विकासन्युज

सल्टिँदै लहानमा खानेपानीको समस्या, धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति

सिरहा । लहान नगरपालिका–२४ मलन्हाकी सुशीला सदायलाई छ महिना अघिसम्म इनारको धमिलो पानी खानुपरेको तीतो अनुभव ताजै छ । हिउँदको समयमा थोरै रसाउने त्यही इनारको धमिलो पानी गाउँभरिका मानिसहरुले बाँडीचुँडी पिउनुपर्ने बाध्यता थियो । त्यसमाथि बालबच्चा बिरामी परिरहने समस्या उनले अझै विर्सन सकेको छैन । इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग गर्नुपर्दथ्यो । करिब १७ घरपरिवारले प्रयोग गर्ने दलित बस्तीको सामूहिक इनार सडक छेउमै छ । वैशाख—जेठको उखरमाउलो गर्मीमा रातभर जाग्राम बसि एक घैला पानी जोहोको लागि गरेको कष्टपूर्ण सङ्घर्ष सुशीलाका लागि कहालीलाग्दा विगत थिए । तर, गत वैशाखदेखि उनले नेपाल खानेपानी संस्थान लहान शाखाबाट धारा जडान गरेसँगै वर्षौँदेखिको खानेपानी समस्याबाट छुट्कारा पाएको छ । ‘अब पानीको समस्या छैन । घरमा धारा जोडेदेखि जतिबेला मन लाग्यो त्यतिबेला सफा र स्वच्छ पानी प्रयोग गर्न पाएका छौँ । एकमुठ्ठी धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ’, सुशीलाले भनिन्, ‘पहिलेजस्तो बालबच्चा बिरामी भएका छैनन् । पानी नै त रहेछ सबै कुराको मुख्य कारण । पहिले भोगियो, अहिले बल्ल बुझियो ।’ उनले धाराबाट खेर जाने पानीबाट करेसाबारीमा तरकारी तथा फलफूलखेती गर्ने बताइन् । टोलका १७ दलित घरपरिवारले अहिले धारा जडान गरेको छन् । त्यस्तै लहान नगरपालिका–४ सुन्दरपुरकी लिलमदेवी सदायसँग पनि सुशीलाको जस्तै पानी अभावले धेरै पीडा खेप्नुपरेको विगत थियो । तर अहिले उनले खानेपानीको धारा जोडे्की छिन् । पानीको अभावमा भाँडा माझ्न नजिकै रहेको बलान नदी जानुपर्ने बाध्यताबाट उनलाई मुक्ति मिलेको छ । आफ्नै घरमा धारा जडान भएदेखि उनी खुसी भएकी छिन् । ‘पहिलाको दुःख सम्झेर पानी खेर फालेको छैन । सधैँं यस्तै पानी आइरहोस्’, उनले भनिन् । लिलमदेवी र सुशीलादेवी जस्तै लहान नगरपालिकाका विषेशगरी गृहिणी खानेपानीको सुविधा भएपछि खुसी भएका छन् । यसरी लहानका गाउँ र बस्तीमा सहजरुपमा खानेपानीको सेवा विस्तार हुनुमा नगरपालिका, खानेपानी संस्थान तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । चुरेसँग जोडिएको यस नगरक्षेत्रमा भूमिगत पानीको स्रोतहरु सुक्दै जान थालेपछि यहाँका स्थानीय पछिल्लो समय खानेपानी अभावको दिगो समाधानको खोजीमा थिए । ठीक त्यसैबेला गैरसरकारी संस्था ‘वाटर एड’ नेपालको सहयोग तथा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सन् २०१८ देखि विकन परियोजना सञ्चालन भयो । केही वर्ष पहिलेसम्म सीमित व्यक्तिले फाट्टफुट्ट धारा जडान गरेको पाइन्थ्यो भने परियोजना सञ्चालनपछि धारा जोड्नेको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । स्थानीयमा जनचेतनाको अभावमा कुवाकै पानी खोने र त्यहीँ पानी वस्तुभाउलाई पनि खुवाउने प्रचलन व्याप्त रहेको बताउँछन् दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनी । उनले भने, ‘त्यतिबेला मुख्य सहरी क्षेत्रमा मात्र धारा जोड्ने काम हुन्थ्यो । गाउँघरमा पैसा तिरेर धारा जोड्ने कल्पनासम्म पनि मानिस गर्दैन थिए । कुवा, इनार, चापाकलमै निर्भर थिए अधिकांश नागरिक ।’ परियोजनापछि स्थानीय सङ्घ संस्था तथा सरोकारवाला निकायको सक्रियतामा धारा जडान गर्ने सेवाग्राहीको सङ्ख्या बढदै गएको उनको भनाइ छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार तीन सय १९ धारा जडान भएका छन् । यसमध्ये एक हजार दुई सय २९ दलित परिवारले धारा जडान गरेका छन् । नगरका विभिन्न वडामा गरी हालसम्म एक सय १५ किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएको छ । प्रमुख यादवका अनुसार विसं २०५६ सालदेखि सञ्चालित यहाँको खानेपानी संस्थानमा छ वर्षअघि सुरु भएको विकन परियोजना सञ्चालन हुनुभन्दा अगाडि करिब दुई हजारको सङ्ख्यामा मात्रै खानेपानीको धारा जडान भएको थियो । उनका अनुसार लालपुर्जा भएका व्यक्तिलाई धारा जडानका लागि छ हजार तीन सय ९० खर्च लाग्ने गरेको छ । जसमा तीन हजार धरौटी, तीन हजार दुई सय २० राजस्व, ४० खानेपानी कार्ड, निवेदन शुःल्क २० र पहिलो महिनाको न्यूनतम शुल्क एक सय २० लाग्ने गर्छ । लालपूर्जा नभएको सुकुम्बासीलाई धरौटी, राजस्व र कार्ड गरेर १० हजार एक सय १० लाग्ने गर्छ । न्यूनतम एक सय २० मा सेवाग्राहीले १० हजार लिटर पानी प्राप्त गर्ने गरेका छन् । त्यसपछि प्रतियुनिट २५ लाग्छ । एक युनिटमा एक हजार लिटर पानी हुन्छ । दलित समुदायलाई अनुदान लहान नगरपालिकामा करिब २० हजार सुकुम्बासी दलित समुदायको जनसङ्ख्या रहेको तथ्याङ्क छ । उनीहरुसँग घरजग्गाको लालपुर्जा छैन । त्यसैले उनीहरूलाई नगरको र संस्थाको संयुक्त अनुदान उपलब्ध गराइएको छ । धारा जडानका लागि नगरपालिकाले तीन हजार सात सय २० र परियोजनाले तीन हजार दुई सय ७०सहयोग गर्ने गरेको छ । त्यसकारण यहाँका दलित समुदायले धारा जडान शुल्क तीन हजार एक सय २० मात्र तिरे पुग्छ । त्यसैगरि नगरपालिकाको वडा नं २, ७ र १४ का दलित समुदायमा धारा जडान गराउन त्यहाको वडा कार्यालयले सहयोग गरेको छ । वडा नं २ मा ६३ घर, वडा नं ७ मा २८ घर र वडा नं १४ मा ६३ दलित घरपरिवारले वडाको आर्थिक सहयोगमा निःशुल्क धारा जडान गरेका छन् । उनीहरूलाई परियोजनाले धारा सामग्री पनि सहयोग गरेका छ । खानेपानीको क्षेत्र विस्तार लहान नगरपालिकामा जम्मा २४ वटा वार्ड रहेका छन् । खानेपानी वितरण शाखा प्रमुख यादवका अनुसार विकन परियोजना सञ्चालन हुनुअघि करिब दुई दशकसम्म वडा नं १ देखि १० सम्ममात्रै खानेपानी संस्थानले काम गरिरहेको थियो । अहिले वडा नं १३, १४, १६ र २४ मा खानेपानीको पाइपलाइन तथा धारा जडान विस्तार भएका छन् । उनका अनुसार धाराको माग भए बमोजिम २४ वटै वडामा खानेपानीको सेवा विस्तार हुनेछ । जसमध्ये वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरिएको हो । वडा नं २४ किसान बाहुल्य रहेको वडा पनि हो । यहीँका किसानले उत्पादन गरेको तरकारीले नगरको करिब ७० प्रतिशत माग धानेको वडाअध्यक्ष राशलाल राय बताउँछन् । चुरेसँग जोडिएको यस वडामा पानीको सङ्कट गहिरिँदै जाँदा सञ्चालित उक्त परियोजना निकै नै प्रभावकारी भएको उनको भनाइ छ । उनले भने, ‘सायद विकन परियोजना नआएको भए यो सम्भव थिएन । अब वडामा कोही पनि नागरिक खानेपानीको अभावमा बस्नु परेको छैन ।’ लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले खानेपानी संस्थानको सहकार्यमा सञ्चालित उक्त परियोजनाबाट यहाँका स्थानीयको समस्या समाधान भएको बताए । परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेकाले यसै परियोजनामार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहित काम भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए । रासस

पोखराको न्युरोडमा क्यापिटल म्याक्स सेक्युरिटीजको शाखा विस्तार

