काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग भेट गरी क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार (आज) भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा खोज, उद्धार र राहत कार्यबारे छलफल भएको हो ।
भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्याएको क्षति र प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताए ।
उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए ।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ ।