काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । पुलमा क्षति पुगेपछि अहिले सवारी आवागमन रोकिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
पुलमार्फत हुने सवारी आवागमन रोकिएपछि काठमाडौं आउने तथा बाहिरिने गाडीहरू बीच बाटोमै रोकिएका छन् । यात्रुहरू पनि मार्ग खुल्ने प्रतीक्षामा बाटोमै अड्किएका छन् ।
सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । सोही क्रममा पुरानो पुल नजिकै निर्माण भइरहेको पुलका कारण भएको भाइब्रेसनले पुरानो पुलमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
पुरानो पुल चर्किएको र साइडमा भ्वाङ परेको पुष्टि भएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको र वैकल्पिक डाइभर्सन निर्माणको काम सुरु गरिएको सुवेदीले बताए ।
यातायात सञ्चालन कहिलेदेखि सम्भव हुन्छ भन्नेबारे थप जानकारी आउन बाँकी छ ।