पोखरा । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो । क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’ काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ भोलीका दिनमा अझ परिस्कृति सेवा सुविधा लिएर लगानीकर्ता समक्ष आउने छौं ।’ विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन भने आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने छ । यसैगरी कम्पनीले आफ्ना ग्राहकका लागि फ्रि मार्केट ओभरभ्यू, प्राविधिक विश्लेषण, चार्टिङ टुल्स, फण्डामेन्टल विश्लेषण टुल्स, फ्लोरसिट तथा ब्रोकर विश्लेशषजस्ता दर्जनौ सेवा सुविधा दिँदै आएको छ ।

बोलेर भन्दा कामले नै जनतालाई विश्वास दिलाउन आवश्यक छ : अञ्जान शाक्य

संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात महिना जति इजरायलको राजदूतसमेत भएको थिएँ । राजदूत हुँदा उत्तरदायित्व आफूले नै बहन गर्नुपर्ने हुन्छ । आफूले तय गरेका योजना कार्यान्वयन गर्न सहज हुन्छ । तर संसदीय अभ्यासमा आफैँले कार्यान्वयन गर्न सकिँदैन । निर्देशन मात्र दिन सकिने रहेछ । सांसदले धेरै विषयमा आवाज उठाएका हुन्छौँ । कार्यपालिकाले मात्रै त्यसकोे कार्यान्वयन गर्न सक्छ । कतिपय विषय कार्यान्वयन हुन्छन्, कतिपय हुँदैनन् ।  संसदीय अभ्यासमा मैले देखेको मुख्य चुनौती भनेको सांसदले उठाएका विषयको कार्यान्वयन नै हो । आवाज उठायो, तर कार्यान्वयन नहुने समस्या रहेछ । तर राम्रो पक्ष के लाग्यो भने राष्ट्रियसभा र यस मातहतका समितिहरु भने निकै सक्रिय हुने गरेको पाएँ । सभा वा समितिका बैठकहरु कोरम नपुगेर स्थगित भएका छैनन् । राष्ट्रियसभाअन्तर्गतका समितिले निकै मेहनतका साथ काम गरेको पाएकी छु । कुनै विषय वा विधेयकमा संशोधन दर्ता गरेका सदस्यहरु पनि त्यहाँ उपस्थित भएर आफ्नो धारणा राख्नुभएको हुन्छ । घनिभूत छलफल गर्नुहुन्छ । राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु माथिको छलफल राम्रो रहेको पाइयो । विधेयकमा सबै कुरा समावेश गर्न त सकिँदैन । सकेसम्म त्यहाँ उठेका आवाजलाई समेट्ने प्रयास राम्रो देखियो । यसमा सबै सदस्यहरु सजग रहेको पाइयो । म राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छु । त्यहाँ पनि सबै सदस्यहरु उपस्थित हुनुहुन्छ । अहिले म उक्त समितिअन्तर्गत रहेको दिगो विकास उपसमितिको संयोजक छु । उपसमितिले यही २०८१ फागुन २ गते ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ लाई पारित गरी मूल समितिमा बुझाएको छ । यो प्रतिवेदन लामो छलफल र अध्ययनबाट तयार पारिएको छ । यो प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, संयुक्त टे«ड युनियन महासङ्घ, निजी क्षेत्रलगायत सरोकारवाला निकायसँग छ वटा बैठक गरेका थियौँ । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रमहरुमार्फत स्तरोन्नतिका प्रयासहरु गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरु पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तमध्ये संयुक्त राष्ट्रसङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन । तीन शर्तमध्ये कुनै दुईवटा मापदण्ड मात्र पूरा भए पनि स्तरोन्नतिका लागि योग्यता पुग्ने भएकाले प्रतिव्यक्ति कूल राष्ट्रिय आयको मापदण्ड पूरा नभए पनि दुईवटा सूचक पूरा गरी नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्र हुने लक्ष्य प्राप्तिको दिशातर्फ अगाडि बढिरहेको छ । संयुक्त राष्ट्रसङ्घबाट हरेक तीन