जलविद्युत् आयोजनाले बढायो विकास, स्थानीयबासी खुसी
म्याग्दी । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छिन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् । ‘अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ’, घर्तीले भनिन् । सडक निर्माणका लागि यहाँ सञ्चालित जलविद्युत् आयोजनाको भूमिका छ । हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले नाउरादेखि १९ घरधुरी रहेको चेचुङगाउँ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् । चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहेका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताए । ‘शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ’, तिलिजाले भने । जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन । पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पुर्याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताए । जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ’, गाउँपालिका अध्यक्ष पुनले भने । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उनले बताए । रासस
बजार हिस्सा बढाउँदै एनसेल, पछि पर्दै नेपाल टेलिकम
काठमाडौं । नेपाली दूरसञ्चार कम्पनीमा निजी क्षेत्रबाट सञ्चालित एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट सञ्चालित नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको हो । प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुसको तुलनामा यसवर्षको पुससम्ममा प्रयोगकर्ता ठूलो मात्रमा नेपाल टेलिकमले गुमाएको छ भने एनसेलले बढाएको छ । ग्राहक संख्या हेर्ने हो भने अघिल्लो वर्षको पुसमा एनसेलका १ करोड २९ लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ४७ लाख पुगेका छन् । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ग्राहक अघिल्लो वर्षको पुसमा एनसेलका २ करोड २० लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ५२ लाख पुगेका छन् । तथ्यअनुसार नेपाल टेलिकमका प्रयोगकर्ता घट्दा एनसेलले बजार हिस्सा बढाउँदै लगेको हो । नेपाल टेलिकमजस्ता सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारले तयारी गर्दा पनि उल्लेख्य रुपमा प्रयोगकर्ता बढ्न सकिरहेका छैनन् । हाल टेलिकमको ९२ प्रतिशत सेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको छ । नेपाल टेलिकमको अघिल्लो महिना सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुले अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको सेयर पुर्याउने घोषणा गरेका थिए । प्रयोगकर्ता घटिरहेकै बेला नेपाल टेलिकमले हालै टपअपसम्बन्धि लिएको निर्णय विवादित समेत बन्यो । साना तिना धेरै कारोबार देखिएको निस्कर्ष निकाल्दै रिचार्ज टपअपमा ५० भन्दा कम रोक्न खोजेको टेलिकमको निर्णय विरोधपछि धेरै समय टिक्न सकेन । टेलिकमका प्रवक्ता हरि ढकाल समायानुसार परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको बताए । उनले भने– ‘साना कारोबारहरु रोक्ने नै भन्ने छ तर पनि ग्राहकको माग कम पनि चाहियो भन्ने आएकाले पुनः पुरानै टपअपको सीमालाई निरन्तरता दिएका छौं ।’ उनकाअनुसार टेलिकमले प्रयोगकर्ता बढाउन भन्दा पनि गुणस्तरीयतामा ध्यान दिइरहेको छ । समयानुसार टेलिकम परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको उनले बताए ।
कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई विभिन्न सेवाहरुमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
५ करोडको लागतमा पक्की पुल निर्माण, दुई पालिकाबीच आवतजावत गर्न सहज
गुल्मी । गुल्मीको पनाहा खोलामा पाँच करोड छ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको पाँच करोड छ लाख रुपैयाँ लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ । पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको हो । रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताइन् । पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताए । ‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,’ उनले भने ।
अमेरिकाको बढ्दो ‘ऋण’ नियन्त्रण गर्न ट्रम्प ‘असफल’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो तथा अन्तिम कार्यकालमा देशलाई महान बनाउन चाहन्छन् । यसका लागि उनी लगातार एकपछि अर्को ठूला निर्णयहरू गर्दैछन्, जसले धेरै देशहरूलाई चिन्तित बनाएको छ । तर, ट्रम्प देशको बढ्दो ऋण नियन्त्रण गर्न असफल भएका छन् । जनवरीमा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट फेडरल सरकारको कुल राजस्वको १८.७ प्रतिशत पुग्यो, जुन १९९० को दशकयता सबैभन्दा उच्च हो । सन् १९९२ मा यो १८.९ प्रतिशतको उच्चतम स्तरमा पुगेको थियो र जनवरीमा यो त्यसभन्दा केवल २० बेसिस पोइन्ट कम रह्यो । अर्थात् यो २३ वर्षको उच्चतम स्तरमा पुग्यो । ब्याजको लागत बढेपछि पछिल्ला १८ महिनामा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट दोब्बर भएको छ । ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्नमात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । अमेरिकाले दैनिक १. ८ अर्ब डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट देखाउँछ । ऋण कति पुग्यो ? अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पार गरेको छ, जुन देशको जीडीपीको करीब १२५ प्रतिशत हो । २००० मा अमेरिकामा ५.७ ट्रिलियन डलर ऋण थियो, जुन अहिले ३४.२ ट्रिलियन डलर पुगेको छ । २०१० मा यो १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर थियो । यूएस कांग्रेसको बजट दस्तावेजहरूअनुसार अर्को दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान छ । अर्थतन्त्र ध्वस्त हुनसक्ने अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ । यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ । बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ । गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (एए +) बाट घटाएर ‘त्रिपल ए’ (एएए) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो । (एजेन्सीहरूको सहयोगमा)
महिलालाई स्वरोजगार बनाउन कैलालीका दुई पालिकाले दियो ३ लाख रुपैयाँ अनुदान
गोदावरी । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ । दलित महिला सङ्घ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो । नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला सङ्घका अध्यक्ष सविना सुनारले बताए । महिलाले सो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बङ्गुरपालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ । परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिए । अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ । दुवै पालिका तथा वडास्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउपुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए । जसबाट समूहको बचत कोषको प्रवर्द्धन भई समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए । रासस
अवैधरूपमा अस्पताल सञ्चालन गरेको आरोपमा सञ्चालक पक्राउ
चन्द्रपुर । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताए । मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गरेका थिए । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिए । मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए । रासस
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्किएका तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए । उनका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि रैछन् । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।