काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र सवारीमा रहेका रवीन्द्र धामीको घटनास्थलमै ज्यान गएको छ । जिप सडकबाट करिब ८० मिटर तल खसेको बताइएको छ ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोराका अनुसार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन्, उनीहरूको उपचार भइरहेको छ ।
बाजुरा प्रहरी प्रमुख डीएसपी इकवाल हवारीका अनुसार जिप सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।