देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल (प्रचण्ड) दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आलोचना गरेका हुन् ।

जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति मुलुकमा हाबी रहेको उनको भनाइ छ । उनले देशको यही आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू एकचोटि फेरि एकताबद्ध हुन जरुरी रहेको बताए ।

उनले मुलुकलाई सही दिशामा अगाडि बढाउन एकचोटि फेरि नेपाली कम्युनिस्ट पार्टी तयार रहेको जिकिर पनि गरे । विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै उनले विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उनको भनाइ छ ।

उनले भने, ‘यतिबेला देशमा विवेक हराएको छ । राज्यमा विचार हराएको छ । आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने प्रवृत्ति, विवेकहीन प्रवृत्ति हाबी छ । हामी विवेकका पक्षधर, विचारका पक्षधर, सिद्धान्तका पक्षधर, जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधर एकचोटि फेरि एकताको झण्डा उठाएर जानुछ । अस्ति हामीले नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको बीचमा सहकार्य गर्ने भनेर तीन बुँदे एउटा निर्णय गर्यौँ । त्योभन्दा पहिले नै माधवजी मोहनविक्रमकहाँ जानुभयो, मिलेर जाने प्रस्ताव राख्नुभयो । उहाँले मनमोहन अधिकारीसँग एकता हुँदाखेरि पैदा भएको उत्साहको उदाहरणसहित मोहनविक्रमजीसँग पनि सहकार्य गर्ने वातावरण बनिसकेको छ । माधवजी र मेरो बीचमा जति कुरा भएको छ यो बीचमा, हामीले देशको जिम्मा फेरि एकचोटि लिनुपर्ने भएको छ ।’

उनले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टी सङ्गठन सुदृढीकरणमा लाग्नसमेत पार्टीपङ्क्तिलाई निर्देशन दिए । 

Share News