विकासन्युज

भोटेकोशी बाढी: बेपत्ताको शव पहिचानमा अत्याधुनिक सफ्टवेयर प्रयोग गरिने

काठमाडौं । केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट र धादिङ जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीच प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन, अस्थायी आवासका लाभग्राही पहिचान कायम र सूचना प्रणालीमा इन्ट्री, विकास साझेदार, संघसंस्था, निजी क्षेत्रलगायतको सहयोग र प्रारम्भिक पुनर्स्थापना लगायतका विषयमा छलफल भएको छ ।   भर्चुअल माध्यमबाट भएको छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले सडक तथा पुलहरुको कनेक्टिभिटी, सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्ता, बालबालिकाको व्यवस्थापन, स्थानीयद्वारा पुरिएका घरहरुको उत्खननका लागि भएको माग, बाढीले प्रभाव पारेका ठाउँमा आवासीय, सार्वजनिक पूर्वाधार निर्माणमा स्पष्टताको आवश्यकता लगायतका विषय राखे । केन्द्रीय कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्तालगायतका विषयमा केन्द्रीय स्तरमा छलफल भइरहेको जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कमाण्ड पोष्टको बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिहरुको पहिचान गर्न शवबाट उठाइएको औंलाछाप नमूनाहरुको विद्युतीयप्रति आवश्यकता अनुसार निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग, पासपोर्ट विभाग, अध्यागमन विभाग र सवारी तथा यातायात व्यवस्था कार्यालयमा रहेको सफ्टवेयर आदिको प्रयोग गरी तुलना गर्न सकिने गरी अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।  त्यसैगरी, बैठकले भारत, चीन, दक्षिण कोरिया लगायतका मित्र राष्ट्रहरुबाट आएका खोज तथा उद्धार टोलीले रसुवा/भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्धारमा पुर्‍याएको सहयोग र योगदानको उच्च सम्मान गरेको छ ।

नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल–नाटोबीच साझेदारी

काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ । बिहीबार (हिजो) नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । साझेदारीले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने लक्ष्य राखेको एनसेलले जनाएको छ । कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा यात्रा गर्दा आवश्यक पर्ने सञ्चार सेवामा पर्यटकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउने एनसेलले जनाएको छ । नाटोले भने देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ । कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई उपयोग गर्दै गरिएको सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई थप सहज र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरे । नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए । नेपाल आउने हरेक यात्रुलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो । दूरसञ्चार सेवामा सहकार्यसँगै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न नाटोलाई सहयोग गर्ने भएको छ । यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ । उक्त पहलले प्रमुख राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायको सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । एनसेल र नाटोको यो सहकार्यले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रतिको दुवै संस्थाको साझा प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने जनाइएको छ ।

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् ।  नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के रहेका छन् । नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन् । नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नयाँदिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता छ । भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।  भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ ।  नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।  भेटमा नेपाल-भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरुले छलफल गरे ।  यसअघि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेको थियो । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेको थियो ।  सो क्रममा उनीहरू बीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो ।

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।  मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ । विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ । कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेटेर दीर्घकालीन सोचका आधारमा विधेयकको मस्यौदा तयार गर्नेछ । यसअघि तत्कालीन संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो । तर, विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रालयले यस पटक साबिकको विधेयकको मस्यौदालाई समेत आधार बनाउँदै विद्यालय शिक्षाका बहु आयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई समेट्ने गरी नयाँ मस्यौदा तयार गर्ने जनाएको छ । विधेयक तयारीका क्रममा सरोकारवालाको वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ । आगामी दिनमा अन्य सरोकारवालासँग समेत क्रमशः संवाद गरी सुझाव सङ्कलन गर्ने मन्त्रालयको तयारी छ ।

‘नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा लैजानुपर्छ’

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयानुकूल बनाउँदै नयाँ उचाइमा पु‍र्याउनुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताएका हुन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास र साझा समृद्धिको नयाँ चरणमा लैजानुपर्ने बताए । सो अवसरमा अर्थमन्त्री वाग्लेले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा भारतीय जनताले देखाएको तदारुकता र उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले मिलेर अघि बढाउनुपर्ने धारणा राखे । परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याए । नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आह्वान गरे । उनले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताए । ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ । पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो ।’ गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो । कार्यक्रमको आयोजना स्थलसमेत रहेको आईआईसीका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा हुने यस्ता गहन र खुला विमर्श फलदायी हुने धारणा राखे । कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए । त्यसैगरी, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभाग प्रमुख डा। विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो । छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए । सहभागीहरूले नेपाल र भारतको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी तथा पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बागमतीकी नवनियुक्त मन्त्री रमा आले मगरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।  आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।   मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।  नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।  एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ ।  आले मगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन् ।

बाढी प्रभावितका लागि प्रभु बैंकले पहेंलो गुम्बालाई दियो बंक बेड

काठमाडौं । प्रभु बैंकले विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुम्बामा आश्रित प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको हो ।  विपद्का कारण घरबारविहीन भएका परिवारका लागि आश्रयस्थलमा बंक बेड आवश्यक रहेको पहिचान भएपछि बैंकले उक्त सहयोग गरेको जनाएको छ । बैंकका अनुसार यस सहयोगबाट पहेंलो गुम्बामा राहत तथा आश्रय लिएर बसिरहेका प्रभावित परिवारलाई बसोबासमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ । प्रभु बैंकले यसअघि पनि विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।  यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत उक्त कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । त्यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको थियो । बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुग्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।