काठमाडौं । रसुवामा आएको बाढीले गोसाइकुण्ड गाउँपालिकाको २ र ५ वडालाई पूर्ण रुपमा क्षति गरेको छ । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले दुई वडामा क्षति गरेको जानकारी दिए ।
'तीन भागको दुई भाग मानिस बेपत्ता भएका छन्,' उनले भने,'कैलाश पर्वत जाने पर्यटकहरू थिए । चीनको सीमाना भएकाले यस क्षेत्रका धेरै मानिस बेपत्ता भएका छन् ।'
धेरै मानिसहरू बेपत्ता भएका र परिवारकै केही सदस्यहरूसमेत रहेको उनले बताए । खोजीकार्य जारी रहेको उनको भनाइ छ ।
'हाम्रो बेहाल भएको छ । हामी सम्हाल्न सकिने अवस्थामा छैनौँ,’ उनी भन्छन,’ हामी निरन्तर खोजिरहेका छौँ । हाम्रो वशमा केही छैन ।'
नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरबाट उद्धार गरिरहेको तामाङले बताए। घाइतेहरूलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र केही घाइतेलाई काठमाडाैँ पठाउने तयारी भइरहेको उनले बताए ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका विभिन्न क्षेत्रमा असर गरिरहेको छ ।