वर्षमा हुने मूल्याङ्कनमा लगातार दुईपटक स्तरोन्नतिका लागि योग्य भएपछि मुलुक स्तरोन्नति हुनसक्छ । सन् २०१५ र २०१८ मा नेपालले दुईवटा सूचकको मापदण्ड पूरा गरेकोले स्तरोन्नतिका लागि योग्यता पुगेको थियो । तत्कालीन अवस्थामा भूकम्पपछिको पुनःनिर्माणबाट तङ्ग्रिँदै गरेको आर्थिक अवस्था र संविधान जारी हुने समय भएका कारण त्यसबाट नेपाल पछि हटेको थियो । सन् २०१८ मा स्तरोन्नति हुने निर्णय लिँदा तयारीका लागि तीन वर्षको समयसीमा भए पनि उक्त समय छोटो भएकाले सन् २०२१ मा स्तरोन्नति गर्ने निर्णय भएको थियो । त्यतिबेला पनि कोभिड–१९ को प्रभावले गर्दा नेपाल, बङ्गलादेश र लाओसले पाँच वर्षको सङ्क्रमण समय पाएका छन् । यो अवस्थामा अब नेपालले सन् २०२६ मा स्तरोन्नति हुनैपर्ने अवस्था छ । स्तरोन्नतिपछि दिगोपना कायम गर्न जिम्मेवार सरकारी संयन्त्र एवं निजी क्षेत्रबीच पारस्परिक समन्वय, बुझाई र अपनत्व, स्रोतको उपलब्धता, कानुनी एवं नीतिगत स्पष्टता र तयारीको अवस्था के–छ भन्ने विषयमा संसदीय अध्ययन तथा मूल्यांकन आवश्यक भएकोले यो प्रतिवेदनमा यी कुरालाई पनि ख्याल गरेका छौँ । नेपालको प्रतिव्यक्ति आय वृद्धि गर्न बृहत् आर्थिक स्थिरता र वित्तीय दिगोपना कायम गर्नुपर्ने, अन्तर्राष्ट्रिय व्यापारको पूर्वाधार प्रवर्द्धन गर्दै उत्पादनशील क्षेत्रमा आर्थिक वृद्धि गर्नुपर्ने, आर्थिक रूपान्तरणको प्रवद्र्धन गर्दै आर्थिक लाभको दिगोपनाबाट आर्थिक अभिवृद्धि गर्नुपर्ने, उत्पादनशील मानव पुँजीको वृद्धि र दिगोपनाको लागि सामाजिक क्षेत्रको सवलीकरण गर्नुपर्ने, भविष्यमा पर्नसक्ने आर्थिक तथा वित्तीय जोखिम व्यवस्थापनमा दिगोपना मापन गर्दै आर्थिक तथा वातावरणीय क्षेत्रको थप सुधार गर्नुपर्ने जस्ता कुरा हामीले यो प्रतिवेनको रणनीतिक उद्देश्यमा समावेश गरेका छौँ । प्रतिवेदनमा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालको छवि, इज्जत एवं प्रतिष्ठा बढ्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा विकासशील राष्ट्रका रुपमा दर्ज हुने, लगानीका लागि थप वातावरण तयार हुने, नेपालका दीर्घकालीन विकासका सोचहरु, दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकार गैरसरकारी संस्था, निजी क्षेत्र लगायत विकास साझेदारबीच थप समन्वय सुदृढ हुने प्रतिवदेनमा उल्लेख छ । यसका लागि सबै तहका सरकारबीच समन्वय जरुरी छ । अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध र दुई पक्षिय सम्बन्ध अझै बलियो बनाउनुपर्छ । मेरो योजना भनेको मुलुकको आर्थिक विकासका लागि कसरी अगाडि बढ्ने भन्ने रहेको छ । मुलुकको छवि कसरी अन्तर्राष्ट्रिय जगत्मा उँचो बनाउने भनेर सांसदको हैसियतले गर्नुपर्ने सबै काम गर्नेछु । जलवायु परिवर्तनको असर अहिलेको मुख्य चुनौतीको विषय रहेको छ । संसद्को ध्यान भनेको जलवायु परिवर्तनबाट हुने असर कसरी न्यूनीकरण गर्न सकिन्छ ? जलवायु वित्तलाई कसरी सही रुपमा परिचालन गर्न सकिन्छ ? जोखिमबाट कसरी बच्ने ? भन्ने विषय गम्भीर छ । नेपालले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि गम्भीर भएर अगाडि बढ्नुपर्छ । म सांसदको हैसियले पनि यी मुद्दालाई उठान गरिरहन्छु । संविधानको पूर्ण कार्यान्वयन भने जटिल विषय हो । समन्वयको अभावका कारण जति कार्यान्वयन हुनुपर्ने हो त्यति भएको छैन । संविधानमा व्यवस्थित समावेशी लगायतका विषयहरु आफैँमा राम्रा छन् जहाँ दलितका कुरा छन्, महिलाका कुरा छन्, जनजातिका कुरा