गुणस्तर नपुगेपछि ग्लिपिड–१ औषधी बजारबाट फिर्ता गर्न विभगको निर्देशन
काठमाडौं । औषधीको गुणस्तर परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि ‘ग्लिपिड–१’ नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्दा टाइम फार्मास्युटिकल्स प्रालि, नवलपरासीले उत्पादन गरेको ग्लिपिड–१ औषधीको एक समूह न्यून गुणस्तरको पाइएको जनाएको हो । विभागका अनुसार उक्त औषधीमा ग्लिमेपिराइड १ मिलिग्राम रहेको छ । औषधीको समूह नम्बर जीएम–०७०, उत्पादन मिति अप्रिल २०२६ र म्याद सकिने मिति सेप्टेम्बर २०२७ रहेको छ । प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधि संयुक्त राज्य अमेरिकाको औषधी मापदण्डसम्बन्धी पुस्तकको सन् २०२६ को संस्करणमा तोकिएको घुलनशीलता परीक्षणमा निर्धारित मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ । गुणस्तरमा समस्या देखिएपछि विभागले उक्त समूह नम्बर जीएम–०७० को औषधीको बिक्री–वितरण रोक्न तथा बजारमा रहेका औषधी तत्काल फिर्ता गर्न सम्बन्धित उत्पादक तथा व्यवसायीलाई निर्देशन दिएको छ । साथै,. विभागले उक्त समूहको औषधीको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ । फिर्ता गरिएको औषधीको विवरण विभागमा पेश गर्नसमेत भनिएको छ । उक्त औषधी मधुमेह नियन्त्रणका लागि प्रयोग हुने ग्लिमेपिराइडयुक्त औषधी हो । विभागले गुणस्तर परीक्षणमा समस्या देखिएको जीएम–०७० समूहको औषधी मात्र बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
नापी अधिकृत ९ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको माछापोखरीस्थित नापी टोलीका प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने भन्दै वलीले सेवाग्राहीसँग घुस मागेको उजुरी परेको अख्तियारले जनाएको छ । उजुरीका आधारमा अख्तियार टंगालबाट खटिएको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते पक्राउ गरिएको अख्तियारले जनाएको छ । वली जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन् । पक्राउ परेका वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ जना सम्पर्कबिहीन
काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा ठूलो क्षति पुगेको छ । महासंघकाका अनुसार बाढीले देशभरका नौ विभिन्न यातायात कम्पनीका सवारीसाधनमा क्षति पुर्याउँदा ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी कुल ३४४ जना बेपत्ता भएका छन् । बाढीका कारण विभिन्न यातायात कम्पनीहरूले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको छ। महासंघका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना मजदुर बेपत्ता भएका छन् । यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ जना बेपत्ता भएका छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई जना चालक बेपत्ता भएका छन् । त्यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० जना चालक बेपत्ता भएका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ जना चालक बेपत्ता भएको महासंघले जनाएको छ । सबैभन्दा बढी क्षति व्यहोरेको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ वटा माइक्रोबसमा क्षति पुगेको छ । यसैगरी, यात्रुवाहक सवारीतर्फ पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ जना यात्री गरी २३ जना बेपत्ता भएका छन् । यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बस बाढीमा पर्दा एक चालक र २५ जना तीर्थयात्री बेपत्ता भएको महासंघले जनाएको छ । बाढीले क्षति पुर्याएका सवारीसाधनको उद्धार र बेपत्ता व्यक्तिहरूको खोजतलास जारी छ ।
भोटेकोसी विपद्को कारण खोज्दै विश्वभरका वैज्ञानिक
