विकासन्युज

काठमाडौंका मुख्य क्षेत्रमा दुई दिन बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ । रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत तार व्यवस्थापन तथा अन्य प्राविधिक कार्य गर्न विद्युत आपूर्ति बन्द गर्न लागेको हो । प्राधिकरणका अनुसार आज (असोज ३ गते शनिबार) अनामनगर र पुतलीसडक फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । अनामनगर फिडरअन्तर्गत के–३ सडकको पर्खाल हुँदै अनामनगर पानी ट्यांकी, अनामनगर मोड, पूर्वी गेट, हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पतालसम्म, अनामनगर भाटभटेनी, धोबीखोला करिडोर हुँदै मैतीदेवी सेतो पुलसम्म तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुनेछ । त्यस्तै, पुतलीसडक फिडरअन्तर्गत माइतीघर मण्डला, बबरमहल, काठमाडौं जिल्ला अदालत हुँदै बिजुलीबजार पुल, थापाथली एपीआई टेलिभिजन तथा आसपासका क्षेत्रमा सोही समय विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै, असोज ४ गते आइतबार भोटेबहाल फिडरअन्तर्गत भोटेबहाल पिपलबोट, एङ्गल चोक, लगन चोक, भगवती मन्दिर, दक्षिणकाली मन्दिर तथा आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत सेवा सुचारु हुन सक्ने जनाएको छ । विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

भारतीय उद्योगपतिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले, नेपालमा लगानीको आह्वान गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन् । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको गोलमेच छलफललाई उनले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित परिसंघको मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।  छलफलका क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई थप लगानी विस्तार गर्न आह्वान गर्नेछन् ।  यस्तै, नेपालमा लगानीका लागि कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफलको सुनिश्चितताका विषयमा सरकारको धारणा पनि उनले भारतीय उद्योगपतिसमक्ष प्रस्तुत गर्नेछन् ।  अर्थमन्त्री वाग्लेसँगको छलफलमा भारतीय उद्योग परिसंघका पूर्वअध्यक्ष तथा आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ ।

समस्याग्रस्त सहकारीको घरजग्गा ४० लाखमा बिक्रीमा, प्रतिआना ११ लाख रुपैयाँ

काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको नाममा दर्ता रहेका घरजग्गा बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो । समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारीको नाममा रहेको भक्तपुरको ताथली-४ स्थित कित्ता नम्बर ६४७ को ०-८-३-३ क्षेत्रफलको जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँका दरले कुल ९८ लाख ३१ हजार २५० रुपैयाँ तोकिएको छ । जग्गाको अगाडि २० फिटे ढलान बाटो रहेको समितिले जनाएको छ । यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारीकै नाममा रहेको ललितपुर महानगरपालिका-२२ स्थित कित्ता नम्बर ११३९ को ०-०-३-० क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर पनि बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी, लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका-१५ स्थित कित्ता नम्बर ७९ को ३१.७९ वर्गमिटर क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको समितिले जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक नगरेपछि संस्थाको नाममा दर्ता रहेका घरजग्गा लिलाम बिक्रीमा राखिएको समितिले जनाएको छ । सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । समितिले लिलाम बिक्रीमा राखिएका सम्पत्तिको न्यूनतम मूल्य चलनचल्तीको मूल्यका आधारमा कायम गरिएको जनाएको छ ।

३ वर्षको साधारण सभा एकैपटक, सेयरधनीलाई हकप्रद सेयर

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बिहान १० बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बोलाउने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लागि सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, हकप्रद सेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ । कम्पनीले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभाले एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज २८ गते डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा २८औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ६ प्रतिशत अर्थात् ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको नियुक्तिका शर्त र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजी ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशतका दरले सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असारसम्म समानुपातिक रूपमा हुन आउने ७ करोड ४५ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुनकुमार गौतमलाई नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ । यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्नेछ । बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, सञ्चालक समितिको बैठकसम्बन्धी बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी नियममा रहेका विद्यमान व्यवस्था हटाउने प्रस्तावसमेत सभामा पेस गरिनेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस्तै, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।  कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो । एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए ।  शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको प्रवक्ता जबराले जानकारी दिए ।  उनका अनुसार पक्राउ परेका दुवै जनालाई सीआईबीको कार्यालय लाजिम्पाट लगिएको छ । सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ ।

बाढी पीडितका लागि होटल पौवाको ११ लाख सहयोग

काठमाडौं । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनस्र्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।  उनले विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताए । होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेको देशलाई सहयोग गरेको बताए ।  ‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,’ ज्ञवालीले भने । होटल पौवाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ ।  विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पौवाले यसअघि पनि सहयोग गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।