छन् । संविधानका भएका व्यवस्थालाई सबैको सहकार्य भएमा कार्यान्वयन गर्न सहज हुन्छ । कार्यान्वयन नभएकै भन्ने पनि होइन । तर जति गर्न सकिन्थ्यो त्यति भने भएको छैन । सांसदले जनताको विश्वास जित्नका लागि सबै आफ्नो दायित्व मात्रै बुझिदिए पुग्छ । अनि बोलेर मात्रै भन्दा पनि कामले नै जनतालाई विश्वास दिलाउन आवश्यक छ । संसदमा रहनुभएका जिम्मेवार पक्षले यी कुराको बोध गरेर अगाडि बढ्नुपर्छ । सञ्चारमाध्यमले पनि भ्रमित कुराहरु जनतालाई सम्प्रेष्ण गर्नुहुँदैन । संसदीय अभ्यासमा रहँदा खुसीचाहिँ के लाग्यो भने बाहिरबाट हेर्दा सांसदहरु झगडा गरेको जस्तो देखिन्छन् । तर बाहिर निस्किएपछिसँगै चिया पनि पिएका हुन्छन् । हामीबीच मिल्ने संस्कार राम्रो छ । वैचारिक रुपमा मात्रै विवाद देखिन्छ । जे संसद्मा देखिन्छ बाहिर त्यस्तो हुँदैन । राष्ट्रियसभा सदस्य शाक्यको परिचय सङ्खुवासभामा जन्मिएकी डा अञ्जान शाक्य नेपालका लागि इजरायलको राजदूत हुँदै हाल राष्ट्रियसभाको सदस्य हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेको हो । गायिका तथा समाचारवाचिका हुँदै राजदूतको रुपमा आफ्नो छवि स्थापित गरिसकेकी शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमिति संयोजक हुन् । यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधैँ आफूभन्दा…भन्ने गीतबाट चर्चित शाक्यसँग अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतका पदमा रहेर काम गरेको अनुभव समेत छ । उनले सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन् । रासस (‘सांसदसँग रासस संवाद’का लागि राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्यसँग राससका समाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंश)

अब पढ्ने होइन त ? ‘रामतुलसी’

रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ ।  आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा सायद नेपालमै निजी विद्यालयमा पनि कमै होला । सामुदायिक विद्यालयमा त यस्तो प्रविधि भित्रिएको नहुन पनि सक्छ । पाल्पा रामपुर नगरपालिका–५ बेझाड बजारस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थी हाल स्मार्ट ट्याबको माध्यमबाट अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा यस्तो प्रविधि देख्ने जो कोहीलाई लाग्छ, विदेशका विद्यालयका कक्षाकोठामा बसेर पढेजस्तो वातावरण । सोच्दै नसोचेको प्रविधिबाट शिक्षण हुन थालेपछि यतिबेला विद्यार्थी मात्र होइन, अभिभावक, जनप्रतिनिधि, स्थानीय सबैको ध्यान विद्यालयले तानिरहेको छ । एउटा कक्षाकोठाभित्र विद्यार्थीका हात–हातमा स्मार्ट ट्याबमात्र नभई रेकर्डिङ स्टुडियो, कम्प्युटर, ल्यापटप, मिक्चर, माइक्रोफोन, भिडियो क्यामेराजस्ता प्रविधि जडान छ । सो प्रविधि रेडियो र टेलिभिजन, रेकर्डिङ स्टुडियोमा देखिन्छ । तर यहाँको विद्यालयमै एउटै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरेर धमाधम शिक्षण कार्य भइरहेको छ । यो कार्य देख्दा विदेशस्थित ठूलाठूला विश्वविद्यालयमा पढेजस्तो लाग्ने गर्दछ । समयानुकूल भित्रिएका प्रविधिलाई अवलम्बन गर्दै विद्यालयले अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा (आइसिटी कक्षाकोठा) निर्माण गरेर विभिन्न उपकरण जडान गरी पठनपाठन गरिरहेको छ । विदेशमा पढाई हुने प्रविधि आफ्नै विद्यालयमा निर्माण भई पढ्न पाउनु नै हाम्रो लागि ठूलो अवसर रहेको बताउनुहुन्छ, छात्रा विविशा