नागढुंगाबाट १२ किलो चाँदीसहित बस सहचालक पक्राउ

काठमाडौं । काठमाडौं प्रवेश मार्ग नागढुंगा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित एक युवक पक्राउ परेका छन् ।

सोमबार राति चन्द्रागिरि नगरपालिका–२ स्थित चेकप्वाइन्टमा प्रहरीले पर्सा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बसमा चाँदी लुकाएर ल्याउँदै गरेका सहचालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने व्यक्ति ३२ वर्षीय अनिशकुमार सिंह हुन् । जो बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ का स्थानीय हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार सिंहले बसमा सिक्री, चन्द्रमा, पाउजुलगायत चाँदीका गहना लुकाएर ल्याएका थिए । चाँदीका कुनै पनि बिल-पर्ची नदेखिएकाले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News