विकासन्युज

बाढीले त्रिशुली मावि बगायो, विद्यार्थी सुरक्षित

काठमाडाै‌ । बुधबार बिहान आकास्मिक त्रिशुली त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको छ ।  यद्यपि त्यहाँका विद्यार्थी र शिक्षकहरु सुरक्षित रहेको छ । बिहानको प्रार्थना चलिरहेको समयमा बाढीको सूचना पाएपछि शिक्षकहरुले विद्यार्थीलाई त्यहाँबाट निकालेका थिए ।  आज बिहान आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ । बाढीले अरु क्षेत्रहरुमा पनि क्षति पु¥याएको सूचनाहरु प्राप्त भइरहेका छन् । 

रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले  तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ ।

रसुवा बाढी अपडेटः घाइतेलाई उपचार गर्न वीर अस्पतालमा सय बेड तयार

काठमाडौं । बाढीमा घाइते भएकाहरूका उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरमा सय वटा शय्या घाइतेका लागि छुट्याइएको छ । बाढीमा घाइते भएकाहरूको उपचार गर्न चिकित्सकहरू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरेका छन् । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन् । स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्क्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ । प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ ।  हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५मा सम्पर्क गर्न सकिन्छ । बुधबार बिहान ९ बजे रसुवामा आएको बाढीले क्षति गरेको छ ।

भोटेकोशी बाढीले रसुवामा पुर्‍याएको क्षतिप्रति नाइमाको दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले गहिरो दुःख व्यक्त गरेको छ । नाइमाले प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनालगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको जनाएको छ । बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने नाइमाले जनाएको छ । नाइमाले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गरेको छ । साथै, खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ । भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम हुन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उसले सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ । नाइमाले कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ । साथै, प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ ।

मौसम विभाग भन्छ– भोटेकोसी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम अझै कायमै रहेको जनाएको छ । चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले जोखिम अझै कायमै रहेको छ ।विभागलाई साढे १ बजे प्राप्त सूचनाअनुसार ताल अझै पनि पूर्ण रूपमा खुल्न सकेको छैन । विभागले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रहसमेत गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको बहावमा आउने परिवर्तनप्रति सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई पालना गर्न विभागले अनुरोध गरेको छ ।

बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल, उद्धार र राहतमा तीव्रता दिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग भेट गरी क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार (आज) भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा खोज, उद्धार र राहत कार्यबारे छलफल भएको हो । भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पु‍र्याएको क्षति र प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताए । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए । यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए । सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ ।

गोसाइकुण्ड गाउँपालिकाबाट दुई भाग मानिस बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीले गोसाइकुण्ड गाउँपालिकाको २ र ५ वडालाई पूर्ण रुपमा क्षति गरेको छ । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले दुई वडामा क्षति गरेको जानकारी दिए ।  'तीन भागको दुई भाग मानिस बेपत्ता भएका छन्,' उनले भने,'कैलाश पर्वत जाने पर्यटकहरू थिए । चीनको सीमाना भएकाले यस क्षेत्रका धेरै मानिस बेपत्ता भएका छन् ।' धेरै मानिसहरू बेपत्ता भएका र परिवारकै केही सदस्यहरूसमेत रहेको उनले बताए । खोजीकार्य जारी रहेको उनको भनाइ छ । 'हाम्रो बेहाल भएको छ । हामी सम्हाल्न सकिने अवस्थामा छैनौँ,’ उनी भन्छन,’ हामी निरन्तर खोजिरहेका छौँ । हाम्रो वशमा केही छैन ।' नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरबाट उद्धार गरिरहेको तामाङले बताए। घाइतेहरूलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र केही घाइतेलाई काठमाडाैँ पठाउने तयारी भइरहेको उनले बताए  । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका  विभिन्न क्षेत्रमा असर गरिरहेको छ ।

बाढीपीडितका लागि डब्ल्युएचओले औषधी र आपतकालीन टेन्ट पठाउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।  प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको छ । बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म बाढीबाट घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय राजधानीका अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा र आवश्यक औषधिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।