विकासन्युज

प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति  पक्राउ

काठमाडौं । प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ  परेका छन् । पक्राउ पर्नेमा पूर्वी नवलपरासी, देवचुली नगरपालिका-७ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ बस्ने ३८ वर्षीय मोहन केसी भन्ने राज श्रेष्ठ रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध प्रहरी र आर्मीमा जागिर लगाइदिन्छु भन्दै २७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।  पक्राउ पुर्जी जारी भएपश्चात् उनी फरार रहेका थिए ।

भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपालीलाई जेसीबी इन्डियाले गर्यो सम्मान

काठमाडौं । नेपालमा हालै आएको भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्त्वपूर्ण योगदान पु‍र्याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ । जेसीबी इन्डियाले ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरेको हो ।  उनीहरूलाई जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले व्यक्तिगत रूपमा सम्मान गर्दै उद्धार कार्यमा पु‍र्याएको योगदानको प्रशंसा गरे । राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्साभेटरसहित अन्य मेसिन प्रयोग गरी त्रिशूली–३ए आयोजनास्थलमा धेरै दिन उद्धार कार्यमा खटिएका थिए ।  उनीहरूको प्रयासबाट बाढीका कारण आयोजनास्थलमा फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको कम्पनीले जनाएको छ । सम्मान कार्यक्रममा जेसीबी इन्डियाका सीईओ शेट्टीले विपत्तिको समयमा राउत र अधिकारीले देखाएको साहसलाई प्रशंसा गर्दै यसलाई ‘नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा’का रूपमा उल्लेख गरे । उनले यति ठूलो साहसिक कार्य गरे पनि दुवै जना अत्यन्तै सरल र विनम्र रहेको बताए । यसैबीच, नेपालमा बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रयोग भइरहेका जेसीबी मेसिनलाई लक्षित गरी एमएडब्लू अर्थमुभर्सले विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ ।  जेसीबी वाओ सर्भिस गाडीमार्फत नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःनिर्माणमा खटिएका मेसिनलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । जोखिमपूर्ण परिस्थितिमा उद्धार तथा पुनःनिर्माणमा खटिएका मेसिन अपरेटरहरूलाई कम्पनीले सुरक्षा किटसमेत वितरण गरेको छ । नेपाल पुनःस्थापना तथा पुनर्निर्माणको चरणमा अघि बढिरहेको अवस्थामा आफ्ना ग्राहक तथा अपरेटरलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको एमएडब्लू अर्थमुभर्सले जनाएको छ । एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो । हाल कम्पनीका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सर्भिस इन्जिनियरमार्फत देशभर १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाइएको छ । कम्पनीले नेपालमा २३ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको छ । 

बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट आमाबाबु गुमाएका, बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेको अध्यक्षतामा रहेको एमआईटी ग्रुप फाउन्डेसन कम्पनी बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको परिषद् र कम्पनीबीच भएको समझदारीले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको पारिवारिक हेरचाह, शिक्षा र दीर्घकालीन संरक्षणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।  समझदारीपत्रमा परिषद्का सदस्य–सचिव दुर्गा प्रसाद चालिसे र कम्पनीका अध्यक्ष शेष घलेले हस्ताक्षर गरेका छन् । सहयोगका लागि आमाबाबु दुवै वा एक जना गुमाएका वा बेपत्ता भएका तथा आर्थिक र सामाजिक रूपमा जोखिममा रहेका १८ वर्षमुनिका बालबालिकालाई प्राथमिकतामा राखिएको छ । बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्कन सहयोग गरिनेछ । परिवार तथा नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ । प्रत्येक बालबालिकाको आवश्यकता मूल्याङ्कन गरी व्यक्तिगत बाल शिक्षा तथा कल्याण योजना तयार गरिनेछ । सोही योजनाका आधारमा शिक्षा, शैक्षिक सामग्री, स्वास्थ्य तथा बीमा, पोषण, जीवनयापन, यातायात र मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ ।  स्वीकृत योजनाअनुसार बालबालिकाको कक्षा १२ सम्मको अध्ययनलाई निरन्तरता दिन आवश्यक सहयोग गरिने समझदारीमा उल्लेख छ । परियोजना अवधिभर कम्पनीबाट उपलब्ध हुने बजेटको अधिकतम सीमा ५७ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।  उक्त रकम स्वतः प्रदान गरिने निश्चित अनुदान नभई प्रमाणित आवश्यकता र स्वीकृत व्यक्तिगत योजनाका आधारमा निर्धारण तथा विनियोजन गरिनेछ । सरकारी छात्रवृत्ति तथा अन्य सहयोगलाई समेत ध्यानमा राखी सहयोग दोहोरो नपर्ने व्यवस्था मिलाइनेछ ।लाभग्राहीको पहिचान र प्रमाणीकरण स्थानीय तहको सहजीकरणमा परिषद्मार्फत हुनेछ ।  परिषद्ले समन्वय, सहजीकरण र बाल संरक्षणसम्बन्धी भूमिका निर्वाह गर्नेछ भने एमआईटी ग्रुप फाउन्डेसन कम्पनीले वित्तीय तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । दुवै पक्षले बालबालिकाको शैक्षिक प्रगति, स्वास्थ्य, संरक्षण र सहयोगको उपयोगबारे नियमित अनुगमन तथा समीक्षा गर्नेछन् । समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म कायम रहनेछ र दुवै पक्षको सहमतिमा आवश्यकताअनुसार नवीकरण गर्न सकिनेछ ।  सहकार्यमा बालबालिकाको सर्वोत्तम हित, सम्मान, सुरक्षा, गोपनीयता तथा सहयोगको पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारको नाम बेचेर २ करोड ५० लाख ठगी, २ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ परेका हुन् । नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार सन् २०२४ मा नेपालबाट इजरायलमा केयरगिभरका लागि कामदार पठाउन परीक्षा सञ्चालन गरिएको थियो ।  उक्त परीक्षामा सहभागी भई लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी पीडितलाई विश्वासमा लिएका थिए । उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाइदिने भन्दै १५६ जनाबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएको प्रारम्भिक विवरण छ । ठगीमा परेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई २०८३ असोज १ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानका राजदूत र कृषिमन्त्री चौधरीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन, पर्वतीय मुद्दा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा जलवायु परिवर्तन, पर्वतीय मुद्दा, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा विपद्पछिको पुनर्निर्माणलगायत क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको कृषि मन्त्रालयको सचिवालयले जनाएको छ । राजदूत खानले नेपालमा हालै भएका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताएका थिए । उनले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा दुवै देशले अनुभव, प्रविधि तथा सूचना आदानप्रदान गर्न सक्ने धारणा राखे । उनले पाकिस्तानले विपद्पछिको पुनःनिर्माण तथा जलवायु उत्थानशील प्रविधिको क्षेत्रमा गरेका प्रयास र हासिल गरेको अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको बताए । पाकिस्तानका प्रधानमन्त्रीले समेत नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गरेको उल्लेख गर्दै राजदूत खानले पुनःनिर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको जानकारी दिए । भेटवार्तामा नेपाल र पाकिस्तानले साझा पर्वतीय तथा जलवायु एजेन्डालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका क्षेत्रीय मञ्चमार्फत पर्वतीय मुलुकका साझा मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा पनि जोड दिइएको थियो । मन्त्री चौधरीले नेपाल र पाकिस्तान दुवै पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमजस्ता साझा चुनौती सामना गर्न सूचना, तथ्यांक, प्रविधि र अनुभवको आदानप्रदान महत्वपूर्ण रहेको बताइन् । उनले कृषि लगायत सम्भावित अन्य क्षेत्रमा समेत द्विपक्षीय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरिन् । भेटमा विपद् व्यवस्थापन तथा सम्बन्धित अन्य निकायबीच संस्थागत सहकार्य र समझदारी विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।  साथै, पाकिस्तानका जलवायु परिवर्तनसम्बन्धी सम्बन्धित मन्त्रीसँग नेपालको कृषि, वन तथा पर्यावरण मन्त्रालयबीच थप छलफल र समन्वय गर्ने विषयमा समेत कुराकानी भएको थियो । भेटवार्ताका क्रममा नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायुकुमार श्रेष्ठ, को हुन् उनी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा दीर्घायुकुमार श्रेष्ठ चयन भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विगत चार महिनादेखि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  सन् १९९७ को नोभेम्बरमा भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) बाट इन्जिनियर (सिस्टम अपरेटर) का रूपमा सेवा प्रवेश गरेका श्रेष्ठले करिब २९ वर्षको निरन्तर सेवापछि संस्थाको सर्वोच्च व्यवस्थापकीय नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । आफ्नो लामो प्राविधिक तथा प्रशासनिक करिअरका क्रममा श्रेष्ठले प्राधिकरणका विभिन्न तल्ला तहदेखि उच्च जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।  उनले सन् २००५ देखि २००९ सम्म पूर्वी काठमाडौं लगायतका विभिन्न वितरण केन्द्रमा सहायक प्रबन्धकका रूपमा काम गरेका थिए ।  त्यसपछि उनले हेटौंडा ग्रिड डिभिजन र कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुख (प्रबन्धक) का रूपमा नेतृत्वदायी भूमिका खेले ।  साथै सन् २०१४ देखि २०१८ सम्म अत्तरिया, हेटौंडा र काठमाडौं क्षेत्रीय कार्यालयहरूको प्रमुख (निर्देशक) भई जिम्मेवारी सम्हालेका उनले २०१८ देखि २०२० सम्म ग्रिड सञ्चालन विभागको नेतृत्व गर्दै विद्युत् प्रणाली र ग्रिड व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएका थिए ।  पछिल्ला वर्षहरूमा संस्थाको उच्च व्यवस्थापनमा रहेर काम गरेका श्रेष्ठ सन् २०२० को डिसेम्बरदेखि २०२५ को अप्रिलसम्म प्रसारण निर्देशनालयको उपकार्यकारी निर्देशक र त्यसपछि २०२६ को मेसम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशक रहेका थिए ।  गत १३ मे २०२६ देखि कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई सरकारले पूर्ण जिम्मेवारी सुम्पिएसँगै, तल्लो तहको प्राविधिक इन्जिनियरबाट सुरु भएको उनको करिअरले प्राधिकरणको सर्वोच्च पद हासिल गर्दै एक सफल र अनुभवी नेतृत्वको उदाहरण दिएको छ । 

