष्कर्षहरू प्रस्तुत गरेको छ । प्रतिवेदनले देखाउँछ कि नेपालजस्ता देशहरूमा क्यापिटल मार्केट अझै प्रारम्भिक विकास चरणमा भए पनि यसको विस्तारले निजी क्षेत्रको वृद्धि, रोजगारी सिर्जना र पुँजी निर्माणमा महत्वपूर्ण सम्भावना बोकेको छ । विशेषतः बैंक–केन्द्रित वित्तीय प्रणाली भएका अर्थतन्त्रहरूमा दीर्घकालीन लगानीका लागि वैकल्पिक स्रोतको अभाव हुने भएकाले पूँजी बजारको विकास आवश्यक ठहरिएको छ । नेपालमा पनि उद्योग, पूर्वाधार र नयाँ उद्यमहरूका लागि पर्याप्त दीर्घकालीन वित्तीय स्रोत अभाव हुने सन्दर्भमा क्यापिटल मार्केटले पूरक भूमिका खेल्न सक्ने प्रतिवेदनको निष्कर्षसँग मेल खान्छ । त्यसैगरी, प्रतिवेदनले साना तथा युवा उद्यम (SMEs) लाई वित्तीय पहुँच विस्तार गर्न पूँजी बजार प्रभावकारी माध्यम बन्न सक्ने देखाएको छ, जुन नेपालका लागि विशेष रूपमा सान्दर्भिक छ। नेपालमा अधिकांश व्यवसाय साना तथा मध्यम स्तरका भएकाले यिनलाई इक्विटी र ऋणपत्रमार्फत पूँजी जुटाउने अवसर विस्तार गर्नु आवश्यक देखिन्छ । यस प्रक्रियामा म्युचुअल फण्ड जस्ता संस्थागत लगानी संयन्त्रहरूले खुद्रा बचतलाई संकलन गरी यस्ता उद्यमहरूमा प्रवाह गर्ने “पुल” को रूपमा काम गर्न सक्ने संकेत पनि प्रतिवेदनले दिएको छ । आगामी बाटो विश्व बैंकको प्रतिवेदनले नेपाललाई प्रत्यक्ष रूपमा विश्लेषण नगरे पनि नेपालजस्ता विकासोन्मुख देशहरूका लागि पूँजी बजार विस्तार, संस्थागत लगानी (जस्तै म्युचुअल फण्ड) को विकास, र वित्तीय पहुँच विस्तारमार्फत समावेशी आर्थिक वृद्धि हासिल गर्न सकिने स्पष्ट सन्देश दिएको छ । यद्यपि, म्युचुअल फण्डले नागरिकलाई लगानीको महत्त्व बुझाउँदै व्यक्तिगत तथा पारिवारिक पूँजी निर्माणमा महत्वपूर्ण योगदान दिएको भए पनि यसको वास्तविक सामाजिक–आर्थिक प्रभावबारे नेपालमा समग्र राष्ट्रिय अध्ययनको अभाव छ । लाखौं लगानीकर्ता र अरबौं रुपैयाँ परिचालित यस क्षेत्रमा प्रभावकारी प्रतिफल सुनिश्चित गर्न र संस्थागत क्षमतालाई उत्पादनशील बनाउन स्पष्ट राष्ट्रिय रणनीति आवश्यक देखिन्छ । रेमिट्यान्सको विस्तार, ग्रामीण क्षेत्रमा विद्युत् र इन्टरनेटको पहुँच, तथा डिजिटल माध्यमको तीव्र प्रयोगले लगानी व्यवहारमा ठूलो परिवर्तन ल्याएको छ, जसको असर पुँजीबजारमा पनि देखिन थालेको छ । त्यसैले म्युचुअल फण्डको संरचना, लगानी प्रक्रिया, प्रतिफल दर, वितरण प्रणाली र जनशक्तिको अवस्थाबारे गहिरो अध्ययन अपरिहार्य छ । साथै, यस विषयमा व्यापक जनबहसको अभावले नीति सुधारमा बाधा पुर्याएको छ । आगामी दिनमा नेपाल सरकार, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्रबीच समन्वय गर्दै यस क्षेत्रलाई अझ पारदर्शी, गतिशील र प्रभावकारी बनाउनु अत्यावश्यक छ । विश्वव्यापी अनुभवले देखाए झैं जब पुँजी बजार व्यवस्थित, पारदर्शी र समावेशी हुन्छ, तब यसले दीर्घकालीन आर्थिक विकासको बलियो आधार तयार गर्छ । नेपालमा पनि यदि नीतिगत स्थिरता, लगानीकर्ता संरक्षण र संस्थागत सुधारलाई प्राथमिकता दिइयो भने म्युचुअल फण्डले अर्थतन्त्रलाई गतिशील, समावेशी र दिगो बनाउने महत्त्वपूर्ण माध्यमका रूपमा आफ्नो पूर्ण सम्भावना उजागर गर्न सक्छ ।
भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौं । मुलुकभरका विभिन्न स्थानबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । खार्पुनाथ गाउँपालिका– ४ ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारुद ९० ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी, प्युठान, ऐरावती गाउँपालिका– ६ धाइरेचौरस्थित टुनिचौर सामुदायिक वनबाट भरुवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । रुकुम-पूर्व, सिस्ने गाउँपालिका– ५ माथिल्लो हेप्लास्थित चिसापानी खोला छेउबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रुमालवाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