काठमाडौं । गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीको विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुसन्धान गरेका छन् । २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मानव सिर्जित जलवायु परिवर्तन नै यसको प्रमुख कारण हो । यद्यपि, उनीहरू अझै अनुसन्धानमै छन् । यो क्षेत्र अझै पनि साँघुरो पहाडी उपत्यका हुँदै बग्ने विनाशकारी बरफको चट्टान हिमपहिरोको प्रभावसँग जुधिरहेको छ, जसले सहर, सडक र पुलहरू ध्वस्त पारेको थियो । कम्तीमा १ हजार ३०० जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी बेपत्ता भएका छन् । अहिले प्रभावित क्षेत्रमा उद्धार, पुनःस्थापना तथा पुन:निर्माणतर्फ अघि बढिरहेका बेला नेपालले ठूलो पुन:निर्माणको चुनौती सामना गर्नुपरेको छ । यसैबीच विश्वभरका वैज्ञानिकहरूले उक्त विपद् कसरी भयो भन्ने बुझ्न अध्ययन गरिरहेका छन् । विज्ञहरूका अनुसार अगस्ट २६ मा लाङटाङ लिरुङ हिमालको करिब २ हजार फिट चौडाइको विशाल चट्टान र हिमनदीको भाग छुट्टिएर करिब ७ हजार फिट तल नदीमा खसेको थियो । त्यसबाट निस्किएको ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग बराबर थियो । त्यो यति ठूलो शक्तिका साथ खसेको थियो कि हिउँ लगभग तत्कालै पग्लिएको थियो । प्रवाहले ओसिलो माटो र भग्नावशेष पनि बोकेको थियो र सम्भवतः उपत्यकाको भुइँमा गाडिएको हिउँसँग ठोक्किएको थियो । जसले गर्दा बाढीको छाल अझ शक्तिशाली भयो र २० माइलभन्दा बढी यात्रा गर्यो । नेदरल्यान्ड्सको उट्रेट विश्वविद्यालयका पर्वतीय जलविद् वाल्टर इम्मरजेलले यसलाई ‘हिमालयमा भएको अभूतपूर्व विपद्’ भनेका छन् । आखिर हिमपहिरो किन गयो ? विश्वभरका चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिकाको अध्ययन गर्ने नेटवर्क ‘वर्ल्ड वेदर एट्रिब्युसन’ (मा आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूको टोलीले बुधबार यसको विस्तृत विश्लेषण सार्वजनिक गर्दै उक्त प्रश्नको जवाफ दिने प्रयास गरेको छ । वैज्ञानिकहरूका अनुसार उक्त विपद् एउटै चरम मौसमी घटनाका कारण भएको होइन । बरु धेरैवटा प्रक्रियाहरू एकैपटक सक्रिय भएका थिए र जीवाश्म इन्धनको प्रदूषणका कारण दशकौंदेखि भइरहेको जलवायु तापक्रम वृद्धिले ती प्रक्रियालाई थप जटिल बनाएको थियो । वैज्ञानिकहरूले सन् २०१५ अप्रिलमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले हिमालको ढलान कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने बताएका छन् । उक्त भूकम्पले हिमालको दक्षिणी भागबाट चट्टान र हिउँको हिमपहिरो निम्त्याएको थियो । त्यसयता उक्त हिमालमा पहिरो जाने दर बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि वैज्ञानिकहरूले जलवायु परिवर्तनको भूमिका अध्ययन गरे र यसमा धेरै प्रक्रियाहरू एकसाथ सक्रिय भएको पाए । जलवायु परिवर्तनका कारण हिमालयमा ‘शून्य डिग्री’ रेखा अर्थात् वायुमण्डलको तापक्रम शून्य डिग्री सेल्सियस पुग्ने उचाइ प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको छ । वैज्ञानिकहरूका अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा रहेको पर्माफ्रस्ट, बरफ, चट्टान, बालुवा र माटोको मिश्रण, जसले जमिनलाई जोडेर राख्न सक्छ । जुन बढ्दो तापक्रमका कारण कमजोर हुँदै गएको छ । विशेषगरी हिमपहिरो भएको उचाइ आसपास यस्तो असर देखिएको छ । इम्मरजेलका अनुसार पर्माफ्रस्ट पग्लिँदा ‘चट्टानको मजबुती घट्छ र थप पानी ढलानभित्र प्रवेश गर्न पाउँछ ।’ हिमनदीमा आएको परिवर्तन अर्को महत्वपूर्ण कारक हो । पछिल्ला दशकहरूमा लाङटाङ–लिरुङ हिमनदीमा उल्लेख्य रूपमा संकुचन आएको छ, विशेषगरी सन् २०१० पछि । यसले ढलानलाई कम स्थिर बनाएको र चट्टानका चिराहरूमा पस्न सक्ने पग्लिएको पानी उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले हिमपहिरो हुनुअघिको मौसमसमेत अध्ययन गरेका थिए । गत शरद् ऋतुमा अक्टोबर र नोभेम्बरको सुरुआतमा उक्त क्षेत्रमा असाधारण मात्रामा हिउँ परेको थियो । त्यसपछिको जुलाई र अगस्ट महिनामा स्थानीय स्तरमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम दर्ज भएकाे थियाे । यसले ठूलो मात्रामा हिउँ तथा बरफ पग्लिने पानी उत्पादन गरेको हुन सक्ने र त्यसले ढलानलाई थप कमजोर बनाएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ । ऐतिहासिक तथ्यांक र जलवायु मोडल प्रयोग गरेर अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा जुलाई र अगस्टको तापक्रम जलवायु परिवर्तनका कारण अहिले करिब १.५ डिग्री सेल्सियस बढी रहेको पत्ता लगाएका छन् । यस क्षेत्रको वार्षिक तापक्रमसमेत २ डिग्री सेल्सियसले बढेको छ, जुन विश्वव्यापी औसत वृद्धिभन्दा उल्लेख्य रूपमा बढी हो । तर विश्वव्यापी तापक्रम वृद्धिसँग हिउँ तथा वर्षाको मात्रा बढेको सम्बन्ध भने त्यति स्पष्ट देखिएन। यसको एउटा कारण जटिल र दुर्गम हिमालय क्षेत्रमा मौसमसम्बन्धी तथ्यांक मापन तथा निगरानीमा रहेको कठिनाइ रहेको वैज्ञानिकहरूले बताएका छन् । समग्रमा ‘मानव सिर्जित जलवायु परिवर्तनले विपद्को पूर्वतयारी तथा जोखिम बढाउन भूमिका खेलेकोमा कुनै शंका छैन’ भन्ने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओटोले यस्तो बताएकी हुन् । वैज्ञानिकहरूका अनुसार यो हिमाली ढलान भत्किने घटना आकार, गति र जटिलताका हिसाबले यस क्षेत्रले यसअघि भोगेका घटनाभन्दा मौलिक रूपमा फरक थियो। उनीहरूले कुनै पनि विद्यमान पूर्वसूचना प्रणालीले पर्याप्त समय अगावै चेतावनी दिन नसक्ने बताएका छन् । ओटोका अनुसार यो ‘हामीले अनुकूलन गर्न सक्ने सीमाभन्दा बिल्कुलै बाहिरको घटनामध्ये एक’ हो । विश्वले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई तीव्र रूपमा घटाउन नसके ‘यस्तै स्तरका थप विपद्हरू अनिवार्य रूपमा देखिनेछन्’ उनले बताएकी छन् । (सीएनएन)
विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडी डेलिभरी
काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा नेपालभर एकै दिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका २२ वटा शोरुममार्फत ग्राहकलाई १५० वटा गाडी डेलिभरी गरेको हो । डेलिभरी गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी रहेका छन् । यससँगै विभिन्न पेट्रोल तथा डिजेल इन्जिनयुक्त गाडी पनि ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । यीमध्ये अधिकांश गाडी यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, बिक्रीका लागि प्रस्तुत तथा बुकिङ गरिएका थिए । एक्स्पो र अटो शोमा प्राप्त बुकिङ प्रक्रिया पूरा भएपछि विश्वकर्मा पूजाको अवसर पारेर गाडी हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेका बेला टाटाका नयाँ ईभी मोडलको डेलिभरीले बजारमा थप उत्साह देखिएको कम्पनीको भनाइ छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ । विश्वकर्मा पूजाको दिन एकैपटक ठूलो संख्यामा गाडी डेलिभरी हुनु टाटा मोटर्सप्रति नेपाली ग्राहकको रुचि र विश्वासको संकेत भएको सिप्रदीको भनाइ छ । कम्पनीले ग्राहकको आवश्यकता र बजारको मागअनुसार नयाँ प्रविधि, सुरक्षा र सुविधासहितका विभिन्न मोडल नेपाली बजारमा ल्याउँदै जाने जनाएको छ ।
५५ हजार बढीलाई हैजाविरुद्ध खोप, २९ होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा
काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन तथा संक्रामक रोगको जोखिम न्यूनीकरणका लागि औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, रोग निगरानी, मानसिक स्वास्थ्य सेवा, पोषण कार्यक्रम तथा खोप अभियानलाई तीव्रता दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको ‘आकस्मिक बाढी प्रतिकार्यसम्बन्धी प्रतिवेदन’अनुसार विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको मौज्दात व्यवस्थापन, प्राप्ति, मागअनुसार विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य शिविरमा वितरण र आपूर्ति भइरहेको छ । झपीगो कर्पोरेसन नेपालबाट ५८ हजार १४६ इकाइ औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । प्राप्त सामग्रीमा उच्च रक्तचाप तथा मधुमेहजस्ता नसर्ने रोगका औषधिसहित एम्लोडिपिन ७ हजार ५००, मेटफर्मिन ५ हजार, लोसार्टान ५ हजार, सिटाग्लिप्टिन प्लस मेटफर्मिन ४ हजार, आइरन तथा फोलिक एसिड ३ हजार, प्यारासिटामोल २ हजार, फ्लुक्लोक्सासिलिन २ हजार, डक्सिसाइक्लिन २ हजार र एसिलोफेनाक २ हजारलगायत छन् । त्यसैगरी, नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा ९ हजार ७२० इकाइ औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ । पठाइएका सामग्रीमा ३, ५ र १० मिलिलिटरका सिरिन्ज ६ हजार, एमोक्सिसिलिन प्लस क्लाभुलानिक एसिड १ हजार, नसामा औषधि दिने सेट ५००, शल्यक्रियाका पञ्जा ५०० र डाइक्लोफेनाक जेल ४०० लगायत छन् । स्वास्थ्य सेवा विभागमा भदौ ३१ गतेसम्म ३०० भन्दा बढी प्रकारका औषधि तथा स्वास्थ्य सामग्री मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । तीन जनामा ज्वरोको समस्या बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको नियमित निगरानी भइरहेको छ । पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टर तथा आश्रयस्थलबाट तीन जना ज्वरोका बिरामीको विवरण प्राप्त भएको छ । तीमध्ये ज्वरोसहित खोकी, ज्वरोसहित शरीरमा बिमिरा तथा तीव्र झाडापखालाका कुनै बिरामी नभेटिएको ईडीसीडीले जनाएको छ । सम्बन्धित स्थानीय तहबाट ज्वरो तथा झाडापखालाजन्य रोगका बिरामीको उचित व्यवस्थापन भइरहेको र जनस्वास्थ्यसम्बन्धी आवश्यक उपाय अपनाउनुका साथै थप अनुसन्धान तथा निगरानी जारी रहेको विभागले जनाएको छ । २९ होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै नुवाकोट, रसुवा, काठमाडौं र धादिङका २९ वटा होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक सहायता सेवा प्रदान गरिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा जनचेतनामूलक सामग्री वितरण, विशेषज्ञ सेवाका लागि बिरामी पठाउने प्रणाली सुदृढीकरण तथा मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकताको पहिचान र मूल्यांकन भइरहेको छ । मनोचिकित्सक तथा मनोवैज्ञानिकसहितको विशेषज्ञ टोलीले आवश्यक व्यक्तिलाई मानसिक स्वास्थ्य सेवा र सहयोग उपलब्ध गराइरहेको छ । मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन विवरण प्रणालीमार्फत सेवा, अनुगमन र समन्वयलाई पनि निरन्तरता दिइएको छ । पछिल्लो २४ घण्टामा स्थलगत रूपमा ३८६ जनालाई मनोसामाजिक परामर्श र हेल्पलाइनमार्फत दुई जनालाई सहयोग प्रदान गरिएको छ । नुवाकोटमा १ हजार ३५५ बालबालिकाको पोषण परीक्षण बाढी प्रभावित जिल्ला नुवाकोटमा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको परीक्षण भइरहेको छ । किस्पाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा पोषण परीक्षण जारी छ भने विदुर नगरपालिकामा समुदायस्तरीय परीक्षण सुरु हुन बाँकी रहेको छ । हालसम्म यी तीन स्थानीय तहमा १ हजार ३५५ बालबालिकाको पोषण परीक्षण गरिएको छ । बेलकोटगढीमा ७५३, तारकेश्वरमा ३६४ र किस्पाङमा २३८ बालबालिकाको परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ७३८ बालक र ६१७ बालिका छन् । परीक्षणका क्रममा मध्यम तीव्र कुपोषणका ११ जना बालबालिका भेटिएका छन् भने गम्भीर तीव्र कुपोषणका कुनै बालबालिका भेटिएका छैनन् । साथै ७२ गर्भवती र १५१ सुत्केरी महिलासम्बन्धी विवरणसमेत संकलन गरिएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्त्वयुक्त पाउडर वितरण गरिएको छ । स्वास्थ्यकर्मीमार्फत गर्भवती तथा सुत्केरी महिलालाई शिशु तथा बाल पोषणसम्बन्धी