विकासन्युज

टाटाको नयाँ सिएरा ईभी नेपाली बजारमा, टियागो र पञ्च ईभीमा १ लाख रुपैयाँ छुट

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा टाटाको नयाँ प्रिमियम विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सिएरा ईभीको औपचारिक प्रि–बुकिङ समेत खुला गरेको छ भने ग्राहकलाई आगामी दसैंदेखि डेलिभरी सुरु गरिने जनाएको छ । नेपाली विद्युतीय सवारी बजारमा अग्रणी रहेको टाटाले सिएरा ईभीसँगै आफ्नो ईभी लाइनअप थप विस्तार गरेको छ । सिप्रदीले हाल टियागो ईभी, पञ्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा ईभीको यात्रा नयाँ चरणमा पुगेको बताए । उनका अनुसार नयाँ टियागो ईभी र पञ्च ईभीप्रति ग्राहकबाट प्राप्त विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको छ । श्रेष्ठले सिएरा ईभीले प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, फराकिलो इन्टेरियर र २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स सिएरा ईभीका प्रमुख विशेषता रहेको कम्पनीको दाबी छ ।  नेक्सन ईभी रिलोड पनि सार्वजनिक सिप्रदीले नाडा अटो शोमै आफ्नो लोकप्रिय एसयूभी नेक्सन ईभी रिलोड पनि सार्वजनिक गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अटो शो विशेष अफरअन्तर्गत ग्राहकले नेक्सन ईभी रिलोड ४२ लाख ४९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।  टियागो र पञ्च ईभीमा १–१ लाख रुपैयाँ छुट नाडा अटो शोको अवसरमा सिप्रदीले टियागो ईभी र पञ्च ईभी फेसलिफ्ट मोडलमा १–१ लाख रुपैयाँसम्म छुट दिएको छ । अफरअन्तर्गत ग्राहकले पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाडा अटो शो अवधिभर यी विशेष अफर लागू हुनेछन् ।

सर्वोच्चमा परेको निवेदनले कांग्रेस महाधिवेशन रोकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा परेको निवेदनका कारण पार्टीको १५औँ महाधिवेशनको निर्धारित प्रक्रिया प्रभावित हुने सम्भावना नरहेको बताएका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै शर्माले महाधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने कानुनी आधार आफूले नदेखेको बताएका हुन्। सर्वोच्चमा निवेदन दर्ता भएपछि कांग्रेसका नेता–कार्यकर्तामा महाधिवेशनको प्रक्रिया के हुन्छ भन्ने अन्योल र जिज्ञासा बढेको भन्दै उनले अनावश्यक आशंका नगर्न आग्रह गरेका छन्। शर्माले महाधिवेशनको प्रक्रिया रोक्न अन्तरिम आदेश जारी हुने सम्भावना नरहेको दाबी गर्दै त्यसका चारवटा आधार प्रस्तुत गरेका छन्। उनका अनुसार पहिलो, १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय अदालतको पछिल्लो फैसलापछि मात्रै गरिएको होइन। फागुन २१ गतेको निर्वाचनपछि २०८२ चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी निर्णय गरेको र वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलामा समेत उक्त मिति उल्लेख रहेको उनले बताए। ‘फागुन २१ को निर्वाचनपछि ११ चैत २०८२ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय हो। सम्मानित अदालतको वैशाख ४ को फैसलामा पनि यो मिति उल्लेख छ,’ शर्माले भनेका छन्। दोस्रो, सर्वोच्चमा रिट वा पूरक निवेदन दर्ता हुँदैमा त्यसमा माग गरिएको अन्तरिम आदेश जारी हुने अवस्था नरहने शर्माको तर्क छ। निवेदन दर्ता हुनु र अन्तरिम आदेश प्राप्त हुनु अलग–अलग विषय भएको भन्दै उनले अन्तरिम आदेशका लागि आवश्यक आधार र परिस्थितिको अदालतले छुट्टै परीक्षण गर्ने बताए। ‘रिट या पूरक निवेदन दर्ता हुनु र त्यसमा मागिएको अन्तरिम आदेश पाउनु दुई फरक विषय हुन्,’ उनले भनेका छन्। तेस्रो, महाधिवेशनको प्रक्रिया अघि बढाउँदा सम्बन्धित पक्षलाई अपूरणीय क्षति हुने अवस्था नरहेको शर्माले बताएका छन्। असहमत नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुने अधिकार सुरक्षित राख्दै पार्टीले संवाद र सहमतिको बाटो खुला राखेको उनको भनाइ छ। उनका अनुसार वडा तहको अधिवेशनको भदौ २ गतेको निर्धारित मिति २२ दिन पछाडि सारिएको छ। यसबाट पार्टीभित्र थप छलफल, संवाद र सहमति खोज्न पर्याप्त समय उपलब्ध भएको उनले बताए। ‘कसैलाई अपूरणीय क्षति हुन लागेको हुँदा अन्तरिम आदेश जारी गरेरै रोक्नुपर्ने अवस्था बिल्कुलै होइन,’ शर्माले भनेका छन्। चौथो आधारका रूपमा शर्माले कांग्रेसको केन्द्रीय समिति तथा पार्टीका सबै तहको कार्यकाल आगामी मंसिर मसान्तमा समाप्त हुने संवैधानिक र वैधानिक व्यवस्थालाई अघि सारेका छन्। उनका अनुसार मंसिर मसान्तपछि पार्टीको कार्यकाल थप गर्ने विषय संविधान र पार्टी विधानको सीमाभन्दा बाहिर जाने भएकाले महाधिवेशन प्रक्रिया अनिश्चितकालसम्म लम्ब्याउन सकिने अवस्था छैन। ‘यही मंसिर मसान्तमा नेपाली कांग्रेसको केन्द्रीय समिति र सबै तहको समयावधि एकसाथ समाप्त हुँदै छ। त्यस उता एक दिन मात्रै पनि थप समय लिन पार्टीको विधान र देशको संविधानले हामीलाई दिँदैन,’ शर्माले भनेका छन्। मंसिरपछि थप ६ महिनाका लागि पार्टीको कार्यकाल बढाउन सकिने तर्क कतिपयबाट आउन सक्ने भए पनि त्यस विषयमा अदालतले संविधान र कांग्रेसको विधानमा रहेको व्यवस्थालाई समेत हेर्ने शर्माको भनाइ छ। सर्वोच्चमा महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवेदन परेपछि पार्टीभित्र बढेको चासोलाई सम्बोधन गर्दै शर्माले अदालतमा निवेदन पर्नुलाई मात्र महाधिवेशन स्थगित हुने आधारका रूपमा नबुझ्न आग्रह गरेका छन्। उनले न्यायिक प्रक्रियाको सम्मान गर्दै कांग्रेसको महाधिवेशनसम्बन्धी तयारी निर्धारित प्रक्रियाअनुसार अघि बढ्ने र पार्टीभित्र देखिएका मतभेद समाधान गर्न संवाद तथा सहमतिको प्रयासलाई निरन्तरता दिइने बताएका छन्।