विराटनगर एयरपोर्टबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको २६ लाख बढी रकमसहित विराटनगर एयरपोर्टबाट दुई जना पक्राउ परेका छन् । शुक्रबार विराटनगरबाट काठमाडौंबाट जाने क्रममा चेकजाँच गर्दा ३५ वर्षीय दिलिप तामाङ र ३६ वर्षीय भारतका मोहिदिल अली पक्राउ परेका हुन् । शुक्रबार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौं जाने क्रममा तामाङको साथबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला पारेको थियो । त्यसैगरी, शनिबार श्रीएयरको उडानबाट विराटनगरदेखि काठमाडौं जाने क्रममा चेकजाँच गर्दा स्रोत नखुलेको १५ लाख ९८ हजार रुपैयाँसहित अली पक्राउ परेका हुन् । स्रोत नखुलेको रकम २६ लाख ९८ हजार फेला परेकाले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना हुने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको घोषणा गरेको छ । कम्पनीले ‘जीवन महत्त्वपूर्ण छ, यसलाई सँगै थप सुन्दर बनाऔं’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले यस कार्यक्रममार्फत सर्वसाधारणमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र बहुमूल्य मानव जीवन बचाउन योगदान पु‍र्याउने पवित्र उद्देश्य राखेको जनाएको छ । सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना हुन लागेको स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण गराउन कम्पनीले सबैमा आह्वान गरेको छ । बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म नेपाल लाइफको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा स्वास्थ्य परीक्षण हुनेछ । ‘रक्तदान नै जीवनदान हो’ भन्ने भावनालाई आत्मसात् गर्दै कम्पनीले केन्द्रीय स्तर र सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।
आयकरको सीमा घटाउनेबारे बोले रवि, घाटामा रहेका कम्पनीलाई आईपीओ निकाल्न नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आयकरको सीमा घटाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। निजी क्षेत्रसँगको छलफलमा उनले आयको ५० प्रतिशत कर तिर्नु न्यायोचित नभएको उल्लेख गर्दै कर प्रणाली सुधार गरिने स्पष्ट पारे । निजी क्षेत्रका उद्योगी-व्यवसायीसँगको संवादमा लामिछानेले आफू धेरै बोल्नभन्दा सुझाव सुन्न आएको बताउँदै रास्वपाले बाचापत्रमार्फत वास्तविक अर्थतन्त्र सुधार, निजी क्षेत्रका समस्या समाधान र सर्वसाधारणको दैनिकीसँग जोडिएका मुद्दामा स्पष्ट रोडम्याप बनाएको बताए । 'तपाईहरूको सरोकारमा विमति राख्ने ठाउँ छैन, हामी समाधानमुखी ढंगले अघि बढ्छौं,' उनले भने । उनले निजी क्षेत्रलाई डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै सरकार सुशासन र आर्थिक वृद्धिको नयाँ चरणतर्फ अघि बढेको बताए। केही व्यवसायीले अर्थतन्त्रमा अस्वाभाविक नियन्त्रण जमाउन खोजेकाले नियमनमा कडाइ गरिएको उल्लेख गर्दै उनले इमान्दार व्यवसायीलाई भने कुनै दुःख नदिने आश्वासन दिए । लामिछानेले उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण, प्राकृतिक स्रोतको सदुपयोग, रुग्ण उद्योग पुनः सञ्चालन तथा लाइसेन्स प्रक्रिया छिटो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए। 'रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका मुख्य छ, त्यसैले सरकार सहयोगी बन्न चाहन्छ,' उनले भने । जलविद्युत् क्षेत्रमा घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने, सनसेट ल लगायतका नीतिगत विषय सम्बोधन गर्ने, एमआरपी समस्या समाधान गर्ने र एलडीसी ग्राजुएसनपछि देखिने असर न्यूनीकरणका लागि थप कदम चालिने उनले जानकारी दिए । सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण, आयातलाई व्यवस्थित गर्दै उत्पादन बढाउने, वन ऐन सुधार र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणजस्ता विषयमा पनि सरकार सक्रिय रहेको उनले बताए। 'हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो, सही नीति बनाएर निजी क्षेत्रलाई प्रोत्साहन गर्छौं, कुनै स्वार्थ खोज्दैनौं,' उनले भने । सरकारको स्थिरता र लक्ष्यमा कुनै विचलन नआउने उल्लेख गर्दै लामिछानेले आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य थप सुदृढ गरिने बताए ।
जेलमा इरानकी नोबेल पुरस्कार विजेताको स्वास्थ्य बिग्रिएपछि परिवारको राख्यो यस्तो माग
काठमाडौं । जेलमा बन्द इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीका आफन्तहरू तथा नोबेल शान्ति पुरस्कार समितिले उनलाई राम्रो स्वास्थ्य सेवा उपलब्ध हुने स्थानमा सार्न माग गरेका छन् । उनको स्वास्थ्यमा अचानक गम्भीर गिरावट आएपछि यस्तो माग गरिएको हो । शुक्रबार उनका परिवारले जानकारी दिएअनुसार ५४ वर्षीया नरगिसलाई उत्तर–पश्चिमी इरानको जेलबाट स्थानीय अस्पतालमा लगिएको छ । परिवारले यस कदमलाई ‘अन्तिम समयमा चालिएको कदम, जुन सायद निकै ढिलो गरिएको हो’ भनेर टिप्पणी गरेको छ । नर्वेमा बस्दै आएका उनका भाइले शनिबार बीबीसीलाई भने, ‘उनको रक्तचाप निकै छिटो घटिरहेको छ र त्यसलाई स्थिर राख्न सकिएको छैन ।’ नरगिस मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनलाई डिसेम्बरमा अधिकारीहरूको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उनका भाइ हामिदरेजा मोहम्मदीले बताएका थिए कि उत्तर–पश्चिमी इरानको जञ्जान जेलमा सँगै रहेका कैदीहरूले उनलाई बेहोस अवस्थामा भेटेका थिए, सम्भवतः उनलाई हृदयघात भएको थियो । उनले बताएअनुसार मुटु, फोक्सो र रक्तचापसम्बन्धी पुराना रोगहरूको इतिहास हुँदाहुँदै पनि जेल प्रशासनले उनलाई अस्पताल सार्न अस्वीकार गरेको थियो । शुक्रबार नरगिस मोहम्मदी फाउन्डेशन (जसलाई उनका परिवारले सञ्चालन गर्छ) ले ‘उनको स्वास्थ्यमा आएको अत्यन्त गम्भीर गिरावट’ पछि उनलाई जञ्जान प्रान्तको एक अस्पतालमा सारिएको जनाएको छ । वक्तव्यमा यो पनि उल्लेख गरिएको छ कि यो कदम ‘१४० दिनको मनमानी हिरासत र आवश्यक विशेष स्वास्थ्य सेवाबाट निरन्तर वञ्चित गरिएपछि’ चालिएको हो । नरगिस मोहम्मदी फाउन्डेशनका अनुसार उनलाई अहिलेसम्म विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ र उनलाई कुल ३१ वर्षको जेल सजायसँगै १५४ कोर्रा हान्ने सजाय सुनाइएको छ ।
एक करोड लागतमा तीनकोठे वडा कार्यालय भवन निर्माण
ढोरपाटन । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको आफ्नै भवन सर्ने तयारी गरेको छ । स्थानीय कृष्णबहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्रकली पुन र मोहन पुनको परिवारले रु १० लाख मूल्य बराबरको १० रोपनी जमिन निःशुल्क रूपमा उपलब्ध गराएपछि भवन निर्माण गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । “अहिलेसम्म आफ्नै भवन नहुँदा सामुदायिक वनको भवनबाट सेवा प्रवाह गर्दै आएका छौँ, यहाँबाट सेवा प्रवाह गर्दा निकै समस्या भोग्नु प¥यो, अब आफ्नै भवनमा यही वैशाख २३ गते सर्ने गरी तयारी छ”, उनले भने । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै वडा कार्यालयलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए । अधिकांश वडाका भवन निर्माणाधीन छन् ।
व्यवसायीलाई रविको वचन : तपाईंहरू डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा निजी क्षेत्रका संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरूसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् । निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने, ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’ सोही क्रममा सभापति लामिछानेले केही व्यवसायीहरू तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे । ‘यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ, सरकारले अहिले यही गरेको हो,’ उनले भने, ‘धरपकडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ ।’ पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगी लगायतका कसुरमा केही उद्योगी व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ । सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रास्वपाले बनाइसकेको पनि जानकारी दिए । लामिछानेले समस्या सम्बोधनका लागि उद्योगी व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनैनपर्ने पनि स्पष्ट पारे । ‘तपाईंले मलाई, मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन टेक्नुपर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला । तर, हामी तपाईंहरूलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौं,’ उनले भने । सोही क्रममा सभापति लामिछानेले सरकारले कोही कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबार बिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैंका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिमामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र पुन: स्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबारबिहीन बनाउँदैन,’ उनले भने । त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै निजी क्षत्रेलाई सहज रूपमा काम गर्न दिन आग्रह गरे । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजीक्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो’ उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए । त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे । आगामी बजेटमा यसबारेमा ध्यान दिन पनि उनले सुझाव दिए । त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । निजीक्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो । कार्यक्रममा उद्योगीहरू हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, शशीकान्त अग्रवाल, वरुण चौधरी, लगायत उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।