कागती प्रतिकेजी १८० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३५, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, परबर (लोकल) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३६०, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ६०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाल) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १३०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २८०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।
एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक बन्न उम्मेदारी दिएका पर्वतकुमार कार्की, सूर्यप्रकाश लाल श्रेष्ठ र किरणप्रकाश पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका हुन् । सर्वसाधारण समूहतर्फ भने कविकुमार टिबरेवाला र शालिक राम बेल्वासे निर्वाचित भएका छन् । साथै, विकास थापा, बन्दना पाठक र बन्दना थापा भने पराजित भए । उम्मेदवारी दिएका बरुण श्रेष्ठले अन्तिम समयमा फिर्ता लिएका थिए । बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी दिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । एनआईएमबिको नेतृत्वका लागि १३ जना तयार, स्थापनाकालदेखि नेतृत्व गर्दै आएका पाँडेलाई चुनौती
एलआईसी नेपालको कटअफ मूल्य १ हजार २२ रुपैयाँ, फागुन १९ गतेदेखि रकम फिर्ता गर्दै
काठमाडौं । लिलाममा बिक्री गरिएको लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को कटअफ मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार कम्पनीको सेयरको कटअफ मूल्य १ हजार २२ रुपैयाँ कायम भएको हो । कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म बिक्री खुला गरेको हो । गोप्य शिलबन्दीपत्रद्वारा खरिद गर्न आएका बोलपत्रलाई फागुन १२ गते खोलि फागुन १५ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कटअफ प्राइस १ हजार २२ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाएका छन् । बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी फागनु १९ गतेदेखि गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा एसबिआई मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न कम्पनीले सूचीत गराएको छ । कम्पनीले बिक्री गरेको उक्त सेयरमध्ये एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो ।
कुमारी सहकारी: १.१३ अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता, आइतबारदेखि थुनछेक बहस
काठमाडौं । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध १ अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो । सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणवापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पुर्याइ सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत गरेका उनीलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न पनि माग गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस सुरू हुने जानकारी दिए । ‘समय अभावका कारण प्राप्त भएको अभियोगपत्र दर्तामात्र भएको छ । आइतबारदेखि थुनछेक बहस सुरू हुन्छ,’ उनले भने । सहकारीका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका ५ र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितको नाम सार्वजनिक गरेका छैनन् । बेनी नगरपालिका-१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी हुन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्व जिल्ला उपसचिवको जिम्मेवारीमा थिए । थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ । उक्त सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका-३ पर्वत बेनीका ५३ वर्षीय रूद्र गुरूङले १३ करोड ५९ लाख ४८ हजार ६०९ रुपैयाँ अपचलन गरेका अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रतिवेदनअनुसार सहकारीका सचिव, पूर्वसहसचिव र लेखा समिति सदस्य बेनी नगरपालिका-१ की ४९ वर्षीय देवीकुमारी थापाले ३ करोड ७१ लाख ४ हजार ६३१ रुपैयाँ र पूर्वअध्यक्ष रघुगङ्गा गाउँपालिका-५ का ६७ वर्षीय मनप्रसाद थकालीले ५ करोड ८२ लाख ६६ हजार रुपैयाँ हिनामिना गरेका छन् । पूर्वकोषाध्यक्ष, पूर्वअध्यक्ष, पूर्व ऋण समिति सदस्य अन्नपूर्ण गाउँपालिका-७ का ६६ वर्षीय थमबहादुर गर्बुजाविरूद्ध ४ करोड ५५ लाख ९४ हजार २२७ रुपैयाँ र लेखासमितिका पूर्वसदस्य बेनी नगरपालिका-४ का ३७ वर्षीय लोकबहादुर पुन (लोकेश)ले २ करोड १० लाख ४६ हजार ४४ रुपैयाँ हिनामिना गरेका छन् । फरार रहेकाहरूले पनि कम्तीमा ५२ लाख ९३ हजार रुपैयाँदेखि ७ करोड ४४ लाख रुपैयाँ दुरूपयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन प्रतिवेदन, पक्राउ परेकाहरूसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरेको हो । सञ्चालक समिति, ऋण उपसमिति र लेखा सुपरीवेक्षक समितिमा दबाब दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सृजना गरी संस्थालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखी सम्पूर्ण सिष्टमको तालाचाबी आफूहरूले नै लिई गलत लेखापरीक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने, अनधिकृत रूपमा कारोबार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरी आफ्नो नाममा निजी सम्पत्ति खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ । सहकारी ठगी गरेको रकमले निजी सम्पत्ति खरिद गरी एकीकृत गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, सहकारीको रकमलाई गैरकानुनी रूपमा ढुकुटीका कारोबारमा प्रयोग गर्ने, प्रचलित कानुनबमोजिम सहकारी ऐन तथा कर्जा प्रक्रियाको मापदण्ड नै पूरा नगरी सहकारीको पुँजी कोषको १० प्रतिशतभन्दा अधिक मात्रामा कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा पर्याप्त मात्रामा कर्जा विष्लेषण तथा सुरक्षण नलिई कर्जा प्रवाह गराउने, पेश्कीका नाममा रकम हिनामिना मिलान गर्ने, ऋण देखाई रकम हिनामिना गराउने, चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिलाई सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने, आफूहरूले लिएको ऋणको दायित्व भुक्तान नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामिना गर्ने, सहकारी ऐन, कानुनविपरीत कर्जाभन्दा बढी बचतमा ब्याजदर कायम गराई रकम हिनामिना गर्नेजस्ता कार्य गरेको आरोप अभियोगपत्रमा उल्लेख छ ।
आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै, १२ वर्गमा विभाजन
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले जानकारी दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ । तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा चट्याङसहित वर्षा हुने, यस्तो छ २४ घण्टाको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
६.१ म्याग्निच्युडको भूकम्प, स्थिति सामान्य
काठमाडौं । सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पाइएको छ । ‘भूकम्पको केन्द्रबिन्दुर रहेको उक्त पालिकामा धक्का ठूलो महसुस भएपनि क्षति भने नभएको जनाएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौं र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।