इस्टर्न हाइड्रोपावरले ५४ लाख कित्ता हकप्रद सेयर ल्याउने
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचना प्रकाशित गर्दै हाल कायम रहेको चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति पाएको जानकारी दिएको हो । कम्पनीका अनुसार हालको ६० करोड रुपैयाँ चुक्ता पुँजी को १०ः९ अनुपातमा हकप्रद सेयर जारी गरिनेछ । यसअनुसार कम्पनीले ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो । आयोगले आवश्यक संशोधनसहित हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासनसम्बन्धी अन्य प्रक्रिया पूरा भएपछि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमार्फत आवेदन खुला गर्नेछ ।
रसुवा बाढी अपडेटः तीन प्रहरी युनिट बगायो, सञ्चार सम्पर्क टुट्यो
काठमाडौं । रसुवामा आएको बाढीले तीन वटा प्रहरीको युनिट बगाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद धमलाले बाढीले प्रहरीको तीन वटा युनिट बगाएको जानकारी दिए । उनले केही प्रहरीहरू सम्पर्कविहिन भएको जानकारी दिए । कति संख्यामा प्रहरी सम्पर्क भए यसको पूर्ण विवरण आउन नसकेको उनको भनाइ छ । 'सञ्चार युनिटसँग पूर्ण रुपमा सम्पर्क विच्छेद भएको छ,’ उनले भने,’ हाम्रो कसैसँग सम्पर्क हुन सकेको छैन । फोनमा बोलेको बुझिएको छैन ।' बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोपछि चार जिल्लातर्फ जाने सवारीसाधन काठमाडौंमै रोकिए
काठमाडौं । रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं हुँदै रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो । बाढीपहिरोका कारण ती जिल्लामा सडक तथा यातायातमा जोखिम बढेकाले सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ नेतृत्व, पाँच पदमा नियुक्ति
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र लिएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन् ।
नेपाली सेनाको दुईवटा हेलिकोप्टर रसुवामा, स्वास्थ्य टोली अस्पतालमा परिचालित
काठमाडौं । नेपाली सेनाले रसुवाको बाढी पीडितलाई उद्धार गर्न दुई वटा हेलिकोप्टर पठाएको छ । रसुवा जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम एआइ- १७ त्यसतर्फ गइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सेनाको टोली धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएका छन् । गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना अनुरोध गरेको छ । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ ।
रसुवा बाढीपछि उद्धारका लागि यस्तो छ सरकारको तयारी
काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उद्धार तथा राहतका लागि तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाएको छ। साथै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि देशभरका हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
रसुवाको नदी किनारमा रहेका बजार बाढीले बगायो
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवाको नदी तटीय ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाले ठूलो विनाशकारी बाढी आएको र कल्पना गर्न नसक्ने क्षति भएको बताए । नदी किनारामा रहेका सबै बस्ती र बजारमा पुरै क्षति पुर्याएको उनको भनाइ छ । उनले जनधनको ठूलो क्षति भएको अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरू बगाएको थापाले बताएका छन् । आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा तिब्बत क्षेत्रमा आकस्मिक बाढी आएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।
उद्धारमा दुई हेलिकप्टर, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै
काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार (आज) बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् । जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ । आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।