बाढीपछि ईक्यानको ३०औँ स्थापना दिवस स्थगित, राहतका लागि १५ लाख १ हजार सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ ।

ईक्यानले भदौ १३ गते काठमाडौंको होटल एभरेस्टमा आयोजना गर्ने तय गरेको ३०औँ स्थापना दिवस समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।

बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ईक्यानले प्रारम्भिक चरणमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसमध्ये संघको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

उक्त रकम सरकारमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने संघले जनाएको छ ।

ईक्यानले आफ्ना सदस्य, शैक्षिक परामर्श संस्था, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था, सरोकारवाला र शुभेच्छुकलाई आफूले सक्ने सहयोग गरी राष्ट्रिय राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

संघले आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोगमार्फत प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबैलाई अपिल गरेको छ ।

बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र सकुशल उद्धारको कामना गरेको छ ।

ईक्यानका महासचिव भवनाथ हुमागाईँले उत्सव स्थगित गरिए पनि सामाजिक दायित्व स्थगित नभएको बताएका छन् । विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Share News