विकासन्युज

अमेरिका पठाइ दिन्छु भन्दै डेढ करोड रूपैयाँ ठगेपछि…

काठमाडौं । पछिल्लो समय सुविधा सम्पन्न देशमा पठाइदिन्छु भनेर ठूलो परिमाणमा पैसा ठग्नेहरु बढेका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा सहज रुपमा पठाइदिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठाउने र पछि सम्पर्कविहीन हुने गिरोहहरु बढेका छन् । यस्तै, एउटा घटना बाहिरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार यस्ता तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अर्थमन्त्रीले श्रीकृष्णलाई दिए बजेट लेखनको जिम्मा, विश्वासिला पात्र ‘कोर टिम’मा

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् भने सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन् । बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमहरुको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए । यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णय बमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ । आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गते सम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्ग दर्शन पठाउने व्यवस्था छ । त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्य मुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी पठाइएको छ । बजेट मार्ग दर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनाहरुलाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्ने लगायतका विषय समावेश छन् । त्यसैगरी आयोजनाहरु दोहोरो नपर्ने गरी आयोजना बैंकमा समावेश भएका प्रस्ताव मात्र समावेश गर्न पनि अनुरोध गरिएको छ । अर्थमन्त्री पौडेलले आफू निकट र आफ्नो दल निकट कर्मचारीलाई बजेट लेखन समितिमा राखेका छन् । उसो त उनले बजेट लेखनका लागि यसअघि नै अर्थ सचिवदेखि सहसचिव र उपसचिव पनि फेरबदल गरेका थिए । बजेटका नीति तथा कार्यक्रमहरु विगतका वर्षहरुको जस्तो नचुहियोस् भन्ने उद्देश्यले उनले आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिएको बुझिएको छ । सम्बन्धित सामग्री : बजेट निर्माणका लागि ‘टिम म्यानेज’मा अर्थमन्त्री : मन मिल्ने इन, नमिल्ने आउट

बैंकको भन्दा बढी कमाइ, पर्यटनमा तहल्का पिट्दै ओशो वर्ल्ड ट्राभल

  काठमाडौं । पर्यटन क्षेत्रले एउटा लय समातेको देखिएको छ । कोरोना महाकारीका कारण सुस्त बनेको पर्यटन क्षेत्र पछिल्लो समय भने चलायनमा भइरहेको विभिन्न कम्पनीको व्यवसाय वृद्धिले देखिएको छ । काठमाडौंको ठमेलमा रहेको ओशो वल्र्ड ट्राभलले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले सन्तोषजनक आम्दानी गरेको छ । विगतका वर्षहरुको तुलनामा यस कम्पनीको आम्दानी बढ्दै गइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यस कम्पनीको सञ्चालन आम्दानी २२९ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीले सन् २०२४ मा ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२० को तुलनामा २२९ प्रतिशत बढी हो । सन् २०२० मा यस कम्पनीले कुल २ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ८७ करोड ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा २२.८३ प्रतिशतले आम्दानी बढेको देखिएको छ । यस्तै, सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाखर सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी वाणिज्य बैंकको भन्दा पनि बढी हो । पछिल्लो समय वाणिज्य बैंकको सञ्चालन आम्दानी पनि औसतमा २÷३ अर्ब रुपैयाँ मात्रै हुने गरेको छ । आम्दानी बढेपनि यस कम्पनीको नाफा अनुापत भने केही घटेको देखिन्छ । पछिल्लो समय व्यावसायिक प्रतिस्पर्धाको कारण सञ्चालन नाफामा विगतको तुलनामा केही कमी आएको कम्पनीको धारणा छ । विभिन्न नीतिगत परिवर्तन, मौसमी उतारचढाव, आर्थिक मन्दी, कोरोना महामारी जस्ता संकट, भू–राजनीतिक जोखिम लगायत कारणले कम्पनीको व्यवसायमा प्रभाव परेको कम्पनीको दाबी छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस कम्पनीले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । यस कम्पनीले अन्तर्राष्ट्रि हवाइ टिकेटिङको काम गर्दै आएको छ भने टुर प्याकेज बिक्री तथा होटल सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पनि यस कम्पनीले भूमिका खेल्दै आएको छ भने उनीहरुले चाहेको टुर प्याकेज तथा सेवासुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यस कम्पनीको नेतृत्व श्यामराज थपलियाले गर्दै आएका छन् । यस कम्पनीमा उनको ९० प्रतिशत सेयर स्वामित्व छ । सन् १९९२ बाट सञ्चालित यो कम्पनी ट्राभल कम्पनीमा एउटा परिचित नाम हो । नेपालको पर्यटन सम्भावना, सरकारको पर्यटन दशक घोषणा र सरकारको पर्यटनमैत्री नीतिगत व्यवस्थाले आगामी दिनमा थप व्यवसाय विस्तार हुन सक्ने अपेक्षा कम्पनीको छ ।

विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर सञ्चालन, उद्घाटनकै दिन २ सय महिलाले स्वास्थ्य जाँच गराए

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । मुुलतः महिलाहरुको पाठेघरको क्यान्सरको प्रारम्भिर परिक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाटीसहित स्त्री रोग सम्बन्धी सेवा समेत उपलब्ध गराइदैछ । फागुन १५ देखि १७ गते ३ दिनसम्म चल्ने स्वास्थ्य शिविरको बिहीबार उद्घाटन भएको छ । उद्घाटनकै दिन करिब २ सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविर उद्घाटन गर्दै धनगढी माइ नगरपालिकाका मेयर शिव शंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यबाद दिए । वित्तीय संस्थाहरुले यस्ता कार्यक्रम आयोजना गर्नु आफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीहरुले शिविरबाट लाभ लिनेमा आफू विस्वस्त रहेको बताए । उद्घाटन समारोहमा बोल्दै विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय समयमा सामाजिक कार्यहरु समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरुले यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा विशेषज्ञ चिकित्सक डा। बिवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए । स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले विपि कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबीच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो । नगरपालिकाले नै आयोजना गरेको स्वास्थ्य शिविरका लागि विपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।

मेडिकल व्यवसायी भन्छन् : बैंकको ब्याज कम हुँदा लगानी गर्नुहुन्थ्यो, सरकारले वातावरण नै बनाएन

