विकासन्युज

श्रम मन्त्रालय र नाडाबीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे छलफल भएको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको हो । सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेको र त्यसको पूर्वतयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो । उक्त छलफलमा खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरको सभावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयहरूबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयमा छलफल केन्द्रित रहेको नाडाले जनाएकाे छ । सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर-तह/अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाडाैंमा आयोजना गर्न लागिएको हो । यसैगरी, सो मन्त्रालयले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टलसमेत रहने छ ।

१५ वर्षभन्दा पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

काठमाडौं । भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ । दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिवन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताए । होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदुषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताए । दिल्लीमा वायु प्रदुषण बढ्दो समस्याका रुपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकांक दर्ता गरेको छ ।

निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै

निसानको ईभी लिफसँग कम्पनीका सीईओ माकोटो उचिडा । फाइल तस्बिर । काठमाडौं । जापानी अटो निर्माता कम्पनी निसानले अर्को महिना आफ्ना उच्च पदस्थ व्यवस्थापनमा ठूलो फेरबदल गर्ने तयारी गरेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा हालसम्म आफ्नो पदमा रहने सम्भावना रहेको तीन जना जानकार स्रोतहरूले बताएका छन् । निसानमा व्यवस्थापन पुनर्गठन निसाले मार्च १२ मा निसान व्यवस्थापन सुधारको घोषणा गर्ने जनाइएको छ । यो योजनासँगको असफल विलय वार्तापछि ल्याइएको हो । निसान लगातार दुई त्रैमासिक कमजोर प्रदर्शनपछि गहिरो संकटमा परेको छ । निसानको बोर्डले यस पुनरुद्धार योजनाको प्रभावकारिता र हालको टोलीको क्षमताको मूल्यांकन गरिरहेको छ । के उचिडा हट्न सक्छन् ? स्रोतहरूका अनुसार यदि उचिडाले राजीनामा दिए भने कम्पनीले स्थायी सीईओ चयन गर्नुभन्दा पहिले एक अन्तरिम सीईओ नियुक्त गर्न सक्छ । ब्लुमबर्ग न्युजले भने निसान उचिडालाई हटाउने तयारीमा रहेको बताएको छ । निसानका निर्देशकहरू सम्भावित उत्तराधिकारीको खोजी गरिरहेका छन् । उचिडा सन् २०१९ को अन्त्यदेखि निसानको सीईओ रहेका छन् । निसानको पुनरुद्धार योजना तीनवटा कारखाना बन्द गरी व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने स्रोतहरूले जनाएका छन् । कम्पनीले आफ्नो वर्तमान आर्थिक वर्षको पूर्वानुमान तेस्रो पटक घटाएको छ, जसले अमेरिका र चीनजस्ता प्रमुख बजारहरूमा चुनौतीहरू देखाएको छ । उचिडाको अन्तिम लक्ष्य उचिडाले निसानलाई संकटबाट निकाल्नु आफ्नो मुख्य उद्देश्य बताउँदै आएका छन् । उनी भन्छन्, ‘मिसन पूरा भएपछि म राजीनामा दिन तयार छु ।’ तर, उनी हटेपछि कसले उनको ठाउँ लिनेछ भन्ने अझै स्पष्ट छैन । निसान–होन्डा मर्जर असफल किन ? निसान र होन्डाको ६० अर्ब डलरको मर्जर योजना फेब्रुअरी असफल भएको थियो । दुवै कम्पनीले डिसेम्बरदेखि मर्जरबारे वार्ता गरिरहेका थिए, तर होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन खोजेपछि वार्ता टुंगिएको हो । यो योजना पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । नयाँ साझेदारीको खोजीमा निसान निसान अब विशेषगरी प्रविधि कम्पनीहरूसँग सहकार्य गर्न खुला रहेको छ । कम्पनी इलेक्ट्रिक गाडी, स्वचालित कार र चीनमा छिटो अगाडि बढिरहेका कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छ । एक स्रोतका अनुसार निसान ताइवानको ‘फक्सकन’सँग पनि सहकार्य गर्न इच्छुक छ । फक्सकन जो विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माण कम्पनी हो र एप्पलको आईफोन उत्पादन गर्छ । उसले आफ्नो इलेक्ट्रिक गाडी निर्माण व्यवसाय विस्तार गर्न खोजिरहेको छ । डिसेम्बरमा फक्सकनले निसानसँग सहकार्य गर्ने प्रस्ताव राखेको थियो तर निसानले अस्वीकार गरेको थियो । निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिए । उनले भने ‘दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।’ अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले बताए । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उनले बताए । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरूको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् । रासस

