काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचना प्रकाशित गर्दै हाल कायम रहेको चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति पाएको जानकारी दिएको हो ।
कम्पनीका अनुसार हालको ६० करोड रुपैयाँ चुक्ता पुँजी को १०ः९ अनुपातमा हकप्रद सेयर जारी गरिनेछ । यसअनुसार कम्पनीले ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
यसअघि कम्पनीले हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो । आयोगले आवश्यक संशोधनसहित हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ ।
हकप्रद सेयर निष्कासनसम्बन्धी अन्य प्रक्रिया पूरा भएपछि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमार्फत आवेदन खुला गर्नेछ ।