परामर्श पनि दिइएको छ । नुवाकोट जिल्लाका सबै स्थानीय तहमा गम्भीर कुपोषित बालबालिकाका लागि प्रयोग हुने उपचारात्मक पोषणयुक्त खाना उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ । पोषण परीक्षणमा विभिन्न साझेदार संस्थाले सहयोग गरेका छन् । किस्पाङमा वल्र्ड भिजन इन्टरनेसनल, बेलकोटगढीमा प्लान र तारकेश्वरमा एड्रा नेपालको सहयोगमा समुदायस्तरीय परीक्षण भइरहेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोषले सबै स्थानीय तहमा स्वास्थ्यकर्मीलाई प्राविधिक सहयोग तथा अभिमुखीकरण प्रदान गरेको छ । रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम कम गर्न रसुवा र नुवाकोटका सबै बाढी प्रभावित पालिकामा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्यकर्मी, उद्धार टोली तथा घाइते व्यक्तिका लागि टिटानस–डिफ्थेरिया खोपसम्बन्धी आवश्यक प्राविधिक सहयोग पनि भइरहेको छ । प्रतिवेदनअनुसार हालसम्म रसुवामा १५ हजार १९ जना र नुवाकोटमा ४० हजार ७५३ जनाले हैजाविरुद्धको खोप लगाएका छन् । रसुवामा खोपको पहुँच ४८ प्रतिशत र नुवाकोटमा ५३ प्रतिशत पुगेको छ । नुवाकोट र रसुवामा दादुरा–रुबेला खोप अभियानका लागि तयारी भइरहेको छ । त्यस्तै, धादिङ, चितवन र गोरखाका बाँकी बाढी प्रभावित वडामा पनि हैजाविरुद्धको खोप अभियान सञ्चालनका लागि तयारी अघि बढाइएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोषले नियमित खोप कार्यक्रमको अनुगमन, हैजाविरुद्ध तथा टिटानस–डिफ्थेरिया खोप अभियानको सुपरिवेक्षण र अभियानपछिको तथ्यांक व्यवस्थापनमा प्राविधिक सहयोग गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा निरन्तर राख्न औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति, संक्रामक रोगको निगरानी, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, बाल तथा मातृ पोषण र खोप अभियानलाई एकसाथ अघि बढाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जाल्दीगाड जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ६० करोड लगानी
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्वीटी लगानी रहनेछ । आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । सम्झौता सम्बन्धि कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरू समेत उपस्थित थिए । जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् । अब वित्तीय व्यवस्थापनको काम पनि सम्पन्न भएकाले निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद घिमिरेले बताए । जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरेको थियो । विकास हाइड्रोपावर सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशनसमेत गरिसकेको कम्पनी हो । त्यस्तै, यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । जसबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसरी, अनुभवी समूहले नै २२.५० मेगावाटको जाल्दीगाड आयोजना निर्माण गर्ने भएकाले यो आयोजना पनि समयमै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न उद्योग संघको आग्रह
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले भदौ २ गते शुक्रबारदेखि २ हजार ६० रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो । संघले यसअघि भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ढुवानी भाडाबापत १०५ रुपैयाँ ३५ पैसा थप गरी कुल २ हजार १६५ रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न अनुरोध गरेको थियो । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री–वितरण गर्दै आएका थिए । तर, हाल सडक सञ्चालनमा आएसँगै संघका अध्यक्ष दिवान चन्दले आफ्ना विक्रेताहरूलाई सोही अनुसार जानकारी गराई साविककै मूल्यमा ग्यास बिक्री गर्न अनुरोध गरेका हुन् ।