काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीका स्थायी बासिन्दा पाण्डेलाई कोषको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रुपन्देहीको तिलोत्तमा स्थायी घर भएका पाण्डेले स्थानीय समुदायका सरोकार र लुम्बिनी क्षेत्रका विषय आफूले नजिकबाट बुझेको बताएका छन् । नियुक्तिपछि प्रतिक्रिया दिँदै उनले स्थानीय भावना र सरोकारलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘म रुपन्देहीको बासिन्दा हुँ । लुम्बिनीमा विगतमा भएका गतिविधि र स्थानीय समुदायका चिन्ताबारे म नजिकबाट जानकार छु । उहाँहरूको भावना समेटेर काम गर्छु,’ पाण्डेले भने ।
पाण्डे प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै उनको निकट रहेर सचिवालयमा काम गर्दै आएका व्यक्ति हुन्। पछिल्लो समय उनी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए।
पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ र सहरी व्यवस्थापनमा अनुभव हासिल गरेका पाण्डेले काठमाडौंको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्।
उनले यसअघि काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन्। स्थानीय तहमा कार्यरत रहँदा भवन निर्माण संहिता, संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक परीक्षण तथा विद्युतीय भवन निर्माण अनुमति प्रणालीको कार्यान्वयन र सुधारमा योगदान गरेको उनको अनुभव छ।