काठमाडौं । आठौं मेडिकल तथा ल्याब एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (केमसन)  एस.डी प्रोमोको संयुक्त आयोजनामा एक्सपो सुरु भएको हो ।  बिहीबारदेखि सुरु भएको एक्सपोमा नेपाल र भारतका मेडिकल व्यवसायीहरूले मेडिकल तथा ल्याब क्षेत्रका उपकरणहरू प्रदर्शन गरिरहेका छन् । तीन सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा व्यवसायीहरूले आ-आफ्नो क्षेत्रका सामग्रीहरू प्रदर्शनीमा राखेका छन् ।  जहाँ मेडिकल तथा ल्याबमा आएका नयाँ प्रविधि र उपकरणबारे मेडिकल व्यवसायी र चिकित्सक र नर्स लगायत स्वास्थ्यकर्मीले प्रत्यक्ष अवलोकन गर्न सक्ने छन् । एक्स्पोमा देशभरका चिकित्सक तथा स्वास्थ्यसँग सरोकार राख्ने व्यक्ति सहभागी भएका छन् । उनीहरूले मेडिकल उपचारमा नयाँ प्रविधिहरू बारे प्रत्यक्ष सहभागी भएर हेर्न सक्ने केमसन नेपालका अध्यक्ष भक्त बहादुर हमालले  बताए ।   ‘यो भन्दा पहिले यस्तो एक्स्पो हुँदैन थियो, सामग्रीबारे जानकारी लिन कि अनलाइन हेर्नुपर्थ्याे, कि क्याटलग हेर्नुहेर्नुपर्थ्याे, यसरी प्रत्यक्ष सामान देख्ने-हेर्न पाइँदैन्थ्यो, यो एक्स्पोमा उहाँहरू आफै आएर उपकरणको बारेमा जानकारी लिन सक्नुहुन्छ,’  उनले भने । हमालले एक्स्पोले स्वास्थ्य क्षेत्रमा लागेकाहरूलाई नवीन प्रविधिबारे अवलोकनसँगै एक अर्का व्यवसायी बिच चिनजान तथा सम्बन्ध बढाउने अवसर समेत दिएको बताए  ।  ९९ प्रतिशत सामग्री आयात नेपालका अस्पतालमा प्रयोग हुने अधिकांश सामाग्री आयातित हुन् । केमसन नेपालका अध्यक्ष हमालले औषधी बाहेक मेडिकल र ल्याबका ९९ प्रतिशत सामग्री आयात हुने गरेको जानकारी दिए ।  उनले नेपालको एक प्रतिशत कम्पनीले केही सामग्री उत्पादन गरेपनि अधिकांश सामग्री विदेशबाट आयात भइरहेको बताए । विभिन्न व्यवसायीले विश्वका अधिकांश देशबाट आयात गरेका सामग्री नेपालका मेडिकल र ल्याबमा प्रयोग भइरहेका छन् । व्यवसायीहरूले जर्मन, जापान लगायत विभिन्न देशबाट आयात गरेका नविनतम् उपकरण तथा सामग्री प्रदर्शनीमा राखेका हुन् । नेपालमा यस्ता सामग्री किन उत्पादन हुन सकेको छैन भन्ने प्रश्नमा हमालले भने,‘ नेपालमा ठूलो मार्केट छैन, हामीले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाउँदै आएका हौं, तर यहाँ वातावरण नै छैन ।’    अहिले नेपालमा सिरिञ्ज लगायत केही सामग्री उत्पादन हुँदै आएका छन् । हमाल अब नेपालमै ३०/४० प्रतिशत पुर्याउन सक्नुपर्ने बताउँदै यसका लागि सरकारले त्यो खालको वातावरण बनाउनुपर्ने बताउँछन् । उनले राम्रो वातावरण नहुँदा व्यवसायीहरू लगानी गर्न इच्छुक नरहेको बताए । ‘अहिले देशमा लगानी नभइरहेको अवस्था छ,’ उनी भन्छन्,‘ बैंकमा पैसा छ  ब्याज पनि कम छ, तर लगानी गर्न  कोही पनि व्यवसायी उत्साहित छैनन्, यो उत्साहित हुने वातावरण बनाउन नेपाल सरकारले सक्नुपर्छ ।’   

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक एन्ड फाइनान्स कम्पनी’  विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।

पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा निष्कासन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानीको उपस्थित रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमानियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, १४ देश सहभागि हुने

काठमाडौं । एशिया प्रशान्त सुरक्षा संघ नेपाल (आप्सा नेपाल)ले आगो तथा इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा आप्सा नेपालले यही चैत्र २४ र २५ गते दरबार मार्गमा रहेको होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी सम्मेलन गर्न लागेको जनाएको छ । आप्सा नेपालका अनुसार आगलागीको समस्या सामना गर्न समूदाय स्तरमा थप सचेतना र नविन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ उक्त सम्मेलको आयोजना गर्न लागिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ ,‘आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ ।’ अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रिया गर्ने उद्देश्य सम्मेलनको छ । सम्मलेनमा सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरू अन्वेषण गर्ने, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने, स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने लगायतका उद्देश्य राखेर सम्मेलन गर्न लागेको आप्साले बताएको छ । यस्तै, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय निकाय, उद्योगी नेता तथा आगलागी इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने आप्सा नेपालले जनाएको छ । सम्मेलनमा १४ देशका विज्ञहरुको रहने जनाएको छ । जसमा चीन, हङकङ, इन्डोनेसिया, भारत, पाकिस्तान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनाम छन् ।