घिमिरे । उनी आफैँले स्मार्ट ट्याबबाट पढाइसँग सम्बन्धित नयाँ कुरा खोजेर जानकारी लिने गर्छन् । “सबै विद्यार्थीको घरमा कम्प्युटर, ल्यापटप जस्ता विभिन्न प्रविधिको सुविधा हुँदैन, सबै विद्यार्थी प्रविधिसँग नजोडिन सक्छन्, विद्यालयमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठाले हामीलाई नयाँ ज्ञान सीप सिक्ने वातावरण मिलेको छ, यसले प्रविधि र विद्यार्थीको सम्बन्ध नजिक बनाएको छ”, उनले भने । हिजोका दिनमा फुर्सदको समय विद्यार्थीहरु एकापसमा कुराकानीमा समय बिताउने गर्थे भने अहिले खाली समय मिल्नेबित्तिकै आइसिटी कक्षाकोठामा जाने र प्रविधिमै ध्यान केन्द्रित हुन थालेको छ । साना कक्षामा पढ्नेदेखि ठूला कक्षामा पढ्ने विद्यार्थी आइसिटी कक्षामा बसेर पढ्न पाउँदा औधी हर्षित हुन्छन् । यहाँको सुविधा सम्पन्न प्रविधियुक्त कक्षाकोठाको यत्रतत्र चर्चा मात्र नभई अहिले अध्ययन अवलोकन गर्न आउनेको उपस्थिति बढ्दो छ । प्रविधिको प्रयोगले पठनपाठनमा सक्रियता बढाउने र आफूलाई दैनिक केही न केही नयाँ कुरा सिक्न र खोज्न मन लाग्ने गरेको छात्र सन्देश पोखरेलले आफ्नो अनुभव सुनाए । यही प्रविधि सिक्नका लागि बाहिर धेरै रकम खर्च गर्नुपर्छ, हाम्रो गाउँघरमा त चाहेर पनि सिक्न पाइने सुविधा छैन तर हामीले विद्यालय तहमा नै आफ्नै पढ्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उनले बताए । प्रविधियुक्त शिक्षाले पठनपाठनलाई सहज मात्र नभई विद्यार्थीलाई केही न केही नयाँ कुरा सिक्न, खोज्न र जानकारी लिन अभ्यस्त बनाएको बताउँछन्, छात्रा अनिशा श्रेष्ठ । शिक्षकले पढाउँदै गर्दा पाठसँग सम्बन्धित कुराहरु गुगलबाट खोजेर जानकारी लिने गर्दा सिकाइ छिटो बुझिने र सम्झन पनि सहज भएको अनुभूति गरेको उनले सुनाए । कतिपय विषयवस्तु सैद्धान्तिक शिक्षणले मात्रै बुझाउन नसकिने खालको हुनाले प्रयोगात्मक तरिकाबाट विद्यार्थीलाई बुझाउनुपर्ने भएकाले प्रविधिको प्रयोग गरेर शिक्षण गर्न थालेपछि विद्यार्थीले छिटो बुझ्ने र नयाँ कुरा सिक्न जागरुक हुने गरेको विज्ञान शिक्षक राजन घिमिरे बताउँछन् । पाठसँग सम्बन्धित कतिपय विषयवस्तु प्रयोगात्मक रुपमा प्रविधिको प्रयोग गरेर देखाउनुपर्ने हुँदा शिक्षण कार्यका लागि सूचना प्रविधिको प्रयोग अति अपरिहार्य रहेको उनको अनुभव छ । पूर्वबालविकास तह (मन्टेश्वरी) देखि सबै विद्यार्थीलाई प्रयोग हुने गरी कक्षा सञ्चालन गरिएको छ । कक्षा ६ देखि १० सम्मका कम्प्युटर विषय, कक्षा ९ र १० का विद्यार्थीका लागि कम्प्युटर मात्र नभई सबै विषय पठनपाठन भइरहेको छ । साना कक्षाका विद्यार्थीलाई पनि पालैपालो नयाँ प्रविधिबाट पढाउने, सिकाउने कार्य चलिरहेको छ । हाल ५० जना विद्यार्थीले एकैपटक बसेर स्मार्ट ट्याबमा पढ्न मिल्ने व्यवस्था छ । मोनिटरिङ, भिडियो क्यामेरा, प्रिन्टर, ल्यापटप, माइक्रोफोन, मिक्चर, रेकर्डिङ स्टुडियो, सम्पादन कक्षको छुट्टै व्यवस्था, विद्यार्थीले समूह कार्य गर्न तीनवटा प्यानलबोर्ड, एसीसहितको सुविधा सम्पन्न कक्षाकोठा पठनपाठनमा प्रयोग भइरहेको छ । शिक्षा मन्त्रालय र आइएसिई कोरियाको साझेदारीमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा निर्माण गरिएको हो । सो प्रविधिसहितको कक्षाकोठा निर्माणका लागि नेपालभित्रका तीनवटा विद्यालय छनोटमध्ये रामतुुलसी नमुना माविसहित बाग्लुुङको ताराखोलामा अवस्थित नेपाल सेकेण्डरी विद्यालयलाई शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरेपछि नयाँ प्रविधिसहितको कक्षाकोठा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको छ । करिब एक करोड ५० लाखको लागतमा तयार पारिएको विद्यालयले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा शुभारम्भ गरेर यस शैक्षिक सत्रबाट शिक्षण कार्यका लागि सञ्चालन भइरहेको छ । यहाँ सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमका कार्यक्रम समेत हुने गरेका छन् । कक्षा शिक्षणका क्रममा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले तत्कालै प्रश्नको उत्तर गुगलबाट खोजेर आफै पत्ता लगाउने हुँदा उत्तर खोज्न किताबको पाना पल्टाइरहनु नपर्ने र प्रविधिको प्रयोगले पाठसँग जोडिएका नयाँ कुरा आफैँ खोजेर पत्ता लगाउन सक्ने भएको सूचना प्रविधि (आइटी) शिक्षक चन्द्रप्रकाश भट्टराई बताउँछन् । ‘रेकर्डिङ स्टुडियोमा शिक्षकले पढाएका कुराहरु रेकर्ड हुन्छन्, यदी विद्यार्थीले पढ्ने क्रममा नबुझेको, अप्ठ्यारो लागेको छ भने भोलिपल्ट आएर वा सोही दिन समय मिलाएर पुनःदोहोराएर पढ्न र बुझ्न सक्ने प्रविधि छ, गुगलमा खोजेर आफूलाई आवश्यक पर्ने नयाँ कुरा पत्ता लगाउने, नयाँ कुरा सिक्न बढी विद्यार्थी उत्सुक र जिज्ञासु बनेका छन्, मनोरञ्जन तरिकाबाट पढाइ भइरहेको छ’ उनले भने । अहिलेको २१औँ शताब्दिमा विदेशमा गएरपनि प्रतिष्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न, समयानुकूल आएका प्रविधिलाई अवलम्वन गरी विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यालय सक्षम बनेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । अन्य विद्यालयभन्दा फरक ढङ्गले काम गर्नका लागि सूचना प्रविधि कक्ष (आइसिटी ल्याब) मात्र नभई अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा नै तयार पारिएको उनले बताए । ‘विद्यार्थीले हातहातमा स्मार्ट ट्याबलेट लिएर शिक्षकसँगै सिक्ने र त्यसलाई व्यवहारमा उतार्न प्रयोगात्मक शिक्षण सिकाइ भइरहेको छ, नयाँ प्रविधि सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन्’, प्रअ लम्सालले भने, ‘हाम्रो नारा नै ‘सिक्नका लागि रामतुलसी’ भन्नेछ, यहाँ आउने जो कोहीले पनि अन्य विद्यालयमा भन्दा फरक केही न केही नयाँ कुरा सिक्न पाउनु हुनेछ, यो नै रामतुलसीको पहिचान हो’ । हरियाली पार्कसहितको सफा, सुग्घर, प्रविधिमैत्री विद्यालयको रुपमा पठनपाठन भइरहेको छ । निर्धक्कसँग यस विद्यालयमा विद्यार्थी पठाएर प्रविधिमैत्री शिक्षण पद्धतिसँग परिचित हुनका निम्ति सबै अभिभावकलाई प्रअ लम्सालको अनुरोध छ । अभिभावकले विद्यालयप्रति गरेको विश्वास र सहयोगका कारण विद्यालय यहाँसम्म आइपुगेको उनी बताउँछन् । विसं २०७४ देखि नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको हो । उच्च शिक्षातर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान कक्षा सञ्चालन भइरहेको छ । आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जाने र आर्थिक भारको समस्या परेको छैन । यो विद्यालय पाल्पा जिल्लाकै नमुनाउन्मुख र पुरानो विद्यालयको रुपमा परिचित छ । यस विद्यालयमा हाल पाल्पा, स्याङजा, तनहुँ र नवलपुर जिल्लाका करिव दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । करिब एक सय शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयको रेखदेख र सुरक्षाका लागि सुरक्षा कर्मचारी परिचालन गरिएको छ । हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठूला कक्षाका