विकासन्युज

पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् । प्रहरीअनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको खुलासा भएको छ । घटनाको विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो । यसै विवादको क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर इशालप्रसाद कुर्मीलाई हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताएअनुसार फागुन ७ गते वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए । तर अबेर रातीसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशालप्रसाद कुर्मीको तैरिरहेको शव फेला पारेको थियो। प्रहरीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो । पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप जानकारी र अनुसन्धानको प्रगतिबारे जानकारी दिने बताएको छ ।

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौंको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

अध्यादेश पारित हुन नसकेपछि दौडधूपमा सत्तासीन दल, छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुनका लागि बहुमत नपुगेपछि सत्तासिन दल दौडधूपमा लागेका छन् । विशेष गरेर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु नै नेताहरुसँग भेटघाट गरेर अध्यादेशको पक्षमा मत दिन आग्रह गरिरहेका छन् । सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । त्यस्तै, भूमि अध्यादेशसहित संसदमा पेस भएका छन् । ६ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा अहिले नेताहरु छलफल गरिरहेका छन् । केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । पुनले आफूलाई पोखरेलले आग्रह गरेको विषय सार्वजनिक गरेपछि पोखरेलले पनि सामाजिक सञ्जालमार्फत् पुनको आलोचना गरेका थिए । अहिले अधिकांश नेताहरु अध्यादेश कसरी पास गर्ने भन्ने विषयमा दौडधूप गरिरहेका छन् ।   यही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आव्हान गरेका छन् । ओलीले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, अध्यादेश र सरकार सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ । संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा सहभागी हुने बुझिएको छ ।  

सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ । उम्मेदवारहरुले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेश पत्र र नागरिकताको सक्कल प्रति साथमा लिएको हुनु पर्नेछ । प्रत्येक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन हुने छ, उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्ष सम्मिलित  हुन पाउने छन् । परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशीतर्फ एउटै परीक्षा सञ्चालन गरिने छ र निजहरुले प्राप्त गरेको अङ्गको आधा समावेशीतर्फ उम्मेदवारहरु बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने विभागले जनाएको छ ।

बिजबेलले आईपीओ निष्कासन गर्ने, प्रभु क्यापिटलले ‘रोड टु आइपीओ’ प्रक्रियामा सघाउने

काठमाडौं । बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । यसैक्रममा प्रभु क्यापिटलको कर्पोरेट एडभाइजरी सर्भिस अन्तर्गत उक्त कम्पनीले सम्झौता गरेको छ । यो सम्झौताले बिजबेल लिमिटेडको लागि रोड टु आइपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) प्रक्रियामा एउटा प्रमुख कोसेढुङ्गाको रूपमा काम गर्ने जनाइएको छ । हाइड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामाको उपस्थितिमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशिस गौचन र बिजबेल लिमिटेडका संस्थापक सुशील पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाको पनि उपस्थिति थियो । यस सम्झौता अन्तर्गत प्रभु क्यापिटलले बिजबेल लिमिटेडलाई प्रि–आईपीओ र आईपीओ सम्बन्धी सेवाहरूसहित सल्लाहकार सेवाहरू प्रदान गर्नेछ । यी सेवाहरूले पूँजी संरचना र मूल्य निर्धारण योजना, प्रि–आईपीओ इक्विटी बृद्धि, बजार योग्यता, आईपीओ तयारी, र इश्यू व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरू समेट्नेछन्, जसले बिजबेल लिमिटेड आईपीओ प्रक्रियाको लागि पूर्ण रूपमा तयार छ भनी सुनिश्चित गर्नेछ । कम्पनीसँग नवीकरणीय ऊर्जा परियोजनाहरूमा १००० मेगावाटको बलियो पोर्टफोलियो छ । त्यस्तै एक अग्रणी मर्चेन्ट बैंकको रुपमा स्थापित प्रभु क्यापिटल लिमिटेड नेपालमा लगानी बैंकिङ सेवा प्रदान गर्ने कम्पनीका रुपमा परिचित छ ।

काठमाडौंमा ‘एमएडब्लू ईभी कार्निभल’ १८ फागुनदेखि

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । काठमाडौं नक्सालमा रहेको अमरपाली बैंक्वेटमा १८ फागुनदेखि २१ फागुनसम्म कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ । उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ । चार दिनसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएका संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्ने कम्पनीले जनाएको छ । यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्ने छन् । तसर्थ यो इभेन्ट हरेक ईभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुने दाबी कम्पनीको छ । एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् । कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको । हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनेछन् ।

एनसेललाई उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो । यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए । यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३  पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।