यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्व कात्तिक २० गतेदेखि सुरु हुनेछन् ।

कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ ।

कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ । 

Share News