विद्यार्थीलाई फरकफरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थित पुस्तकालय, बसको सुविधा, आधुनिक चमेनागृह सञ्चालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्याबको प्रयोग, विद्यालयको वेबसाइट र सर्भर सञ्चालन, विद्यार्थी प्रगति विवरणलाई व्यवस्थित गरिएको विद्यालयले जनाएको छ । प्राथमिक उपचारका लागि एक जना नर्स शिक्षकको व्यवस्था गरिएको छ । यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमुना पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । प्रयाप्त खेल मैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालय लगायतको राम्रो सुविधा छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सबैको प्रबन्ध, विद्यालयभित्रै तयार पारिएको स्वस्थकर खाजाको व्यवस्था, पढ्दै, खेल्दै सिक्ने वातावरणले विद्यार्थी सिकाईमा जिज्ञासु बनेका छन् । सामान्यतया विद्यालयको समय बिहान १० देखि ४ बजेसम्म हो, तर आवश्यकताअनुसार यहाँका शिक्षक, कर्मचारी बिहानदेखि साँझसम्म विद्यालयको शैक्षिक विकासमा अहोरात्र खटिएकै हुन्छन् । शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चउर, बगैचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैकासामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योती प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । ‘सिक्नका लागि रामतुलसी’ भन्ने नारालाई साकार पार्ने भावी योजनामा समावेश गरिएको छ । सूचना र सञ्चारलाई शिक्षणमा जोड्दै जाने, भौतिक सुविधायुक्त कक्षाकोठा निर्माण गर्दै जाने, ठूलो क्षमताको शैक्षिक सभाहल निर्माण, अभिभावक शिक्षा सञ्चालन गर्ने योजनामा उल्लेख छ । रासस

परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौंमा ल्याण्ड हुन सकेन, कोलकत्ता डाइभर्ट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकत्ता डाइभर्ट भएको बुझिएको छ । काठमाडौंको आकाशमा खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाज भारतको कोलकत्ता डाइभर्ट भएको हो । कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने प्रयास गरेपनि सम्भव नभएपछि डाइभर्ट भएको हो । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।  

प्राधिकरणले ६ महिनामा साढे ७० अर्ब आम्दानी गर्दा नाफा ११ अर्ब ३६ करोड, १३ अर्ब बढीको बिजुली निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणका अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ६८ हजार १०० मा कारोबार

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर  एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।  तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था भएपनि  ९० दिनपछि लाइन काटिएको उनले बताए ।   लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ । यी बाहेक एक हजार ७३३ ग्राहकबाट रु तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र जनाएको छ ।  यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।   माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट रु सात करोड ५९ लाख ५३१ राजश्व सङ्कलन भएको छ । अग्रिम विद्युत् महशुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म  १३ लाख नौ हजार चार सय ९८ रुपैयाँ अग्रिम भुक्तानी हुने गरेको छ । आल अनलाइनबाट विद्युत् महशुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।