विकासन्युज

बाढीपछि ईक्यानको ३०औँ स्थापना दिवस स्थगित, राहतका लागि १५ लाख १ हजार सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ । ईक्यानले भदौ १३ गते काठमाडौंको होटल एभरेस्टमा आयोजना गर्ने तय गरेको ३०औँ स्थापना दिवस समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ईक्यानले प्रारम्भिक चरणमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसमध्ये संघको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकम सरकारमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने संघले जनाएको छ । ईक्यानले आफ्ना सदस्य, शैक्षिक परामर्श संस्था, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था, सरोकारवाला र शुभेच्छुकलाई आफूले सक्ने सहयोग गरी राष्ट्रिय राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ । संघले आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोगमार्फत प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबैलाई अपिल गरेको छ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र सकुशल उद्धारको कामना गरेको छ । ईक्यानका महासचिव भवनाथ हुमागाईँले उत्सव स्थगित गरिए पनि सामाजिक दायित्व स्थगित नभएको बताएका छन् । विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

बाढीका कारण बैंकिङ सेवा प्रभावित, बैंकर्स संघद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवालगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ । संघले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै प्रभावित सबैलाई यस कठिन परिस्थितिमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । बैंकर्स संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेका छन् । यद्यपि, केही कर्मचारीसँग भने हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन । बाढीका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएका छन् । विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ । यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम राख्न र प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयास गरिरहेको संघले जनाएको छ । संघले विपद्को समयमा सरकार, राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढिरहेको जनाएको छ । नेपालको बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघको भनाइ छ । प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पु¥याउन बैंकिङ क्षेत्रले आफ्नोतर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ । संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आफ्ना सदस्य बैंकसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ ।

विपद् व्यवस्थापनका लागि करिब २५ अर्ब वैदेशिक सहायता सुनिश्चित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिएका हुन् ।  अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तिब्र पारिएको बताए ।  उनका अनुसार, भौगोलिक र मौसमी प्रतिकूलताका बाबजुद हाल २२ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखिएको छ । विपदपछिको पुन:स्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको उनले उल्लेख गरे । अर्थमन्त्री वाग्लेले भने, ‘विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित गरिएको छ । यसका साथै चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।’ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात छ । त्यसैले तत्काल राहत र उद्धारमा साधन–स्रोतको कमी हुने छैन,’ उनले थपे । प्रारम्भिक तथ्यांकअनुसार विपद्बाट २५ वटा पक्की पुल र निजी क्षेत्रका ७०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ ।  अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।  अर्थमन्त्रीले राष्ट्रिय संकटको घडीमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने नेपाली राजनीतिको मौलिक चरित्रको प्रशंसा गरे ।  नवलपुर र चितवन लगायतका क्षेत्रमा भेटिएका शवहरूको व्यवस्थापन र बेपत्ताहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत उनले उल्लेख गरे ।

प्रहरीको आग्रह– फेसबुकमा राहतको नाममा पैसा मागेमा नदिनू

काठमाडौं । नेपाल प्रहरीले राहत कोषका नाममा सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट स्क्याकम तथा दुरूपयोग हुने भएकाले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरेर व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरीले अनुरोध गरेको छ । यसैगरी, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक–फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग्न सक्ने प्रहरीर्ले जनाएको छ । पैसा माग गर्ने प्रति सचेत रहन र कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न प्रहरीले उल्लेख गरेको छ। अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवं अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न प्रहरीले नागरिकहरूलाई अनुरोध गर्दछ । कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

भोटेकोशी बाढीपीडितका लागि नाडाको १० लाख सहयोग, अटो शो भने निरन्तर सञ्चालन हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । नाडाले विपद्को यस घडीमा राज्यसँग काँधमा काँध मिलाएर उभिनु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै देशभरका अटोमोबाइल व्यवसायीलाई एकजुट भएर उद्धार र राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ । विज्ञप्तिमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले उद्धार तथा राहतमा देखाएको सक्रियताको प्रशंसा गरिएको छ । साथै प्रधानमन्त्री र गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि गरेको समन्वय र निजी क्षेत्रलाई सहयोगका लागि गरेको आह्वानको स्वागत गर्दै नाडा सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको जनाएको छ । नाडाले विपद्पछिको राहत तथा पुनरुत्थान अभियानलाई सहयोग पुर्‍याउन तत्काल प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । यसैबीच, महाविपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेकै बेला आएको उल्लेख गर्दै आर्थिक गतिविधिलाई निरन्तर चलायमान राख्न भृकुटीमण्डपमा जारी अटो शो पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ । नाडाले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।

रसुवा बाढी : एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि एनएमबि बैंकाको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ८:४५ बजे टिमुरे आसपासमा आएको बाढीपछि शाखामा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन् । उनीहरू सबै टिमुरे शाखामा कार्यरत कर्मचारी हुन् । बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन आग्रह गरेको छ । 

रसुवाको बाढीमा ५१७ विदेशी पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको बाढीमा परेर ५१७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।  नेपाल पर्यटन बोर्डका अनुसार अष्ट्रेलियाका ३५, जापानका ५, रसियाका ८,  क्यानडाका २५, भारतका १७८, युक्रेनका ३५, बेलायतका ३३ र अमेरिकाका ६५ जना पर्यटकहरू रहेका छन् । त्यसैगरी, १२७ आन्तरिक पर्यटक सम्पर्कविहीन भएका छन् । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ ।  नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।   

चितवनबाट ७० शव संकलन, खोजी कार्य जारी

काठमाडौं । नारायणी नदीमा ७० वटा शव फेला परेको छ । रसुवाबाट बगेर गएको ७० वटा शव नारायणी नदीमा फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार संकलन गरिएका शवलाई विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ । शवको पहिचान गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम समेत अघि बढाइएको शर्माले जानकारी दिए ।  बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।