ब्रोकरलाई सेबोनको निर्देशन– ग्राहकको रकम छुट्टै खातामा राख्नु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पूर्ण धितोपत्र दलाल तथा व्यापारी (ब्रोकर)लाई ग्राहकको कारोबारसँग सम्बन्धित रकम छुट्टाछुट्टै बैंक खातामार्फत परिचालन गर्न निर्देशन दिएको छ । धितोपत्र (सेयर) कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन बोर्डले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।  बोर्डका अनुसार प्रत्येक ग्राहकको सेयर कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था भए पनि निरीक्षणका क्रममा केही ब्रोकर कम्पनीले सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको पाइएको थियो । त्यसैले आगामी दिनमा धितोपत्र व्यवसायीको सञ्चालनका लागि जम्मा हुने रकम र धितोपत्र कारोबारका लागि प्राप्त हुने रकमका लागि फरक–फरक बैंक खाता प्रयोग गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । यस्तै, प्रत्येक धितोपत्र दलाल व्यवसायीले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । ग्राहकका धितोपत्र कारोबारसम्बन्धी गुनासा नेपाल सरकारलगायत विभिन्न निकायमा पुग्ने गरेको भन्दै बोर्डले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रत्येक धितोपत्र दलाल व्यवसायीले अनिवार्य रूपमा लगानीकर्ता गुनासो समाधान इकाइ गठन गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त इकाइका लागि स्पष्ट कार्यप्रक्रिया (वर्कफ्लो) निर्धारण गरी गुनासो समाधानसम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र बोर्डमा पेस गर्नसमेत निर्देशन दिइएको छ । यसैगरी, धितोपत्र कारोबारको टी+२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि बोर्डले धितोपत्र दलाल तथा व्यापारीलाई निर्देशन दिएको छ ।

७.५ प्रतिशत नगद लाभांश बाँड्ने केबीएल सेक्युरिटिजको घोषणा

काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रमुख कार्यालयमा बिहान ११ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ । यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ ।

५ प्रतिशत बढी सेयर बेच्दा १५ दिन अगाडि सार्वजनिक सूचना दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन सम्पूर्ण सूचीकृत कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।  बोर्डका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि नेप्सेमार्फत सार्वजनिक रुपमा जानकारी गराउनुपर्नेछ । यस्तो सूचनाको वैधता तीन महिनासम्म कायम रहनेछ। बोर्डले सूचीकृत संगठित संस्थालाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद–बिक्री, हस्तान्तरण वा अन्य कारोबार गर्न नमिल्ने धितोपत्रका सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको छ । यस्ता धितोपत्रको कारोबार रोक्का वा व्यवस्थापनका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्थालाई आवश्यक जानकारी उपलब्ध गराउनसमेत बोर्डले सूचीकृत कम्पनीलाई भनेको छ ।