‘एमएडब्लू ईभी कार्निभल’ सुरु

काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौं नक्सालस्थित अमरपाली ब्यांक्वेट लगायत देशभरिका शोरुमबाट ‘ईभी कार्निभल’ सुरु गरेको छ । आगामी बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्स्चेन्ज गर्न सक्ने एमएडब्लू वृद्धिले जनाएको छ । ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुका साथै हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि उपहार पाउने कम्पनीले जनाएको छ । कार्निभलमा चांगानको अफरोड क्यापेबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ, जसलाई १० प्रतिशतमात्र डाउन पेमेन्टमा खरिद गर्न सकिने छ । त्यसैगरी हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा निःशुल्क बास बस्न पाउने छ भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन–१६ प्रोम्याक्स पाउने एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनीका अनुसार ईभी कार्निभलमा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि लिन सक्नेछन् । यो एसयूभी एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो ग्राहकले दिपलको चर्चित मोडेल एस०७, एस०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

७७ जिल्ला पुग्यो प्रभु बैंक, दार्चुलामा नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभरि बैंकिङ पहुँचमा वृद्धिमात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको बैंकको भनाइ छ । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ । त्यस्तै दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ जिल्लामा विस्तार भएको छ ।

हाइब्रिड काँक्रो प्रतिकेजी ३० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७०, गाजर (लोकल) प्रतिकेजी ३५, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ रहेको छ । बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १२, काउली स्थानीय प्रतिकेजी २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २५, काउली (तराई) प्रतिकेजी २५, मूला रातो प्रतिकेजी ४०, मूला सेतो (लोकल) प्रतिकेजी १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी २५, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ६०, घिउ सिमी (लोकल) प्रतिकेजी ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५०, घिउ सिमी (राजमा) प्रतिकेजी ९० टाटे सिमी प्रतिकेजी ७०, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ४०, परबर (लोकल) प्रतिकेजी २००, झिगुनी प्रतिकेजी ९०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी १२ रुपैयाँ रहेको छ । भिण्डी प्रतिकेजी ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी १३०, स्कूस प्रतिकेजी ४५, रायो साग प्रतिकेजी २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग ६०, तोरीको साग प्रतिकेजी ३०, मेथीको साग प्रतिकेजी ७०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ६०, तरुल प्रतिकेजी १००, च्याउ (कन्य) प्रतिकेजी ८०, च्याउ (डल्ले) प्रतिकेजी ३००, कुरिलो प्रतिकेजी १,४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ४५, चुकुन्दर प्रतिकेजी ६०, सजीवन प्रतिकेजी २००, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ६०, सेलरी प्रतिकेजी १५०, सौफको साग प्रतिकेजी ७०, पार्सले प्रतिकेजी ३००, पुदिना प्रतिकेजी ३००, गान्टे मूला प्रतिकेजी ६०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२० र गुन्द्रुक प्रतिकेजी ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी २००, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १५०, कागती प्रतिकेजी १८०, अनार प्रतिकेजी ३८०, अङ्गुर (हरियो) प्रतिकेजी १८०, अङ्गुर (कालो) प्रतिकेजी २८०, सुन्तला (भारतीय) प्रतिकेजी १४०, तरबुजा (हरियो), प्रतिकेजी ५०, मौसम प्रतिकेजी १६०, जुनार प्रतिकेजी १४०, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ छ । काँक्रो (लोकल) प्रतिकेजी ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ३०, कटहर प्रतिकेजी ११०, निबुवा प्रतिकेजी ७०, नासपाती (चाइनिज) प्रतिकेजी २४०, मेवा (नेपाली) प्रतिकेजी ५०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १४०, लप्सी प्रतिकेजी १४०, खरबुजा प्रतिकेजी ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ४००, किबी प्रतिकेजी ४८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ३४०, खुर्सानी हरियो प्रतिकेजी १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी १२०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी ७०, लसुन हरियो प्रतिकेजी ८०, हरियो धनिया प्रतिकेजी ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी २९०, लसुन सुकेको नेपाली प्रतिकेजी २००, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी ७०, ताजा माछा (रहु) प्रतिकेजी ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी ३००, ताजा माछा (छडी) प्रतिकेजी ३००, टमाटर प्रतिकेजी १८० तोकेको छ ।

ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।