भोटेकोशी बाढी: बेपत्ताको शव पहिचानमा अत्याधुनिक सफ्टवेयर प्रयोग गरिने

काठमाडौं । केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट र धादिङ जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीच प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन, अस्थायी आवासका लाभग्राही पहिचान कायम र सूचना प्रणालीमा इन्ट्री, विकास साझेदार, संघसंस्था, निजी क्षेत्रलगायतको सहयोग र प्रारम्भिक पुनर्स्थापना लगायतका विषयमा छलफल भएको छ ।   भर्चुअल माध्यमबाट भएको छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले सडक तथा पुलहरुको कनेक्टिभिटी, सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्ता, बालबालिकाको व्यवस्थापन, स्थानीयद्वारा पुरिएका घरहरुको उत्खननका लागि भएको माग, बाढीले प्रभाव पारेका ठाउँमा आवासीय, सार्वजनिक पूर्वाधार निर्माणमा स्पष्टताको आवश्यकता लगायतका विषय राखे । केन्द्रीय कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्तालगायतका विषयमा केन्द्रीय स्तरमा छलफल भइरहेको जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कमाण्ड पोष्टको बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिहरुको पहिचान गर्न शवबाट उठाइएको औंलाछाप नमूनाहरुको विद्युतीयप्रति आवश्यकता अनुसार निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग, पासपोर्ट विभाग, अध्यागमन विभाग र सवारी तथा यातायात व्यवस्था कार्यालयमा रहेको सफ्टवेयर आदिको प्रयोग गरी तुलना गर्न सकिने गरी अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।  त्यसैगरी, बैठकले भारत, चीन, दक्षिण कोरिया लगायतका मित्र राष्ट्रहरुबाट आएका खोज तथा उद्धार टोलीले रसुवा/भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्धारमा पुर्‍याएको सहयोग र योगदानको उच्च सम्मान गरेको छ ।

नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल–नाटोबीच साझेदारी

काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ । बिहीबार (हिजो) नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । साझेदारीले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने लक्ष्य राखेको एनसेलले जनाएको छ । कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा यात्रा गर्दा आवश्यक पर्ने सञ्चार सेवामा पर्यटकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउने एनसेलले जनाएको छ । नाटोले भने देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ । कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई उपयोग गर्दै गरिएको सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई थप सहज र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरे । नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए । नेपाल आउने हरेक यात्रुलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो । दूरसञ्चार सेवामा सहकार्यसँगै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न नाटोलाई सहयोग गर्ने भएको छ । यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ । उक्त पहलले प्रमुख राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायको सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । एनसेल र नाटोको यो सहकार्यले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रतिको दुवै संस्थाको साझा प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने जनाइएको छ ।