एआई कारोबार रोक्नेदेखि सर्किट ब्रेकर फेरबदलसम्म, नेप्सेलाई १९ बुँदे निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई १९ बुँदे निर्देशन दिएको छ । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नेप्सेलाई निर्देशन दिएको हो । बोर्डले नेप्सेबाट स्वीकृति प्राप्त ग्राहक कारोबार व्यवस्थापन प्रणालीको आईटी अडिट तथा भीएपीटी गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । यस्तै, धितोपत्र कारोबार प्रणालीमा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरणको कारोबारसमेत सहज हुने गरी प्रणालीलाई आधुनिक, सक्षम र सुरक्षित बनाउन भनिएको छ । कार्यकारी निर्देशक विनयदेव आचार्यका अनुसार कृत्रिम बौद्धिकता (एआई) आधारित प्रविधिबाट धितोपत्र कारोबार गर्न सकिने व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार तथा आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि बोर्डले निर्देशन दिइएको छ । साथै, अर्को व्यवस्था नभएसम्म टीएमएसमा एआई आधारित प्रविधिको प्रयोगबाट कारोबार आदेश प्रविष्ट भएमा त्यसको पहिचान गरी रोक्ने व्यवस्था गर्न र यसबारे लगानीकर्तालाई जानकारी गराउन भनिएको छ । नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई सेयर बजारको प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर र निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । यस्तै, धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ बमोजिम आफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा लागू गर्न तथा दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ । हाल सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सञ्चालनमा ल्याएको सीकेवाईसी प्रणालीलाई टीएमएस खाता खोल्दा प्रयोग गर्न सकिने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको छ । नेप्से सूचकाङ्कलाई अल इक्विटी इण्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लट सेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी बेन्चमार्क इण्डेक्सका रूपमा प्रयोग गर्न तत्काल प्रक्रिया अघि बढाउन बोर्डले भनेको छ । त्यस्तो सूचकाङ्कका आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्नसमेत निर्देशन दिइएको छ । यसैगरी, कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाएर नेप्से इण्डेक्स गणना गर्ने विधि पुनः सञ्चालन गर्न सकिने वा नसकिने, कारोबार समयको अन्त्यमा हुने मार्केट अर्डरको व्यवस्थापन तथा सूचीकृत कम्पनीको दोस्रो बजार कारोबारमा लागू रहेको दैनिक १५ प्रतिशतसम्मको घटबढसम्बन्धी सर्किट ब्रेकरको व्यवस्था पुनरावलोकन आवश्यक भए÷नभएको विषयमा अध्ययन गरी एक साताभित्र सुझावसहित बोर्डमा पेस गर्न भनिएको छ । बोर्डले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनका आधारमा वर्गीकरण गर्ने प्रक्रियालाई वस्तुनिष्ठ बनाउन निर्देशन दिएको छ । पुँजी, प्रतिफल, तरलतालगायतका आधारमा लगानीयोग्य र अनुमानयोग्य नेप्से इण्डेक्स, जस्तै नेप्से–३० तथा नेप्से ाइ क्याप, विविधीकरण गर्दै नेप्से सूचकाङ्कलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउन पनि भनिएको छ । हाल गणना भइरहेको सेन्सेटिभ इन्डेक्सलाई कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गर्न, संगठित संस्थाको सूचीकरणपछि पहिलो कारोबार मूल्य निर्धारणसम्बन्धी व्यवस्थालाई वैज्ञानिक तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन पनि बोर्डले निर्देशन दिएको छ । लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीका सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्न बोर्डले भनेको छ । सूचीकृत संगठित संस्थाका आधिकारिक सूचना प्रवाहलाई व्यवस्थित गर्न पोर्टल विकास गरी लागू गर्न, प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न तथा धितोपत्र कारोबारको टी+२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि नेप्सेलाई निर्देशन दिइएको छ ।

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहु अलैहिवसल्लम (रसुल)को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायले सन्देष्टाका रूपमा पैगम्बर मोहम्मदलाई मान्ने गर्छ । उनको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि उनी मदिना पुगेका थिए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको मानिन्छ । हाल हिजरी संवत् १४४८ चलिरहेको छ । मक्का र मदिना मुस्लिम समुदायका पवित्र स्थल हुन् । मुस्लिम समुदायको धार्मिक विश्वासअनुसार पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरण भएको थियो । कुरान अवतरणपछि मक्का–मदिना इस्लाम धर्मावलम्बीका प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थल मानिन्थ्यो । यही कारण इस्लाम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक मक्का–मदिना पुगेर हज गर्ने इच्छा राख्ने गर्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान पु¥याएका पैगम्बर मोहम्मदका उपदेश तथा शिक्षालाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा आज ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सरकारले मोहम्मद जयन्तीको अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मुस्लिम समुदायका लागि मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

देशभर मनसुनी वायुको प्रभाव कायम, यी ४ प्रदेशमा वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । रातिका समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।