बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले दियो १ करोड

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एनसेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदायलाई तत्काल राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेकाले सरकारको आह्वानमा उक्त सहयोग गर्ने निर्णय गरिएको हो ।

कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना जनाएको छ । साथै बेपत्ता भएका तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरेको छ ।

आर्थिक सहयोगसँगै एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकका लागि सञ्चार सेवामा पनि विशेष सहुलियत उपलब्ध गराएको छ । हिजोदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनका लागि निःशुल्क भ्वाइस सेवा, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार यस सुविधाले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्नेछ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् ।

उनले सरकार र सम्बन्धित निकायको उद्धार, राहत तथा पुनर्स्थापनाको प्रयासमा साथ दिन १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको भन्दै प्रभावित परिवार र समुदायसँग एनसेल सधैं साथमा रहेको उल्लेख गरिन् ।

एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता अनुसार सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News